गँड्यौलो भएर नबस्न कार्यकर्तालाई ओलीको निर्देशन

विराटनगर ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई गँड्यौलो भएर नबस्न आग्रह गरेका छन्  । प्रहरी प्रशासन लगाएर कसैले बुथ कब्जा गर्छ, बाकस साटेर हराउन लाग्छ भने गँड्यौलो जस्तो मुन्टो बटारेर नबसी दुई वटा दाँतले डस्न लागेको अवस्थामा लाग्न उनले कार्यकर्तालाई आग्रह गरेका हुन् ।

नेकपा एमाले सुनसरी क्षेत्र नम्बर ३ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफ्नो मतको रक्षा गर्न, जनमतको रक्षा गर्ने खालको काममा लाग्न उनले कार्यकर्तालाई निर्देशन दिए । सुनसरी क्षेत्र नम्बर ३ मा लामो समयदेखि पटक पटकको निर्वाचनमा विजय कुमार गच्छदारले धाँधली गरेर जितेको आरोप लाग्दै आएको छ ।

एमाले अध्यक्ष ओलीले प्रहरी प्रशासन तर्फ लक्षित गर्दै राष्ट्र सेवक कर्मचारीलाई कुनैपनि पार्टीको कार्यकर्ता नहुन आग्रह गरे । ‘तपाईँहरू कुनैपनि पार्टी विशेषको तनखा खाएर जागिर गर्न आउनु भएको हैन,’ उनले भने ।

राज्य र देशको सेवाको लागि राष्ट्रसेवक भएकोले त्यही अनुसारको भूमिका गर्न ओलीकाे आग्रह  छ ।  उनले निर्वाचन आयोगलाई समेत निष्पक्ष भूमिका खेल्न आग्रह गरे । ‘अबको निर्वाचनमा बाकस साट्ने, धाँधली गर्ने खालका  काममा कुनैपनि निकाय सामेल हुने छैन,’ उनले भने, ‘म त्यस्ता खालका गतिविधि नगर्न  राष्ट्र सेवक कर्मचारीलाई आग्रह गर्दछु ।’

एमाले अध्यक्ष ओलीले गठबन्धनको सरकारले १ वर्ष मै देशलाई कङ्गाल बनाउन लागेको बताए ।  आगामी मङ्सिर ४ गतेपछि नेकपा एमालेको बहुमतको सरकार बन्ने दाबी गरेका ओलीले गठबन्धनको सरकारले सबै योजनाहरू काटेर  जनताको चाहनामाथि अन्याय गरेको बताए ।  ‘मङ्सिर ४ गतेपछि नेकपा एमालेको बहुमतको सरकार बन्छ,’ ओलीले भने,  ‘नेकपा एमालेको बहुमतको सरकार बनेपछि  यस अघिको नेपालको नक्सामा ल्याइएको लिम्पियाधुरा, लिपुलेक र कालापानीका जमिन प्रक्रिया मार्फत नेपाली जमिन फिर्ता ल्याउनु छ ।’

पटक पटक विजयकुमार गच्छदारसँग हार बेहोरेकी नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सह इन्चार्ज भगवती चौधरीले  सुनसरी  क्षेत्र नम्बर ३ अत्यन्त संवेदनशील र महँगो क्षेत्र भएको बताइन् । ‘सुनसरीको ३ नम्बर क्षेत्र  देशकै उच्च संवेदनशील, खर्चालु र महँगो क्षेत्र बनेको छ किन यस्तो हुन गयो यो नेतृत्वले जवाफ दिनुपर्छ,’ चौधरीले भनिन्,  ‘यहाँका जनता यही कारणले गर्दा निक्कै पिल्सिएका छन्, एकखालका व्यक्तिको दबदबाले गर्दा नागरिक निक्कै पीडित भएका छन् ।’

यो क्षेत्रमा चुनाव जित्दा जित्दै पनि हारिएको बताइन् । ‘यो क्षेत्रमा चुनाव जित्दा जित्दै पनि हारिन्छ, अदालतसम्म गएको मुद्दा फैसला हुँदैन, नेता र अध्यक्षले यो विषय ध्यान दिनु पर्दैन ?,’ उनले भनिन् । चौधरीले निर्वाचन आयोगको निष्पक्षतामाथि समेत प्रश्न गरेकी छिन्  । पार्टीको तर्फबाट आयोगलाई ध्यानाकर्षण गरिनु पर्ने चौधरीको भनाई छ।

कार्यक्रममा नेकपा एमालेका नेता तथा पूर्व मुख्यमन्त्री भीम आचार्य, प्रदेश इन्चार्ज देवराज घिमिरे लगायतका   केन्द्रीय सदस्य तथा प्रदेश सदस्यहरू कार्यक्रममा सहभागी थिए । कार्यक्रममा एक हजार बढी अन्य पार्टीमा रहेका कार्यकर्ता एमालेमा प्रवेश गरेको दाबी गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *