कहाँ चुक्यो लिभरपुल ?
काठमाडौँ । इङलिश प्रिमियर लिगमा लिभरपुलले खराब शुरुवात गरेको छ । लिभरपुलले अहिलेसम्म खेलेका ३ खेलमा एकमा हार बेहोरेको छ भने दुईमा बराबरी गरेको छ ।
लिभरपुलले पछिल्लो खेलमा म्यानचेस्टर युनाइटेडसँग उसकै मैदानमा २–१ गोल अन्तरको हार बेहोरेको थियो । त्यसअघि खेलेका दुई खेल फुलह्याम र क्रिस्टल प्यालेसँग लिभरपुल बराबरीमा रोकिएको थियो । यसरी लिभरपुलले ३ खेलमा केवल २ अंक जोड्दा अंक तालिकाको १६औँ स्थानमा छ ।
यस प्रदर्शनले लिभरपुलको पछिल्ला वर्षहरुको प्रदर्शनमा प्रश्न उठेको छ । लिभरपुलको अहिलेको खराब प्रदर्शनको प्रमुख कारण खेलाडीको इन्जुरी हो । अहिले लिभरपुलका खेलाडीहरू कावमहिन केल्लेहेर, काल्भिन राम्सी, इब्राहिम कोंटे, जोएल माटिप, कुर्टिस जोन्स, थियागो अलकान्टारा, एलेक्स ओक्सलाड च्याम्बरलिन, नाबी केइटा, डिओगो जोटालगायतका खेलाडी घाइते छन् ।
यसै सिजनमा लिभरपुल आएका डर्विन नुनेज रातो कार्ड पाएका कारण तीन खेलको प्रतिबन्धमा रहेका छन् । लिभरपुलको दोस्रो समस्या प्रमुख खेलाडी फर्ममा नहुनु हो । लिभरपुलले अहिले प्रमुख रूपमा साडियो मानेलाई मिस गरेको देखिन्छ । उनी यसै सिजन अगाडी लिभरपुल छोडेर बायर्न म्युनिख गएका छन् ।