‘संस्कृति नरहे रहँदैन नेपालीकाे परिचय’
काठमाडाैँ । गाेधुली साँझ, सिमसिमे पानी अनि रिङ्गै बालिएका दियाेले सिद्धपोखरी र गुह्यपोखरी निकै शृङ्गारिक देखिए, जग्गेमा पठाउन लागिएका दुलहीझैँ । छेवैमा हाकुपटासीसहित बसेका ‘अप्सरा’ समूहद्वारा गुञ्जिरहेकाे सङ्गीतले त्याे साझँलाई साह्रै मृदुभाषी बनायाे । साँझ बाेल्थ्याे, साँझ गाउँथ्याे अनि साँझ सङ्गीत उब्जाउँथ्याे । छेउकै बाटाे भएर गुज्रने अधिकांश मानवमनहरू त्याे दृश्य र धूनलाई यत्तिकै छाड्न मान्दैन थिए र गाेजीमा रहेकाे ‘माेबाइल’ झिकेर कैद गर्न भ्याउँथे भने बढीजसाेचाहिँ पङ्क्तिमै रहेर हेरे/सुनेकाे देखिन्थे । तस्बिर खिच्ने र चिखाउने क्रम पनि त कमचाहिँ थिएन ।
सन्दर्भ हाे इन्द्रजात्रा समापनकाे । शुक्रबार साँझ साढे सात बजेकाे हुँदाे हाे । दृश्य भने माथि वर्णन गरिएझैँ नै थियाे । नेपाल यसै पनि संस्कृतिकाे धनी देश । त्यसमा पनि काठमाडाैँ उपत्यका यसका लागि अझै विशेष छ । यहाँ वर्षैभरी जात्रैजात्रा हुन्छ । त्यसमध्येकाे एक प्रमुख जात्रा हाे— इन्द्रजात्रा ।
निकै हर्साेल्लासका साथ मनाइन्छ इन्द्रजात्रा । सबै उमेर समूहका मानिसहरू नाच्छन्/झुम्छन् । ३ दिनसम्म मनाइने याे इन्द्रजात्रामा इन्द्रेणी इन्द्रायणी देवीकाे पूजा-आराधना गरिन्छ । अन्य धेरै ठाउँ याे मनाइँदैन, तर भक्तपुरवासी यसलाई निरन्तरता दिनू आफूहरूकाे ठूलाे जिम्मेवारी सम्झन्छन् । उनीहरूकाे मान्यता याे छ कि— ‘माैलिक संस्कृतिबिना मानिस अपुराे हुन्छन् ।’ उनीहरूले याे जानेरै इन्द्रायणी सरोकार समाज गठन गरी जात्रा मनाउने गर्छन् हरेक वर्ष, जसले जात्राका लागि समन्वय गर्छ र समापनसम्म सक्रियतापूर्वक काम गर्छ ।
०००
इन्द्रजात्राकाे पहिलो दिन इन्द्रेणी इन्द्रायणी देवीकाे मूर्तिलाई पूजा गरेर खौमा (रथ) मा राखिन्छ । त्यस रथलाई पिढ (मन्दिर तलको वस्ती) मा लगेर घुमाइन्छ । त्यहाँ राँगो काटेर बली चढाइन्छ र उपस्थित सबैलाई भोज खुवाइन्छ । बेलुकीपख इन्द्रायणीकाे मूर्तिलाई रथमा राखेर बाजागाजासहित वस्ती डुलाउँदै मन्दिरमा भित्र्याएर जात्रा सकिन्छ ।
बेलुकी ७ बजेबाट शुरू हुने जात्रा राति ११ बजेसम्म चल्दछ । दोस्रो दिन पनि साँखुकोठा, तौमारी, वंशगोपाल, टेखापुखूप हुदै सिद्धपोखरीमा ल्याएर पूजा गरिन्छ । तेस्रो दिन पनि त्यसरीनै बाँकी वस्तीमा घुमाएपछि मूर्तिलाई मन्दिरभित्र राखिन्छ । त्यसपछि इन्द्रजात्रा सकिन्छ । ‘जात्रा हेर्ने मानिसहरूको भीड भएपनि यस कार्यमा उपस्थित संख्या निश्चित हुँदैन । आस्था भएकाहरू आफैँ आउनुहुन्छ । कहिलेकाहीँ भने निकै ठूला संख्यामा उपस्थित हुन्छन् । माैलिक संस्कृतिहरू लाेप हुन दिनुहुँदैन भन्ने नै हाम्राे प्रमुख उद्देश्य हाे,’ समाजका सदस्य लक्ष्मीप्रसाद शङ्गमिखा भन्छन् ।
उनी थप्छन्, ‘जबसम्म हाम्रो संस्कार र संस्कृति रहन्छ । तबसम्म हामी नेपालीहरूको परिचय रहन्छ । कला, संस्कृति, जात्रा अनि अन्य पर्व नै हाम्रो वास्तविक परिचय हाे । यसलाई जाेगाउन हामी सबैकाे कर्तव्य हाे ।’ माैलिक संस्कार-संस्कृतिहरूबिनाकाे मानव समाज फिक्का हुने जिकिर शङ्गमिखाकाे छ । ‘खासरूपमा मानव समाजमा मानवीय क्रियाकलापहरू हुनुपर्छ । त्याे भनेकाे विवेकले गर्ने काम, आसपमा सहयाेग गरागर गर्ने काम, पूर्खाहरूले गरिल्याएका कामहरूलाई निरन्तरता आदि-इत्यादी हुन् । त्यसमा हाम्राे ठूलाे भूमिका रहनुपर्छ । अनि मात्रै हामी नेपालमा बस्ने नेपाली हुन्छाैँ,’ उनले भनेका छन् ।