सीपले फेरिँदै महिलाको जीवन
कैलालीको धनगढी उपमहानगरपालिका-८ नम्बर वडाकी सिता जोशी ‘अवस्थी’ बिहान ७ बजेदेखि साँझको ७ बजेसम्मै आफ्नो सिलाई पसलमा व्यस्त रहन्छिन् । उनले यो व्यवसाय सुरु गरेको ८ वर्ष भयो । ८ वर्ष अघिसम्म आफ्ना स-साना आवश्यकता पूरा गर्नका लागि पनि श्रीमानले कमाएको पैसामा निर्भर रहेकी सिता अहिले श्रीमानलाई आफूले कमाएको पैसा सहयोग गर्ने भएकी छिन् ।
धेरैले भन्छन्, ‘विवाहपछि महिलाको जीवन फेरिन्छ ।’ पहिले आत्मनिर्भर बनेका महिलाहरू पनि विवाहपछि परिवार र श्रीमानको दबाबका कारण गरिरहेको पेशा र व्यवसायबाट अवकाश लिई घरमै बस्ने गर्छन् । पढेलेखेका परिवारका हकमा पनि यो गलत अभ्यास अहिले पनि भइरहेको देखिन्छ । तर सिता जोशीलाई भने विवाहपछि नै आत्मनिर्भर बन्नुपर्छ भन्ने कुराको महसुस भयो । त्यसमा साथ दिए उनकै श्रीमानले ।
सिताको विसं २०३८ सालमा कञ्चनपुरको पुनर्वास नगरपालिकामा जन्म भएको हो । बाबुआमाका ३ सन्तान मध्ये कान्छी छोरीका रूपमा जन्मिएकी थिइन् सिता । एसएलसी (एसइई) दिएर बसेका बेला उनलाई केही सिप सिक्नुपर्छ जस्तो लाग्यो । त्यो बेला सिताले २ महिनाको सिलाइको तालिम लिइन् । ‘एसएलसी दिइसकेपछि परीक्षाफल प्रकाशित हुन ३ महिना जति लाग्थ्यो । यत्तिकै बस्दा दिक्क लागेपछि घर नजिकैको पसलमा सिलाई सिक्न गए’ सिताले भनिन्, ‘उ बेला सिलाइ-कटाइलाई व्यावसायिक रूपमा अघि बढाउँला त सोचेको थिइन । तर, सिप सिकिराखे खेर जान्न भन्ने चाहिँ लागेको थियो ।’
२३ वर्षको उमेरमा सिताको विवाह भयो । विवाहपछि कञ्चनपुरबाट सिता कैलालीको धनगढी आइन । विवाह गर्दा सिता न कुनै जागिरमा थिइन् न त कुनै व्यवसायमा । श्रीमानको भने इलेकट्रोनिक पसल थियो । सिता विवाह पछि घरको काममा व्यस्त भइन् । घरमा चाहिने सामग्रीदेखि लिएर आफ्ना स साना कुराका लागि पनि सिताले श्रीमानसँग पैसा माग्नुपर्थ्यो । ‘अरू त अरू आफ्ना शृङ्गारका सामग्री, लत्ताकपडा देखि लिएर खानेकुरा किन्नका लागि पूर्ण रूपमा म श्रीमानमै निर्भर थिए । बेला बेला स साना कुराका लागि श्रीमानको अघि हात थाप्न मनले मान्दैनथ्यो’ सिताले भनिन, ‘आफू आत्मनिर्भर नभएकोले श्रीमानकै अघि हात थाप्नुको अर्को विकल्प थिएन ।’
कमाएको पैसा दिन श्रीमानलाई पनि अप्ठ्यारो लाग्ने । स-साना कुराका लागि हरेक दिनजसो श्रीमान् सँग पैसा माग्न आफूलाई पनि असहज महसुस हुने गरेको सिताले सुनाइन् ।
सधैँ श्रीमानसँग पैसाका लागि हात थाप्दा आत्मसम्मानले पनि सजिलै नमाने पछि सिताले अधुरै सिकेको सिलाइको सिपलाई पूरा गर्ने सोचिन् । उनले सिटिइभिटीबाट सिलाइको तालिमलाई पुनः निरन्तरता दिइन् । त्यहाँ उनले ६ महिनाको सिलाइको तालिम लिइन् । ‘सिपले आत्मविश्वास बढाउँदो रहेछ । केही समय अघि सम्म केही काम गर्न आँट नआउने मलाई सिप सिके लगत्तै अब यसलाई व्यावसायिक रूपमा अघि बढाउनुपर्दछ भनेर सोच आयो’ सिताले भनिन् ।
सिटिइभिटिबाट तालिम लिइसकेपछि सिताले कैलालीको धनगढी उपमहानगरपालिका-८ नम्बर वडा कार्यालय नजिकै एउटा सटर भाडामा लिएर सिलाइको व्यवसाय सुरु गरिन् । सुरुवातमा लगानी गर्न सितासँग रकम थिएन । ठूलो लगानी गरिदिन श्रीमानसँग पनि पैसा थिएन । सिताले श्रीमानसँग ३० हजार सापटी मागेर सिलाई पसल सुरु गरिन् ।
बिस्तारै व्यवसाय फस्टाउँदै गयो । लगानी पनि बढ्दै गयो । सिताले मासिक ५० हजार जति आम्दानी गर्न थालेकी छिन् । ५ सय/हजार त उनले दैनिकै बचत गर्न थालेकी छिन् । उनको सिलाई पसलमा ६ जना महिला सिलाइको तालिम लिइरहेका छन् ।
सिताले कपडा सिलाउने काम मात्रै होइन । अरू महिलालाई पनि उनले सिलाइको तालिम दिने गर्छिन् । उनीहरूलाई पनि आत्मनिर्भर हुन सल्लाह दिन्छिन् । सिताले अहिले सम्म ३ सय बढी महिलालाई सिलाइको तालिम दिइसकेको बताइन् ।
सिताले आफ्नै सिलाई पसलबाट आम्दानी गर्न थालेपछि उनलाई परिवार, आफन्त अनि समाजले हेर्ने नजरमा परिवर्तन आएको छ । उनीहरूले गर्ने सम्मान बढेको छ । हिजो सय रुपैयाँ उधारो माग्दा पनि श्रीमानको नाम लिनुपर्नेमा अहिले सिताको आफ्नै पहिचान भएको छ । ‘अहिले त आफूसँग पैसा नहुँदा, चाहिँदा कसैसँग सापटी माग्दा जति पैसा पनि दिन्छन् । उसको व्यवसाय छ उसले समयमै पैसा फिर्ता दिन्छ भन्ने विश्वास सबैलाई बढेको छ’ सिताले खुसी हुँदै भनिन् ।
अहिले सिताको जीवन फेरिएको छ । अहिले घरको खर्च, आफ्ना आवश्यकताहरू पुरा गर्न उनलाई श्रीमानको सामु हात थाप्न पर्दैन । कतै आफन्तकोमा जान, कसैलाई केही उपहार दिन पनि श्रीमानकै सामु हात थाप्न पर्दैन । २ सन्तानको अध्ययनको खर्च पनि अहिले सिता आफैले बेहोरिरहेको बताइन् । जीवनमा आफैले कमाई गर्नु र त्यो पैसा खर्च गर्नुको आनन्द र आत्मसन्तुष्टि नै बेग्लै रहेको उनको अनुभव छ ।
कञ्चनपुरको बेलौरी नगरपालिकाकी डम्बरा जोशी पनि हरेक दिनजसो सिलाई पसलमा भेटिन्छिन् । उनले कैलालीको धनगढी उपमहानगरपालिका २ नम्बर वडामा सिलाइको पसल सञ्चालन गरेकी छन् । श्रीमानको जागिर कैलाली भएकोले उनी छोराछोरी सहित ८ वर्ष अघि सन्तानको राम्रो अध्ययनका लागि भनेर कैलाली आएकी हुन् । छोराछोरी विद्यालय गइसकेको समयमा आफू एक्लै फुर्सदिलो भएर कोठामा बस्नु परेपछि उनलाई त्यो समयमा सिलाइको सिप सिक्नुपर्छ लागेको हो ।
७ वर्ष भयो उनले सिलाइ-कटाइको पसल सञ्चालन गरेको । कोठा भाडा, छोराछोरीको खर्च, कोठामा चाहिने सामग्रीको लागि पनि डम्बराले श्रीमानको तलबको प्रतीक्षा गर्नुपर्थ्यो । अहिले डम्बरा आफैले कमाएको पैसाले त्यो पुगिरहेको छ । ‘धेरैले जागिर अनि व्यवसायलाई पैसासँग दाँजेर हेर्ने गरेको देखिन्छ । तर, आत्मनिर्भर हुनु भनेको पैसाको लाग मात्रै होइन, आत्मसम्मानका लागि पनि हो’ डम्बराले भनिन्, ‘हरेक महिलाको हातमा आफूले कमाएको पैसा हुन आवश्यक छ ।’
डम्बराको अनुभवमा आत्मनिर्भर बन्दा महिला हिंसाका घटनामा पनि कमी आउँछन् । महिलाले परनिर्भर बन्नु नपर्ने र श्रीमानले पनि आत्मनिर्भर श्रीमतीलाई गर्ने व्यवहारमा फरक आउने गरेको उनले सुनाइन् । ‘धेरै महिला श्रीमान् कमाउने छँदैछन् नि । हामीले किन कमाउनुपर्यो र ? भनेर सोच्ने गर्छन् । तर, त्यही कारण श्रीमान् अनि परिवारका अन्य सदस्यले बेला बेला उनको आत्मसम्मानका कति ठेस पुर्याए, त्यो ख्याल गर्दैनन्’ डम्बराले भनिन्, ‘आफूले कमाएको रकम जब हातमा आउँछ तब मनमा निकै आत्मसन्तुष्टि हुन्छ ।’
डम्बराले पनि आत्मनिर्भर भइसकेपछि समाजले आफूलाई हेर्ने नगरमा परिवर्तन आएको महसुस गरेको बताइन् । ‘घरमा परिवारका सदस्यले गर्ने सम्मान पनि बढेको छ । श्रीमानले गर्ने व्यवहार पनि परिवर्तन भएको छ’ उनले भनिन्, ‘आत्मनिर्भर बन्दा पहिले घरको काम महिलाकै मात्रै जिम्मेवारी हो भनी सोच्ने पुरुषले पनि काममा सघाउन थाल्छन् । दुवै जना आत्मनिर्भर हुँदा आत्मीयता पनि बढेर जाने रहेछ ।’
डम्बराले अरू महिलालाई पनि आत्मनिर्भर बन्न सुझाव दिने गर्छिन् । आत्मनिर्भर बन्नका लागि ठूलो रकम लगानी भएको व्यवसाय अनि उच्च शिक्षा आर्जन गरेकै हुनुपर्छ भन्ने कुरामा डम्बरा सहमत छैनन् । उनको विचारमा आत्मनिर्भर बन्नका लागि आफूसँग सिप र आत्मविश्वास हुन आवश्यक छ । आत्मविश्वास भने सिपले बढाउने भएकोले उनी सबै महिलालाई फुर्सदको समयमा केही न केही सिप सिक्न सुझाव दिन्छिन् ।
हातमा सिप भएपछि सानो लगानीमा पनि व्यवसाय सुरु गर्न सकिने उनको अनुभव छ । ‘अहिले धेरै दिदीबहिनीहरू आफ्नो महत्त्वपूर्ण समय टिभी, मोबाइल, ल्यापटपमा सिरियल, सामाजिक सञ्जाल हेरेर बिताउने गर्छन् । त्यही समयमा केही सिप सिके आत्मनिर्भर बन्न सजिलो हुन्छ’ उनले भनिन्, ‘व्यवसाय सुरु गर्न ठूलै लगानी आवश्यक हुँदैन । मैले आफैले पनि १० हजारबाट यो सिलाइको व्यवसाय सुरु गरे । अहिले लगानी पनि बढाएकी छु । आम्दानी पनि बढ्दै गइरहेको छ ।’