कांग्रेस उम्मेदवार छनोट : एउटै व्यक्ति जिल्लाका सबै क्षेत्रबाट, सबै पदमा सिफारिस
पोखरा । नेपाली कांग्रेस पर्वतका एक नेताले आगामी निर्वाचनका लागि सबै क्षेत्रबाट दाबी गरेका छन् । प्रतिनिधिसभाको एउटा मात्रै निर्वाचन क्षेत्र रहेकोमा नेता नवराज गुरुङले प्रत्यक्ष र समानुपातिक दुवै कोटामा नाम लेखाएका हुन् ।
प्रदेशसभा (क) मा उनी प्रत्यक्ष चुनाव लड्नका लागि आवेदन दिएका छन् । पर्वत ‘ख’ बाट पनि प्रत्यक्ष र समानुपातिक दुवै कोटामा नाम लेखाएका छन् । नेपालभरि नै यति धेरै क्षेत्रमा एउटै व्यक्तिले दुवै कोटाबाट नाम लेखाउने सम्भवतः उनै पहिलो व्यक्ति हुन् ।
अघिल्लो निर्वाचनमा गुरुङ पर्वत (क) बाट प्रदेशसभामा प्रत्यक्ष चुनाव लडेका थिए । २०७० मा संविधानसभा निर्वाचनको टिकट पनि उनैले पाएका थिए । संविधानसभा चुनावमा एमालेका विकास लम्सालसँग पराजित उनी २०७४ मा माओवादीका नेत्रनाथ अधिकारीसँग हारे ।
बारम्बार क्षेत्र फेरिरहने नेताका रूपमा चिनिएका उनै गुरुङ अहिले पर्वतको प्रदेशसभाका दुवै क्षेत्रबाट उम्मेदवार बन्ने आकांक्षा देखाएका छन् भने प्रतिनिधिसभा निर्वाचनमा पनि उनले आफ्नो नाम टिपाएका छन् ।
पर्वतको प्रतिनिधिसभा निर्वाचनका लागि गुरुङसँगै १८ जनाले प्रत्यक्ष चुनाव लड्न आकांक्षा देखाएका छन् । कांग्रेस नेता अर्जुनप्रसाद जोशी र पूर्वसांसद तथा कांग्रेसका पूर्व मुख्यसचिव ऋषिकेश तिवारीले समेत नाम लेखाएका छन् ।