अस्पताल ढिलो जाँदा डेङ्गुकै कारण मृत्युसमेत हुनसक्छ : डा. सुवास पन्त (भिडिओसहित)
‘काठमाडौँका हरेक अस्पतालका बेड डेङ्गु संक्रमितले भरिएको छ’
काठमाडौँ । कोरोनाभाइरसले धेरै समय सताएकाे काठमाडौँलाई अहिले डेङ्गुले तर्साइरहेको छ । खासगरी काठमाडौँ र आसपासका जिल्ला तथा तराई क्षेत्रहरूका अस्पतालका बेडहरू अहिले डेङ्गु संक्रमितहरूले नै भरिएको छ ।
लामखुट्टेले टोक्दा लाग्ने/सर्ने यो रोगको संक्रमणबाट नेपालमा यसैवर्ष केही व्यक्तिहरूकाे मृत्युसमेत भइसकेको छ । चिकित्सकहरूकाअनुसार घाम उदाएको २/३ घण्टापछि, गोधुली साँझका बेला र बिहान ४ बजेदेखि ६ बजेसम्म डेङ्गु लाग्ने/सार्ने लामखुट्टेहरूले टोक्न सक्छन् । उनीहरूकाअनुसार डेङ्गु सार्ने लामखुट्टे कालो र सेतो रङका हुन्छन् । टोक्ने र चाँडै उडिहाल्ने यिनीहरूको ‘प्रवृत्ति’ हुन्छ ।
डेङ्गुको भाइरसबाट संक्रमित भएको एडिस एजिस्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्छ । यो रोग सार्ने लामखुट्टे खासगरी ग्रामीण भेगमा भन्दा सहरी क्षेत्रमा बढी पाइने हुन्छ । यसले स-साना पानी जमेका स्थानमा फुल पार्ने गर्छ । खासगरी वर्षाको पानी; जस्तै टिनका डब्बा, थोत्रा टायर, अलकत्रा वा मट्टीतेलका खाली ड्रम, फुलदानी गमला, पानीका ट्याङ्की आदिमा यसले फुल पार्छ ।
डेङ्गु सबै उमेर समूहका मानिसलाई हुनसक्छ । तर, बालबालिकामा रोगी र वृद्ध वृद्धामा अझ धेरै देखिने चिकित्सकहरू बताउँछन् । त्यसो त डेङ्गु के हो ? संक्रमित भइहाले भने कसरी बच्ने ? यसको नियन्त्रण कसरी गर्न सकिन्छ ? यी नै विषयवस्तुबारे मकालुखबरले काठमाडौँ मेडिकल कलेजका सहायक प्राध्यापक तथा आन्तरिक चिकित्सा विभागका चिकित्सक डा. सुवास पन्तसँग कुराकानी गरेको छ । त्यसका आधारमा तयार पारिएको यो सामाग्री हेरौँ ।
डेङ्गु के र कति घातक ?
बेलैमा पहिचान भए डेङ्गुको उपचार घरमै सम्भव हुने डा. पन्त बताउँछन् । तर, संक्रमित भएकाे लामाे समय भएकाे र घरमा पनि उचित वातावरण नपाएकाे खण्डमा यसले दुर्घटनासमेत निम्त्याउन सक्ने उनी बताउँछन् । ‘समयमै पहिचान भयो र त्यसलाई जित्ने रोगप्रतिरोधात्मक शक्ति प्रदान गर्ने खानपिन भयो भने यसको निदान घरमै पनि हुनसक्छ । तर, संक्रमण भएको लामो समय भयो र पनि निको भएन भनेचाहिँ यसले गाह्रो बनाउन सक्छ,’ उनले भनेका छन् ।
डेङ्गुका पनि धेरैवटा प्रजातिहरू हुने र एउटै व्यक्तिलाई पटक-पटक हुन सक्ने डा. पन्त बताउँछन् । तर, एकपटक लागेको प्रजातिको डेङ्गु अर्कोपटक सोही व्यक्तिलाई लाग्ने सम्भावनाचाहिँ कम हुने उनले बताए । ‘डेङ्गु रोग ८ देखि १० दिनसम्ममा निको हुन्छ । तर यसले बिरामीलाई कमजोर बनाउने भएकाले डेङ्गु लागेका मानिसले धेरै ख्याल गर्नुपर्छ । एउटै व्यक्तिलाई धेरैवटा प्रजाति लाग्न सक्छ । आफैँले ख्याल गर्नुपर्छ ।’
सक्रमितकाे उचित स्याहारसुसार हुनुपर्ने र सबैभन्दा उत्तमचाहिँ अस्पताल लैजाँदै ठिक हुने बताउँछन् डा. पन्त । ‘याे निकै घातक छ । यसले ज्यानै पनि लिएकाे छ कतिपयकाे । त्यसैले बेलैमा यसकाे समाधान खाेज्नु र लाग्नु नै नदिनु राम्राे हाे,’ उनले भनेका छन् ।
‘अस्पताल ढिलो जाँदा मृत्युसमेत हुनसक्छ’
डेङ्गु धेरैखाले हुन्छन् । नेपालमा देखिएको डेङ्गु पनि एकैखाले होइन, त्यहाँ धेरै प्रजातिहरू छन् । तर सबैको असर भने झन्डै समान हुने डा. पन्त बताउँछन् । ‘प्राय:गरेर सबै प्रजातिका डेङ्गुका लक्षण मिल्छन् । नेपाल सरकारले कुन व्यक्तिलाई कुनखाले डेङ्गु लाग्यो भन्ने तथ्यांक त सायद राखेको छैन होला,’ उनले भनेका छन्, ‘तर, कुन प्रजातिको लाग्यो र त्यसको असर कति रहन्छ भनेर गमेर बस्ने भन्दापनि चाँडै अस्पतालचाहिँ जानुपर्छ ।’
यसपटक व्यापकरूपमा संक्रमित भएको र अस्पताल ढिलो जाँदाखेरि मृत्युसमेत भएको सुनाउँदै उनले भनेका छन्, ‘यसपटक डेङ्गु भएका बिरामीहरू ढिलो अस्पताल गएकै कारण मृत्युसमेत भएको छ । यो एकदमै नराम्रो घटना हो ।’ उनी सबैमा डेङ्गुबारे सामान्य जानकारी हुनैपर्ने ठान्छन् । सामान्य जानकारी नभइकन सतर्क रहन नसकिने उल्लेख गर्दै उनले भनेका छन्, ‘सामान्य जानकारी सबैमा हुनुपर्छ । यसले व्यक्ति/संक्रमितलाई सजग बस्न मद्दत गर्छ ।’
त्यसपछि उनले भनेका छन्, ‘डेङ्गुको चारदेखि पाँच थरीको सेरोटाइप हुन्छ । यसकारण यसको परीक्षण हुन जरुरी हुन्छ । योपटक पहिलो सेरोटाइप भए अर्को पटक दोस्रो, तेस्रो सेरोटाइप भएर जान्छन् । यसकारण अब सरकारले यसको नियन्त्रणमा ध्यान दिन जरुरी छ । मानिसलाई कहाँ टोक्छ र कसरी बच्ने भन्ने बारेको न्यूनतम ज्ञान नभइकन सजग रहन सकिँदैन ।’
कसरी बच्ने ?
डेङ्गु परिवारको कुनै एक सदस्यमा छ भने अरुमा सर्ने सम्भावना एकदमै धेरै रहेको डा. पन्त बताउँछन् । घरमा कोहीलाई हुन नदिन घर वरपरको पानी जम्ने खाल्डाखुल्डी पुर्ने, पानीका मुहान एवम् पानीका स्रोतहरू सफा राख्ने, भाँडाकुँडा तथा खानेकुरादेखि पानीसम्म छोपेर मात्रै राख्ने गर्नुपर्ने उनी बताउँछन् । ‘यो नसर्ने रोग हो तर, एक घरमा एक मानिसमा देखिएको डेङ्गुले अन्य परिवारका सदस्यलाई पनि सार्न सक्छ । त्यसैले सबैभन्दा अगाडि त सचेतना नै फैलिनुपर्छ,’ उनले भनेका छन् ।
संक्रमितलाई टोकेको लामखुट्टेले संक्रमित नभएको व्यक्तिलाई टोकेको खण्डमा स्वत: डेङ्गु हुने सम्झाउँदै उनले भनेका छन्, ‘संक्रमित टोकेको डेङ्गुले टोकेको संक्रमित नभएको व्यक्तिमा सजिलै डेङ्गु सर्न सक्छ । जसले गर्दा घरमा झुलको प्रयोग अनिवार्य गर्नुपर्छ । यसले बचाउन सहयोग गर्छ ।’ यस्तै हातमा लोसन लगाउने, लामो कपडाहरू लगाउनेलगायतका काम गर्नाले पनि यसबाट बच्न सकिने उनकाे भनाइ छ ।
डेङ्गु रोग लाग्नुको मूल कारण नै गर्मी र फोहोर पानी भएकाले झ्यालढोकाहरू बन्द गरेर सुत्ने गर्नुपर्ने उनको सुझाव छ । ‘सबैभन्दा अगाडि त लामखुट्टेले नै टोकेन भने बचियो । यो खासमा सरुवा रोग हुँदैन तर, सार्ने भनेकोचाहिँ लामखुट्टे नै हो,’ उनले भनेका छन्, ‘अन्य पनि यसबाट बच्ने उपाय हुनसक्छ ।’
डेङ्गुका लक्षणहरू के-के हुन् ?
डेङ्गुका लक्षणहरू अन्य राेगका बिरामीहरूसँग मिल्दोजुल्दो हुन्छ । डा. पन्तकाअनुसार यसलाई जाँच नगरी डेङ्गु हो या होइन भन्नेबारे पत्ता लाग्दैन । ‘यसका लक्षणहरूमा टाउको दुख्ने, ज्वरो आउने, पेट दुख्ने, आँखाको गेडो दुख्ने, वान्ता हुने, झाडापखाला हुने, जीउका हड्डी दुख्नेलगायत हुन्छन्,’ उनले भनेका छन् ।
यस्ता लक्षणहरू अरु धेरै राेगका पनि हुने बताउँदै उनले भने, ‘यो लक्षण अरु रोगका लक्षणहरू पनि हुन्छ । त्यसैले यसो जाँच नगरीकनै थाहा हुँदैन । जाँच गर्ने सचेतता अपनाउने गर्नुपर्छ ।’
‘सरकारले विशेष कार्यक्रम चलाउनुपर्छ’
डेङ्गु नियन्त्रणमा सरकारसँग खास त्यस्तो केही कार्यक्रम छैन । तर, यसका लागि सरकारले कुनै विशेष कार्यक्रम तथा योजना नै ल्याउनुपर्ने बताउँछन् डा. पन्त । ‘सरकारले त्यसका लागि अलिकति पनि ढिला गर्नुहुन्न,’ उनले भनेका छन्, ‘डेङ्गुको रोकथामका लागि सरकारले एक्सन लिन जरुरी छ ।’
अहिले काठमाडौँका अधिकांश अस्पतालहरूका बेड डेङ्गु संक्रमितहरूले भरिएको उल्लेख गर्दै उनले भनेका छन्, ‘यो यसपटक अझै व्यापकरूपमा देखियो । यसको रोकथामा गर्ने सरकारले नै हो । यदि सरकार नै चुप बस्यो भने मर्ने मर्दै गर्छन्, बाँच्ने बाँच्दै गर्छन् भन्नुपर्ने अवस्था हुन्छ ।’
उनले त्यसअघि भनेका छन्, ‘डेङ्गु नियन्त्रण गर्ने सरकारले कदम चाल्न जरुरी छ । हाल सरकारले अटेरी गरेको अवस्था छ । यो प्रक्रियाले गर्दा पछि स्थिति भयानक हुने भएकाले अहिले नै सरकार चनाखो हुनुपर्ने छ । जसका लागि सरकारले नागरिक स्तरमा जनचेतनामूलक कार्यक्रम गर्ने, लामखुट्टे भगाउने विषाधी छर्कने, टोल–टोलमा गएर नागरिक सचेतना जगाउनेलगायत गर्नुपर्छ ।’