सामाजिक सुरक्षा कोषको सुविधाबारे श्रमिक बेखबर
विराटनगर । सामाजिक सुरक्षा कोषको शाखा कार्यालय विराटनगरमा सञ्चालनमा आएको छ। कार्यालयको स्थापना पछि विराटनगरको होटल एसियाटिकमा आयोजित कार्यक्रममा कोषका सञ्चालक समितिका सदस्य पुष्कर आचार्यले श्रमिकका लागि नयाँ युगको सुरुआत अझै पनि भई नसकेको बताए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा ऐन लागु गर्दै गर्दा श्रमिकका लागि नयाँ युगको सुरुवात भएको बताए पनि त्यसको महसुस अहिलेसम्म पनि हुन नसकेको बताए । नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष समेत रहेका आचार्यले सबै श्रमिक मजदुर आफूले प्राप्त गर्ने सेवा सुविधाबारे अझै पनि बेखबर रहेको बताए ।
प्रदेश र स्थानीय तहको सरकार यसका लागि प्रभावकारी भूमिकामा रहे पनि दुवै सरकारबाट ऐन लागु गर्न कठिनाइमा रहेको उनले बताए । टे«ड युनियनकर्मीहरू ऐनको पञ्जीकरणदेखि लागु नहुञ्जेलसम्म श्रमिकको पक्षमा सुविधा प्राप्त नहुञ्जेलसम्म चुप लागेर नबस्ने आचार्यले बताए ।
वृद्ध भत्तामा १३ अर्ब रुपैयाँ राख्न सक्ने सरकारलाई आफूहरूले पटक पटक कम्तीमा ५ अर्ब रुपैयाँ जम्मा गरिदिएर कोषलाई व्यवस्थित गर्न आग्रह गरेको उनले बताए । ट्रेड युनियन, श्रमिक, उद्योगीबीच समन्वय, सहकार्य गर्दै कोषलाई परिष्कृत गर्नुपर्नेमा सहभागीले जोड दिएका छन् ।
उद्योग संगठन मोरङका अध्यक्ष सुयशराज प्याकुरेलले आपसी समन्वय र सहकार्यका आधारमा कोषलाई परिष्कृत गर्न उनले सुझाव दिए । श्रमिकलाई व्यवस्थित गर्दै सामाजिक सुरक्षा कोषको कार्यान्वयनमा संगठनले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
सामाजिक सुरक्षा कोष सेवा सञ्चालनका लागि विगत १६ महिनादेखि उद्योग संगठन मोरङले समन्वय गर्दै आएको थियो । कोषका उप निर्देशक रोहित रेग्मीले प्रदेश १ को विराटनगर र मधेश प्रदेशको सिमरामा एकैपटक शाखा कार्यालयको उद्घाटन गरी कार्य सुरु गरिएको जानकारी दिए ।
श्रमिकलाई काम गर्दै गर्दा घाइते भए १ वर्षसम्म १ लाख रुपैयाँसम्मको उपचार खर्च बेहोरिने जानकारी दिए । दुर्घटना बिमा, श्रमिकको दुर्घटना भई घाइते अवस्थाबाट जागिरबाट बेदखल हुँदा तलबको ६० प्रतिशत रकम, मासिक पेन्सन लगायतका सुविधा रहेको पनि उनले जानकारी दिए ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले श्रमिकलाई राज्यले दिने सुविधालाई कोषको माध्यमबाट पुरा हुनु पर्ने बताए । स्थानीय तह, उद्योगी तथा श्रमिक क्षेत्रलाई सुरक्षित राखेर अघि बढ्नुपर्ने कोइरालाको भनाई थियो ।
ट्रेड युनियन कांग्रेसका प्रदेश १ अध्यक्ष नारायणबाबु कार्कीले कोषले श्रमिकको अधिकार, सुविधालाई सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए । उनले अनौपचारिक क्षेत्रलाई समेत व्यवस्थित गर्न स्थानीय तहसँग अनौपचारिक रूपमा छलफल हुँदै आएको बताए ।
जिफन्टका मनोज मगरले श्रमिक क्षेत्रलाई व्यवस्थित गरी सामाजिक सुरक्षा कोषलाई प्रभावकारी कार्यान्वयनमा जोड दिए । समाजवादी श्रमिक संगठन प्रदेश १ की अध्यक्ष निलम ढुंगेलले पटक माग गर्दा विराटनगरमा शुरु भएका सामाजिक सुरक्षा कोषको कार्यालय स्थापना भएर सञ्चालन हुनुले श्रमिकका समस्या प्रदेशबाट नै समाधान हुनेमा आफू विश्वस्त रहेको बताइन् ।