गण्डकी कांग्रेस : भावी मुख्यमन्त्रीको दौडमा आधा दर्जन नेता

पोखरा । २०७४ को प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपा बहुमतमा आयो । गण्डकी प्रदेशसभामा एमाले र माओवादी सहित ३९ सांसद थिए । यहाँ ३१ सांसद हुने पार्टीले सरकार बनाउन पाउँछ ।

अघिल्लो चुनावमा निकै कमजोर देखिएको कांग्रेस अहिले गण्डकीमा एकल सरकार बनाउन कस्सिएको छ । तत्कालीन नेकपा फुटेपछि कांग्रेसलाई केही राहत मिलेको छ । त्यति मात्रै होइन, अहिले सत्ता गठबन्धन छ ।

३६ निर्वाचन क्षेत्र रहेको गण्डकीमा गठबन्धनबाट कांग्रेसले कम्तीमा २० सिट दाबी गरेको छ । अघिल्लो पटक ६ निर्वाचन क्षेत्रमा प्रत्यक्ष र ९ समानुपातिक गरी १५ सिट कांग्रेसको भागमा थियो । गठबन्धन र कम्युनिस्ट पार्टी विभाजनको फाइदा लिने दाउमा रहेको कांग्रेसका अधिकांश प्रदेशसभाका उम्मेदवार मुख्यमन्त्रीको होडमा छन् ।

कास्की निर्वाचन क्षेत्र नम्बर २ (ख) मा बहालवाला २ मन्त्रीबीच टक्कर चलिरहेको छ । कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री बनेका कुमार खड्का र कानूनमन्त्री विन्दुकुमार थापा एउटै क्षेत्रका हुन् । उनीहरू दुवैले टिकटको दाबी गरेका छन् । चुनाव जितेर मुख्यमन्त्री बन्न उनीहरूको जोडतोड छ ।

कांग्रेसका प्रदेश सभापति शुक्रराज शर्मा पनि यसपालि प्रदेशको समानुपातिक सांसद बन्न नाम टिपाएका छन् । उनी पनि मुख्यमन्त्रीको प्रतिस्पर्धामा रहेका उनी निकट नेताहरूले बताए । अरू जिल्लाबाट पनि मुख्यमन्त्रीका लागि हेभिवेट नेताहरू प्रदेशमा झरेर आवेदन दिएका छन् ।

हालका अधिकांश सांसदहरू दोहोर्‍याउने मुडमा छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल भने प्रदेश छोडेर प्रतिनिधिसभामा लागेका छन् । उनी प्रतिनिधिसभाको समानुपातिक सांसदका लागि तयारी गरिरहेको उनी निकट श्रोतले बतायो । उनको क्षेत्रबाट यो चुनावमा जिल्ला सभापति महेन्द्रध्वज जिसी चुनाव लड्ने योजनामा छन् । यस्तै पूर्व सांसद अर्जुन जोशी पनि प्रदेशसभा सांसद बन्न लागि परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *