हराउँदै गौराको मौलिकता

दोधारा चाँदनी । गौरा पर्वको आफ्नै गरिमा र महिमा छ । यो पर्व डोटेली भाषीको पहिचान र इतिहाससँग जोडिएकाले पनि यसको महत्त्व बढी छ । पछिल्लो समय आधुनिकताका कारण गौराको मौलिकता हराउँदै गएको छ । खास गरेर गौरा भन्ने बित्तिकै महिलाले व्रत बस्ने र दुबधागो लगाउनेसँग सम्बन्धित हुन्छ । अहिलेको पुस्ताले भने महत्त्वको ख्यालै नगरी केवल रमाइलोका लागि मात्रै गौरा मनाउने गरेका छन् ।

विभिन्न सङ्घ संस्थाले संस्कृतिको जर्गेना गर्नुपर्ने ठाउँमा गौराको मूल मर्ममाथि नै प्रहार हुने गरी महोत्सव भनेर देउडा आयोजना गर्न थालेका छन् । यसले गौराको मूल मर्ममाथि प्रहार हुन थालेको संस्कृतिविद् बताउँछन् । गौरा र देउडा फरक फरक विषयवस्तु रहेको गौरा महाकाव्यका लेखक दिलानन्द पन्तले बताए ।

“गौराको आफ्नो छुट्टै महत्त्व छ, जसरी गौरा महोत्सव भनेर देउडा खेल्ने गरिन्छ, त्यो गलत हो”, उनले भने, “देउडा एउटा मनोरञ्जन मात्रै हो, गौरा महिलाले व्रत बस्ने र दुबधागो लगाउनेसँग सम्बन्धित छ ।” उनले गौरामा गाइने सगुन र फाग सुदूरपश्चिमको लोक जीवनसँग जोडिएको बताए ।

गौरासँग जोडिएको ढिस्को, धुमारी, रामलीला र श्रीकृष्ण लीला गायनको पनि छुट्टै विशेषता छ । तर धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको गौराको संवर्द्धन र प्रवर्द्धन गर्नुपर्ने ठाउँमा विभिन्न सङ्घसंस्थाले नै गौरा महोत्सव भनेर देउडा कार्यक्रम गर्न नहुने मानसखण्डका जानकार आचार्य घनश्याम लेखक बताउँछन् ।

“गौरा महोत्सव भनेर देउडा गरिन्छ भने त्यहाँ गौराको आत्माको मृत्यु हुन्छ”, उनले भने, “देउडा त गौरा सकिएको दोस्रो दिनदेखि मनोरञ्जनका लागि गाइन्छ ।” तर पछिल्लो समय विभिन्न सङ्घ संस्थाले गौरा महोत्सव भनेर देउडा आयोजना गर्नु दुःखद रहेको यसका जानकार भानदेव बडूले बताए ।

“गौरा कहिले मनाउने, कसरी मनाउने, त्यो हाम्रो संस्कृतिले नै निर्धारण गरेको छ त्यही महोत्सव हो, त्यही पर्व हो, त्यही नै सबै कुरा हो” उनले भने, “गौरामा महोत्वस गरिराख्नुपर्ने आवश्यकता नै छैन । गौरा हाम्रो परम्परागत पात्रोले यो दिन हुन्छ भनेर निर्धारण गरेको हुन्छ ।” उनले गौराको आफ्नै महत्त्व भएकाले देउडा फरक विषय भएको बताए ।

पछिल्लो समय आधुनिकतासँगै गौरा मनाउने चलन पनि फेरिँदै गएको छ । गौरालाई देउडा खेल्ने पर्वको रूपमा मात्रै बुझिदिँदा समस्या भएको पाका पुस्ताको भनाइ छ । गौरा र देउडा नितान्त फरक विधा हुन् । गौरालाई देउडा पर्वका रूपमा बुझ्यौँ भने यसको महत्त्व नै नरहने पाका पुस्ताको भनाइ छ । “पहिला जस्तै व्रत बस्ने चलन नै रहेन अहिले”, स्थानीय लक्ष्मी जोशीले भने, “अहिले गौराको कथा जान्ने मान्छे प्रायः छैनन्, नयाँ पुस्ताले जान्न बुझ्न चाहँदैनन् ।”

अहिले विभिन्न पाठ्यपुस्तकमा गौरालाई देउडा भनेर परिभाषित गरेको पाइन्छ । यसले गर्दा नयाँपुस्ताले गौरालाई केवल देउडाको रूपमा मात्र ग्रहण गर्ने खतरा उत्तिकै बढेको डोटेली लोकवार्ताका जानकार कविराज भट्टले बताए । “अहिले सरकारी स्तरबाटै स्वीकृत भएका कतिपय पाठ्यपुस्तकमा गौराको वास्तविकता अध्ययन नै नगरी देउडाका रूपमा मात्रै परिभाषित गरेको पाइयो ।” उनले भने, “यो नितान्त गलत छ, यसलाई सच्याउनुपर्छ । यसले गौराको मूल मर्म माथि प्रहार गरेको छ ।”

परम्परागत रूपमा गौराको अध्ययन गर्दा यो सुदूरपश्चिमको मौलिक संस्कृति झल्काउने पर्व हो । विशेष गरेर नारी सम्मानका रूपमा मानिने यो पर्वमा यहाँका नारीहरूले आफूभन्दा ठूलाबाट आर्शिवाद लिने चलन छ । यसमा नारीलाई यज्ञोपवीत ग्रहण गर्ने र वैदिक मन्त्र जप्ने अधिकार दिएको छ । गौरामा खेलिने, गाइने भाका र लय हराउन थालेको छ ।

त्यसैले डोटेली भाषीको पहिचान, संस्कार र संस्कृति हराउँदै गएको भट्टले बताए । गौरा पर्व के हो ? यसको महत्त्व के हो रु के कस्ता गीत, कस्तो लयमा गाइन्छन् वा नाचिन्छन् भन्ने कुराको अहिलेको नयाँ पीढीले वास्ता गरेको छैन भने पुरानो पुस्ताले गौरा पर्वको महत्त्व, महिमा र गरिमा यो हो भनेर नयाँ पुस्तालाई भन्न चुकेका कारण यसको मौलिकता हराउन थालेको छ । संस्कृति जगेर्नातर्फ लाग्न पाका पुस्ताको नयाँ पीढीलाई सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *