तीज विशेष

टिप्पणी : तीजमा पाश्चात्य ढर्रा !

काठमाडाैँ । अहिले तीज भन्नेबित्तिकै जोकाेहीकाे मानसपटलमा मीठा-मीठा र महँगाे चिजबिजबाट बनेकाे दर/परिकार, महँगै रातो सारी, अनि महँगै गरगहनाहरू छरपस्ट हुन्छन् । किनकी हामी आफैँले यस्तै संस्कार बनायाैँ, बनाउँदैछाैँ । तीजमा मात्रै हाेइन, प्राय: नेपाली संस्कार-संस्कृति तथा चाडपर्वहरूमाथि पाश्चात्य शैली हाबी भएकाे छ । समग्रमा यसाे भनाैँ— हामी आफ्नै ढर्रामा रहेनाैँ, पश्चिमाकरण भयाैँ ।

हुनलाई तीज परम्परारूपमा मनाइने हिन्दू नारीहरूले महान् चाड हाे । तर, अहिले याे फरकखाले देखिन्छ । बढी महँगाे देखिन्छ, बढी ढर्रावाला देखिन्छ । भगवान् शिवको पूजा-आराधना गरी आफ्ना स्वामीहरूको लामो आयुको कामना गर्दै व्रत बस्ने चलन त हराएकाे छैन, तर त्यसमा पनि परम्परा हराएकाे खासगरी पाका व्रतालुहरू नै बताउँछन् ।

तीज सिर्फ एउटा पर्व मात्रै हाेइन, यसले समाजका भाइचारा, सद्भाव एवम् आत्मीयतालाई समेत बलियाे बनाउँछ । याे एउटा मान्यता मात्रै हाेइन कि, सत्य नै हाे । तर, पछिल्लाे वर्षहरूका तीजहरू अलिक भिन्दै हुँदै गएका छन् । यसबारे चर्चा गर्दै गराैँला । केहीछिन तीजकाे महिमातर्फ फर्काैँ ।

तीजको तेस्रो दिन ऋषिपञ्चमीमा समेत व्रत बस्ने चलन छ । धार्मिक मान्यताअनुसार यो व्रत भने रजस्वला नभएका महिलाहरूले बस्नु हुँदैन । ऋषिपञ्चमीका दिनमा ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् । सो दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ । यो दिनमा पतिले पकाएको भोजन सेवन गरेर आपसी आत्मीयता एवम् सद्भाव अझ बढ्ने मान्यता छ ।

आउनुस् अब समग्रमा चर्चा गराैँ ।

पहिरन र गीत

तीजको बेला पहिरन र गीतकाे पनि कमचाहिँ चर्चा हुँदैन । भनिन्छ— तीजमा महिलाहरूले राताे नै लगाउनुपर्छ । यसकाे कारण छ । धार्मिक मान्यताअनुसार तीजमा प्रयोग हुने राता चिजहरू सुख, शान्ति एवम् समृद्धिका प्रतीक हुन् । रातो रंगले महिलालाई शक्ति प्रदान गर्छ गर्ने विश्वास छ भने पोतेले शान्ति र आनन्द प्रदान गर्छ । रातो टीकालाई पनि सौभाग्यको प्रतीक मानिन्छ । तर, यसमा शास्त्रले महँगै चाहिन्छ भनेरचाहिँ भनेकाे छैन । तर, हिजाेआजका तीजमा भने शास्त्रमै उल्लेख भएझैँ महँगाे सारी एवम् सरसामानहरू हुनुपर्छ भन्ने मान्यता स्थापित भएकाे छ ।

तीजमा प्रयाेग भएका गीतले महिलाले सासू-ससुरा र श्रीमान्‌काे खटनले मन लागेको बेलामा माइत जान नपाएका, माइतीबाट बुबा, दाजुभाइ लिन नआएका पीडा अभिव्यक्त हुने गरेका थिए । हालको समयमा भने गीतहरूमा त्योपन देखिन छाडेका छन् । तीजको मौलिकपन खस्किँदै जान थालेको छ । पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडक-भडक देखिन थालेको छ । त्यो गीतमा होस् या पहिरनमा ।

हिजाेआजका तीज गीतहरू त झन् परिवार सँगै बसेर सुन्न सकिनेसमेत हुँदैन । उसाे त वर्षैपिच्छे तीज गीतहरू विवादित बन्दै नै आएका छन् । यसपटक मात्रै पनि ‘पापाकी परी’ विवादमै आएकाे थियाे ।

परम्परागत तीज कस्ताे थियाे ?

केही वर्ष अगाडिसम्म तीज नजिकिँदै गर्दा गाउँ, सहर, गल्ली चोक, घर-घरमा परम्परागत र केही सन्देश दिनेखाले गीतहरू गुञ्जन्थे । तीज वर्षभरिको थकाइ भुल्न नारीहरूले माइत गरेर मनाउने पर्वका रूपमा रहेको पाइन्थ्यो । परम्परागत रूपमा महिला वर्गलाई महिला वर्गलाई दोस्रो दर्जाको नागरिकका रूपमा हेर्ने प्रवृति थियो । हुन त त्यो प्रवृति आजपनि नेपाली समाजमा यदाकता नदेखिने हाेइन । हाम्रा पूर्खा आमाहरूको भनाइअनुसार वर्षमा एकदिन माइत जाने चलन थियो । त्यो तीज पर्वकै बेला, त्याेबेला माइतीघर जान पाउने, नयाँ कपडा लगाउन पाउने चलन थियो त्यो चलन हाम्रा आमाहरूकाे पुस्ताले भाेगेकाे थियाे ।

उसो त तीजमा माइतीले बाबु आमा, दाजुभाइले छोरी चेलीलाई घरमा बोलाएर मीठा-मीठा परिकार ख्वाउने चलन अहिले पनि छ । यो कारण मनका भावना एवम् सुख, दु:ख साटासाट गर्न पाउने अवसर मिलाएको छ ।

परम्परागत धार्मिक मान्यताअनुसार भगवान् शिवकी अर्धांगिनी हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भइ महादेव पति पाएको दिनलाई हिन्दू नारीले हरितालिका तीजका रूपमा मनाउँदै आएका हुन् ।

पार्वतीले महादेवलाई पतिको रूपमा पाउन १०७ जन्मसम्म घोर तपस्या गरेको कुरा शास्त्रमा पढ्न पाइन्छ । सोही दिनको सम्झनामा अहिले पनि विवाहित महिलाले पतिको दीर्घायु र अविवाहित नारीले असल तथा सुयोग्य वर पाऊँ भनी तीजको व्रत बस्ने चलन छ । दूध, घिउ, चामल, नरिवल, किसमिसलगायत मिसाइएर बनाएको ‘ढकने’ लाई दर भनिन्छ । अघिल्लो रात अर्थात् द्वितीयाका दिन राति १२ बज्नुअगाडि उठेर दर खाइ भोलिपल्ट तृतीयाका दिन निराहार व्रत बस्ने चलन थियो ।
भोलिपल्टको व्रत बस्ने सामर्थ्य तथा शक्तिका लागि अगिल्लो दिन नै खाने चलन थियो । यो चलन अहिलेपनि हाम्रा आमाहरूले मान्दै आएका छन् ।

उसो त पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भइ ‘चिताएको कुरा पुगाेस् भनी आशीर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन पुग्यो भनेर अहिलेपनि शास्त्रमा पढ्न र सुन्न पाइन्छ । परम्परामा तीजले महिलाहरूको दु:खलाई गीतको माध्यमबाट प्रस्तुत गरी उनीहरूले साथी-साथीबिच तथा परिवारका सदस्यहरूबिचमा दु:ख सुखका कुराहरू साटासाट गर्ने चलन थियो । त्यो बेला माइत जान नपाएका छोरीचेलीले बडो दु:ख मान्थे र आफ्ना घरमा कष्टपूर्ण मलिन अनुहारले तीज मनाउने गरेका थिए ।

आधुनिक तीजको सामजिक पृष्ठभुमि

आधुनिक तीजले अहिले समाजमा वर्चस्व कायम गरेको छ । तर आधुनिक तीज के हो, यसको सुरुवात कहिलेदेखि भयो भनेर यकिनरूपमा भन्न सक्ने अवस्था छैन । तर जब सामाजिक संजालले समाजमा जरा गाड्यो, त्योबेलादेखि तीजले आधुनिकता ग्रहण गरेको हो भन्दा फरक पर्दैन ।

आधुनिक समाजमा तीजको महत्त्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । तर अहिलेको तीजले समाजलाई गलत सन्देश दिएको छ कि भन्ने छ । किनकी अहिले महिलाहरूले महँगा गहना लगाउने सुनचाँदी तथा देखाउने र महिना दिनअगाडि देखिनै दर खाने बहानामा धेरै खर्चहरू गर्ने चलन छ ।

उसो त पैसा हुने र धनाड्यलाई यो सामान्य लाग्न सक्छ । तर जो गरिबीकाे चपेटामा परेको छ, उसलाई समाजको यो खालको वातावरणले चाड पर्व नै नआए हुन्थ्यो भन्ने बनाएकाे छ । यतिमात्र होइन, आधुनिक तीजले परम्परागत संस्कृति र समाजलाई पनि हानी गरेको छ । हुनेखाने वर्गले हुँदा खाने वर्गमाथि झटारोसमेत हानिरहेका छन्का । परिवार र घरमा मनाउने तीज ठूल्ठूला होटल तथा रेस्टुराँमा हुनेखाने जम्मा भएर मनाउँदा समजलाई गतल सन्देश दिएको छ ।

तर संस्था तथा समूहहरूले सबैलाई समेटेर सामूहिकतामा पाच्य कुरा खाएर मनाएको तीजले भने सामूहिकताको भावना जगाएको छ । हाल व्रत बसेर शिवजस्तै पति पाउने कुरा यथार्थ कति हो होइनन्, त्याे आफ्नै ठाउँमा छ । व्रत बस्दैमा शिवजस्तो पति पाउने, नबस्दा नपाउने भन्ने कुरामा सत्यता छैन । यो एउटा भ्रम हो । यसलाई यसले कसरी लिन्छ भन्ने कुरा आफैँमा भर पर्छ । यसाे भनाैँ— याे एउटा मान्यता हाे ।

तीजमा धनी र गरिबबिचको खाँडल

तीजको मौलिकता हराउँदै गयो । वर्तमान परिस्थितिमा तीज हुनेखानेका लागि धन दौलत प्रर्दशन गर्ने अवसर बन्यो । आर्थिकरूपमा विपन्नका लागि चाड नै नहुने वातावरण बन्यो । आधुनिक तीजले धनी र गरिबबिचको असमानतालाई देखाएको पनि छ । यसले गर्दा चाड पर्वमा पनि धनी र गरिबबिचको असमानतालाई अदृश्यरूपमा प्रकट गराएको छ । धनीहरू डिस्कोमा गएर नाच्छन्, गरिबहरूको घरमै नाच्नका लागि वातावरण छैन । खाना र नानाको लागि संघर्ष गरिरहनु परेको छ । धनीहरू महँगा गरगहना लगाउँछन्, गरिबहरूको एकसरो फेर्नसमेत पैसा छैन ।

धनीहरू पैसा सक्नका लागि तीजलाई मोजका रूपमा लिन्छन्, गरिबहरूसँग तीजमा एक छाक मीठो र राम्रो खाने सामान छैन । गरिबसँग मन छ तर पैसा छैन । धनीसँग पैसा छ तर मन छैन । कतिपय गरिबहरूको घरमा चाडबाडको बेलामा आफ्ना छोराछोरीलाई समेत मीठो मसिनो दिन नसकेर अभिभावकहरूले आफूलाई तनाव महसुस गर्ने गरेका छन् ।

यसकारण समाजमा नराम्रा घटनाहरू पनि घट्ने गरेको पाइन्छ । उसो त तीजमा मात्र होइन, अन्य चाडपर्वमा पनि यो खालको असमानता देखिएको छ । अरुको देखासिखी गर्ने प्रवृत्रि भित्रिएका कारण पनि समाजलाई भड्किलो बनाएको छ । जस्तो सामाजिक संजालमा विभिन्न खालका सामाग्रीहरू प्रर्दशन हुने कारण पनि समाजमा चाड पर्वले अराजकता निम्त्याएको । एक जनाले राम्रो लगाएर अनि महगो खाएको कुराहरूलाई सामाजिक संजालमा पोष्ट गर्ने कारण पनि गरिबलाई मानसिक तनाव दिएको छ । यो समाजको वर्गीय असमानताले गर्दा समाज एकात्मकतामा बाँधिन सकेको छैन ।

निराहार व्रत बस्नु भन्ने होइन, तर संस्कृतिमाथि अतिक्रमण गर्न पाइन्न ।

परम्परागतरूपमा तीज निराहार व्रत बस्ने चलन थियो, त्यो चलन हाल हटेको छ । यो हटेकोमा कुनै दुईमत छैन । स्वास्थ्यको दृष्टिकोणले तीजको निराहार व्रत उपयुक्त छैन र यो हट्नु स्वाभाविक हाे । तर यो हटाएर गतल प्रवृत्रि भित्र्याउन पनि कसैलाई छुट छैन । किनकी, हरेक चाड पर्व र सांस्कृतिक परम्पराहरूको आ–आफ्नै मान्यता मौलिकताहरू हुन्छन् । तीज मनाउने बाहानामा हाम्रो सांस्कृतिक सौन्दर्यमा आघात पुर्‍याउने र आस्थामा र विश्वासमा धक्का दिने काम गर्नु आफैँमा गलत छ ।

तीज आउनु महिना दिनअगाडिदेखिनै पार्टी प्यालेनसमा भड्किलो तरिकाले मनाउनु, महँगाे खाने गर्नुले तीजलाई एक खालको संस्कृतिमाथि अतिक्रमण गरेको छ । महँगो गहना र बार-रेस्टुराँका मदिरामा तीजको रौनक खोज्नु कति गलत हो या कति सही, त्यो आफैँले अनुमान गर्ने कुरा भयो । यतिमात्र होइन, सो स्थानका फोटो तथा भिडिओ सामाजिक संजालमा राखेर आफ्नाे हैसियत देखाउनु पनि एउटा गलत पक्ष नै हो । यसले सामान्य तरिकाले चाड मनाउनेलाई ज्यादै असर पारेको हुन्छ ।

तीजमा माइत जान र दु:ख साटासाट गर्ने फुर्सद छैन भन्नेहरू सहरका पार्टी प्यालेसहरूमा महिनौँ रम्ने र तीजको भाका छाडेर विदेशी गीतहरूका प्रस्तुत हुनेलाई संस्कृतिको संरक्षण बारे ‘पढायो पढायो पाठ, साेह्रदुना आठ’ भनेजस्तो मात्र भएको छ । उसो त तीजमा आफ्नै लय र संस्कृतिमा रमाउने र परम्पराका गलत प्रवृत्तिलाई सच्याएर संस्कृतिको संरक्षण गर्दै सामूहिकता, सद्भाव तथा पारिवारिकरूपमा तथा समाजको परिवेशअनुसार सम्मानपूर्वक तीज मनाउनेप्रति मेरो नि सम्मान छ । तर वाइन तथा गहनाको प्रर्दशन गरी समाजको वातावरण तथा संस्कृतिमाथि प्रहार गर्ने अनि विदेशी गीतहरूको प्रयोग गरी समाजमा गलत सन्देश दिनेहरूले आफूलाई सुधार्न आवश्यक छ । तीजमा व्रत कसरी बस्ने र के खाने नखाने भन्ने कुराको निधो स्वास्थ्यअनुसार आफैँले गर्नु राम्रो हुन्छ ।

अब के गर्ने ?

महिलाले निराहार दिनभरि व्रत बसेर राति पतिलाई टीका लगाइ खुट्टाको पानी खाने प्रचलनमा सुधार आउनुपर्छ । रजस्वाला पाप हो, त्यो पाप पखाल्न पञ्चमीकाे व्रत बस्नु पर्छ भन्ने कुरालाई निमिट्यान्न पार्नुपर्छ । महिलालाई पाप पखाल्न व्रत बस्नुपर्ने भन्ने धारणा पनि गलत हो, यसमा सुधार हुनुपर्छ । संस्कृतिमा खुट्टाको पानी खानु र पतिले जस्तोसुकै हर्कत गरेपनि सहनु भन्ने कुरा पनि गलत हो, यसबारे सबैले साेच्नुपर्छ । तर अहिलेको जो आधुनिकताको नाममा विकृति आएको छ, यसले बढवा पाउनु हुँदैन ।

तीज पर्वलाई आधुनिकताको यथास्थितिमा राख्यो भने यसले समाजमा नराम्रो छाप छाड्ने र मैलिकता नास हुने अवस्था छ । पुराना परम्परागत धारणा हटाउनु त राम्रा पक्ष नै हो, तर नकरात्मक कुरा हटाउनुभन्दा पनि अझ समाजमा भड्किला कुराहरूले साथ पाएको छ । केही वर्षयता तीज मनाउने परम्परागत शैलीमा व्यापक परिवर्तन आएको छ । नाचगान, गीत, पहिरनका क्षेत्रमा आएको परिवर्तनले तीजको मौलिक स्वरूप पूरै हराउने अवस्था देखिएको छ । परम्परागत लोकालय र वाद्यवादन शैली पनि पूरै विस्थापित हुने हो कि भन्ने खतरा छ । त्यो कारण हामी शिक्षित भनिने वर्गले यसको संरक्षणमा पहल गर्नु पर्छ ।

आफैँले पसम्परागत लोक तथा संस्कृति संरक्षण गर्ने । पुराना पोसाक तथा संगीतहरूको प्रवर्द्धन गर्ने । समाजमा देखिएको नकारात्मक प्रवृत्तिलाई अन्त्य गर्ने हामीले समाजमा भूमिका खेल्नुपर्छ । जे छ आफूसँग, त्यसमै रमाउने बानी बसाल्नुपर्छ । यी यी काम गरेकाे/भएकाे खण्डमा हाम्रा आमा तथा पूर्खाहरूले हामीलाई सलामी अर्पण गर्नेछन् ।

अन्त्यमा व्रत बस्दा स्वास्थ्यलाई ध्यान दिएर आफूअनुकूल बसाैँ । भड्किलो तथा खर्चिलो तीजलाई निरुत्साहित गराैँ । रमाइलो गराैँ, रमाइलो गर्ने बहानामा अरुलाई असर नगराैँ ।

तीजनकाे शुभकामना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *