बाबुरामको क्षेत्रमा कांग्रेसका एकल उम्मेदवार सिफारिस, के होला गोरखा-२ ?
पोखरा । अहिले गोरखा क्षेत्र नम्बर १ लाई बढी चासोका साथ हेरिएको छ । त्यसो त २०७४ को निर्वाचनमा पनि यो क्षेत्र बहुचासोमा थियो ।
माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र पूर्व प्रधानमन्त्री समेत रहेका तत्कालीन नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच यहाँ प्रतिस्पर्धा भएको थियो । भट्टराईले श्रेष्ठलाई ७ हजार १ सय ७४ मतले हराए । भट्टराईले ३१ हजार ८ सय ७ मत ल्याउँदा श्रेष्ठले २४ हजार ९ सय ३३ मत पाए । तत्कालीन चुनावमा भट्टराईलाई कांग्रेसले साथ दिएको थियो ।
अहिले परिस्थिति भिन्न छ, बाबुराम माओवादीसँग मिले । उनी माओवादीकै चुनाव चिन्हबाट चुनाव लड्ने तयारीमा छन् । यो चुनावमा भने कांग्रेसले गोरखा २ नछोड्ने दाबी गरिरहेको छ । सत्ता गठबन्धन भएपनि गोरखा २ मा कांग्रेसले आफ्नो उम्मेदवार उठाउने तयारी गरेको छ । कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेलाई कांग्रेसको क्षेत्रीय कार्यसमितिले एकल सर्वसम्मत सिफारिस गरेको छ ।
क्षेत्रीय सभापति गोविन्द गुरुङले कांग्रेसमा एकता रहेको सन्देश दिन र कुनै हालतमा गोरखा २ नछोड्नका लागि नै एकल सिफारिस गरिएको बताए । समानुपातिकतर्फ ४ जनाको नाम छ । केन्द्रीय सदस्य अब्दुल सतार, पूर्व जिल्ला सभापति हरिबहादुर घले, महाधिवेशन प्रतिनिधि पीताम्बर बडू, अम्बिका न्यौपाने र गोमा ढकालले समानुपातिकमा आवेदन दिएका हुन् ।
गोरखा क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फबाट उम्मेदवार बन्न ९ जना आकाङ्क्षी छन् । राजेन्द्र बजगाईँ, तुलराम दाहाल, किरणबाबु श्रेष्ठ, देवेन्द्र वाग्ले, रामकृष्ण लामिछाने, चिनकाजी श्रेष्ठ, राजनराज पन्त र जनुका अधिकारीले पनि आवेदन दिए । समानुपातिकतर्फ जगत बराम, युवराज बस्ताकोटी, जीवनप्रेम श्रेष्ठ, रजनी मियाँ र शोभा भट्ट खनाल छन् ।