केन्याविरुद्ध एक दिवशीय सिरिज पनि नेपाललाई
काठमाडौं । नेपालले केन्याविरुद्ध एक दिवशीय क्रिकेट श्रृंखला पनि जितेको छ। शनिबार केन्यालाई १६ रनले पराजित गर्दै एक खेल अघि नै नेपालले श्रृंखला आफ्नो पक्षमा पारेको हो।
नेपालले दिएको २३१ रनको विजय लक्ष्य पछ्याएको केन्या ४६.३ बलमा २१४ रनमा अलआउट भएको हो।
केन्याका लागि रकेप पटेलले ८१ रन बनाए पनि अन्य ब्याटर जम्न सकेनन्। नेपाललाई जित दिलाउने क्रममा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले समान ३-३ विकेट लिए।
केन्याका नेल्सन ओधिम्बो २८, कोलिन्स ओबुया ३७, नेहमिया ओधिम्बो १२ रन बनाए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ बलमा अलआउट हुँदै २३० रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ७८ रन जोडे।
ओपनर देव खनाल ३७, ज्ञानेन्द्र मल्ल २५, बसिर अहमद १७, आदिल अनसारीले १४ र करण केसीले ११ रन बनाए। शुक्रबार पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो। एक दिवशीय श्रृंखलाको अन्तिम खेल सोमबार हुनेछ। यसअघि नेपालले ५ खेलको टि २० सिरिज ३–२ ले जितेको थियो।