प्रदेश १ मा  व्यवसाय प्रवर्द्धन गर्न द्विपक्षीय सम्झौता

विराटनगर । नेपाल उद्योग वाणिज्य महसंघ प्रदेश नं १ र द एसिया फाउन्डेसन नेतृत्वको प्राविधिक सहायता समूह बिच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

प्रदेशका लगानी प्रवर्द्धन, आर्थिक वृद्धि, आन्तरिक र बाह्य व्यापार, सार्वजनिक निजी साझेदारी लगायतका विभिन्न क्षेत्रमा गरिरहेका अध्ययनका लागि सो समूह र उद्योग वाणिज्य महासंघ बिच संस्थागत गर्ने सम्बन्धमा उक्त समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

सम्झौता पत्रमा नेपाल उद्योग वाणिज्य संघ प्रदेश नं १ का तर्फबाट अध्यक्ष टिकाराज ढकाल र द एसिया फाउन्डेसनका तर्फबाट कार्यक्रम व्यवस्थापक आश्रय पाण्डेले हस्ताक्षर गरे ।

समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम पछि आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदशचन्द पोख्रेलले आर्थिक विकास र वृद्धिमा निजी क्षेत्रको नेतृत्वदायी भूमिका रहेको बताए ।

उनले प्रदेश नं १ को आर्थिक वृद्धिका लागि लगानी प्रवर्द्धनमा उद्योग वाणिज्य महासंघले  महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए ।  नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष दिनेश श्रेष्ठले निजी क्षेत्रले लगानी गर्ने, रोजगारी दिने, राजश्व तिर्ने र मुनाफालाई पुनः लगानी गर्ने जस्ता महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको भए पनि निजी क्षेत्रले लगानी र उद्योग व्यवसाय गर्नका लागि उपयुक्त वातावरण नपाएको धारणा व्यक्त राखे ।

समझदारी पत्रअनुसार प्रदेशको व्यावसायिक पार्श्वचित्र निर्माणका लागि सहयोग समूहले नेपाल उद्योग वाणिज्य संघ प्रदेश १ लाई सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ । प्रस्तावित पार्श्वचित्रमा प्रदेश १ का कृषि, उद्योग र सेवा क्षेत्रको जिल्लागत रूपमा खण्डीकृत तथ्याङ्क समावेश हुने जानकारी दिइएको थियो ।

प्रदेश १ मुख्यमन्त्रीका आर्थिक सल्लाहकार राजेन्द्र राउतले प्रदेशका विभिन्न जिल्लामा गर्न सकिने लगानीका क्षेत्र र उत्पादनको बजार सम्बन्धी तथ्याङ्क समावेश गर्नु उपयुक्त हुने बताए ।

उद्योग वाणिज्य संघ प्रदेश नं १ का अध्यक्ष टिकाराज ढकालले प्रदेशमा लगानी प्रवर्द्धनका लागि लगानीकर्ता लाई लगानीका क्षेत्र पहिचानमा सहयोग गर्ने गरी पार्श्वचित्र तयार गर्न लागिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *