सन्थाल बालबालिका कक्षा १० नपुग्दै छाड्छन् विद्यालय

विराटनगर । मोरङको जहदा गाउँपालिका वडा नम्बर २ वीरपुरको जहाँ सन्थाल अर्थात् सतारहरूको ठूलो बस्ती छ । यहाँ एउटा सामुदायिक विद्यालयको नामै सन्थाल सामुदायिक विद्यालय राखिएको छ ।

पुरानो र नयाँ वीरपुरका बालबच्चा यही आधारभूत विद्यालयमा पढ्न आउँछन् । सन्थाल आधारभूत विद्यालयको दक्षिण तर्फ विद्यालयसँगै टाँसिएको घर हो ५७ वर्षीय मोतीराम हेमरमको । उनको घरको बलेसीमै छ सन्थाल आधारभूत विद्यालय । हरेक दिन यस विद्यालयमा पढ्न आएका विद्यार्थीको भविष्यलाई हेर्दै आफ्ना छोरीहरूले नपढेकोमा चिन्ता गर्ने मध्येका हुन् उनी ।

भएका चार वटी छोरी मध्ये एउटी माइली छोरीले मात्र म्याट्रिकसम्म पढिन् तर अरूले कक्षा ४ पनि कटाउन नसकेको उनी बताउँछन् । छोरीहरूले नपढेकोमा र आफूले पढाउन नसकेकोमा उनलाई ठूलो पछुतो छ । ‘ठूली छोरी कक्षा ३ नपुग्दै छाडिन्, माइली छोरीले म्याट्रिकसम्म पढेकी छन्, साइँलीले ४ कक्षा पनि पास गर्न सकिन, हेमरमले भने, कान्छी छोरी पढ्दा पढ्दै बिहे गरेर गई ३ वर्ष भइसक्यो ।’

पढाउने मन हुँदा हुँदै पनि पढाउन नसकेको उनी बताउँछन् । आफू मात्र त्यस्तो हैन अरूका बच्चाको अवस्था पनि उस्तै नै रहेको उनले सुनाए । ‘यो स्कुलमा बोर्डिङको जस्तो पढाई नै हुँदैन, पढाई नभएपछि छोराछोरी स्कुल जान मान्दैनन्, स्कुल गए पनि केही जान्दैनन्, उनले विद्यालयलाई देखाउँदै भने, राम्रोसँग पढाई भए त हुन्थ्यो नि, हुँदैन ।’ नपढेको कारणले नै अहिले आफ्ना छोरीहरूले काम पनि नपाएको उनको बुझाई छ ।

पढेलेखेका व्यक्तिलाई कसैले झुक्याउन, ढाँट्न नसक्ने बुझेका उनलाई गाउँघरका धेरै बच्चा विद्यालय नजाने गरेकोमा दुःख लाग्छ । उनको गाउँका १५० बढी घर भएपनि १० घरका बालबालिका घरको आर्थिक समस्या देखाएर विद्यालय जाँदैनन् । विद्यालय भर्ना भएका विद्यार्थीहरू अधिकांशले विद्यालय छाड्ने गरेको तथ्यांकबाट पनि देखिन्छ । उनका छोरी जस्ता धेरैले विद्यालय गए अनि भर्ना मात्र भएर विद्यालय छाडिसके ।

जहदामा सतारकाे संख्या धेरै

नेपालमा नै सबैभन्दा धेरै सन्थाल अर्थात् सतार समुदायको बाहुल्यता रहेको भनिएको जहदा गाउँपालिकाकामा तीनवटा विद्यालयमा सन्थाल विद्यार्थी मात्र पढ्ने गरेको जहदा गाउँपालिकाकी उपाध्यक्ष हन्ना सोरेन बताउँछिन् । सन्थाल आधारभूत विद्यालय, वैरिया मावि, भानुभक्त आधारभूत विद्यालय र आदर्श आधारभूत विद्यालय मिलन चोकमा केही बाहेक अधिकांश सन्थाल समुदायका बालबालिका पढ्छन् ।

न्यून संख्यामा सरकारी सेवामा रहेका यो समुदाय शिक्षाको अवसर नपाउँदा बहिष्करणमा परेको उपप्रमुख सोरेन बताउँछिन् । जहदामा कक्षा १० सम्म मात्र पढ्नेको संख्या १३ सयको हाराहारीमा रहेको हुनसक्ने अनुमान सोरेनको छ । शैक्षिक अवस्थामा अरू पालिका भन्दा यो पालिका सन्थालहरू अलिक केही पढेको जस्तो देखिए पनि विद्यालय आएर भर्ना गर्ने अनि विद्यालय छाडेर हिँड्नेको संख्या धेरै रहेको छ ।

सन्थाल समुदायका बालबालिका कति पढ्छन् र कति सरकारी जागिरमा छन् भन्ने यकिन तथ्यांक छैन । गरिबी, चेतनाको अभाव, सामाजिक सांस्कृतिक अवस्थाले गर्दा विद्यालय गएका बालबालिकाहरू पनि बिस्तारै विद्यालय छाड्ने दर धेरै रहेको दुर्गा माध्यमिक विद्यालयका शिक्षक सूर्यनारायण हस्दा बताउँछन् ।

विद्यालय छाडेर ज्यामी काम

दुर्गा माध्यमिक विद्यालयमा पढ्दा पढ्दै विपेन, उमेश, रविन, सञ्जित, विजय अनिलहरूले एकै पटक विद्यालय छाडे । कक्षा ८ मा पढ्दै गरेका उनीहरूले विद्यालय एकै पटक छाडेर कामको खोजी गर्न थाले । उनीहरू मध्ये अधिकांशले राम्रो काम पाएनन् । विद्यालय छाडेको ३ वर्ष भइसक्दा पनि उनीहरू मध्ये विजयले ट्याम्पो चलाउने गरेका छन् ।

विपेन र अनिल अरिहन्त जुट मिलमा काम गर्छन् । रविन जे काम पायो त्यही गर्न तयार छन् । कहिले अरूको घर बनाउने काममा जान्छन् भने कहले अरूको खेत खन्न पुग्छन् । उनको काम भनेको यही भन्ने छैन दैनिक ज्याला मजदुरी नै हो । उमेश कहिले दिल्ली त कहिले पन्जाब गएर कमाएर ल्याउँछन् । सञ्जितको दैनिकी भनेको खेतीपाती नै हो । विद्यालय जानेको संख्या धेरै रहेको भएपनि आर्थिक अवस्था देखाउँदै विद्यालय छाड्ने धेरै रहेका छन् ।

जहदा गाउँपालिकाको सन्थाल आधारभूत विद्यालयका उर्मिला मरण्डी र हिमान्सु हेमरमले कक्षा ५ मा पढ्दा पढ्दै यसै वर्ष स्कुल छाडिसकेका छन् । ‘कक्षा ५ सम्म पढाई हुने यो विद्यालयमा यो वर्ष २ जना सन्थाल समुदायका बालबालिकाले विद्यालय छाडेका छन्, विद्यालयका प्रधानाध्यापक अशोक साहले भने, हरेक वर्ष विद्यालय भर्ना हुन आएकाहरू २÷४ जनाले विद्यालय छाडिसकेका हुन्छन् ।’

सन्थालको अवस्था

खेती पशुपालन, ज्याला–मजदुरी, माछा मार्ने र स्थानीय बजार हाटमा लगेर बेच्ने यो जातिको विशेषता हो । प्रदेश १ मा सतार अर्थात् सन्थाल समुदायको जनसंख्या ५१ हजार ७ सय ३५ रहेको छ । झापामा यो समुदायको जनसंख्या ३५ हजारको हाराहारीमा रहेको बताइन्छ । झापाको कोरोबारी, हल्दिबारी, कुमरखोद, टाघनडुब्बा, वैगुनधुरा, जलथल, राजगढ, शरणामतीमा यो समुदायको घना बस्ती छ ।

सतार अर्थात् सन्थालमा १२ थरहरू हुने गरेको बताइन्छ । सतार भन्ने शब्दको अर्थ नै बिगारिएको भन्दै सतार शब्द नै छाडेर उनीहरूले सन्थाल लेख्न थालिसकेका छन् । सतार अर्थात् सन्थाल भित्र मुर्म, सोरेन, किस्कु, चोडे, टुडु, मार्डी, बेस्रा, हास्दा, विधिया, पौडियार, बास्के, हेमरम रहेको छ ।

सन्थाल जातीको मुख्य बसोबासको क्षेत्र भनेको झापा जिल्लाको १५ पालिका मध्ये गौरीगंज, गौरादह, झापा गाउँपालिका, बाह्रदशी, हल्दिबारी, भद्रपुर, बिर्तामोड, कनकाई, कचनकवल, कमल गाउँपालिका तथा शिवसत्ताक्षी लगायतका अधिकांश पालिकामा सन्थालको बसोबास रहेको छ । सबैभन्दा कम बुद्ध शान्ति नगरपालिकामा १० घर मात्र रहेका छन् ।

मोरङ जिल्लाको जहदामा सबैभन्दा धेरै यो समुदायको बसोबास छ भने कटहरी, रंगेली, धनपालथान, सुनबर्षी, रतुवामाई र केराबारीमा पनि सन्थाल समुदायको बसोबास रहेको पाइन्छ । आफ्नै छुट्टै भाषा र लिपि भए पनि यो समुदायले नेपाली भाषा प्रयोग गर्ने गर्छन् । केही वर्ष अघिसम्म जमिनदारका रूपमा चिनिने सन्थाल समुदाय अहिले अति सीमान्तकृत जातिका रूपमा रहेका छन् ।

अवसरको खोजी

शिक्षा क्षेत्रमा पछि परेको यो समुदाय बिस्तारै ‘शिक्षाको उज्यालो यात्रा’ तर्फ लम्कने प्रयास गर्दैछ । शिक्षामा निक्कै पछाडि परेको यो समुदायका २ जना सांसद भएका छन् । पहिलो र दोस्रो संविधान सभामा फरक फरक मोरङका जोवा सोरेन र झापाका मोहन टुडु समानुपातिक सांसदबाट प्रतिनिधित्व गरेका थिए । आफ्नो समुदायबाट पनि राज्यका विभिन्न निकायमा प्रतिनिधित्व हुँदै जान थालेको छ ।

सन्थाल समुदायले आफ्ना बालबालिकालाई विद्यालय पठाउन थालेको भएपनि विद्यालयमा टिकाउन समस्या हुने गरेको नेपाल सन्थाल विकास संघ, झापाका अध्यक्ष बडाराम हेमरम बताउँछन् । पढेलेखेकाहरू माथिल्लो तहसम्म पुगेको उदाहरण पनि यो समुदायमा छ । झापाका विश्वदिप बेसरा उपसचिवको पदसम्म पुगेर सरकारी जागिर खाने मध्येका हुन् ।

विश्वदीप सन्थाल समुदायका एक्ला सरकारी अधिकृत हुन् । उनका बाबु सुन्दर बेस्रा नेपाल सन्थाल उत्थान आदिवासी संघका केन्द्रीय अध्यक्ष छन् । बाबु शिक्षक भएकाले विश्व दीपलाई पढाइको वातावरण सहज बनेको हो । २०५६ मा एसएलसी उत्तीर्ण गरे, २०७० मा कानुनमा स्नातक र २०७२ मा लोकसेवाको अधिकृतमा नाम निकाल्न सफल भए । यो समुदायमा एसएलसी उत्तीर्ण गर्नेको संख्या अत्यन्त न्यून रहेको छ ।

आर्थिक रूपमा अधिकांश विपन्न रहेका छन् । विपन्न उनीहरूको शैक्षिक अवस्था कमजोर छ । मजदुरी गर्ने, चिया बगानमा काम गर्ने, हली गोठालो गर्ने, निर्माण कार्यमा काम गर्ने, ट्याक्टर चालकका रूपमा काम गर्नेहरू धेरै छन् । ‘पहिला ठूला जमिनदारहरू अहिले आर्थिक अवस्थामा कमजोर छन्, उनले भने, पञ्चायत कालमा ३ पटक प्रधानपञ्च भएका व्यक्ति पनि अहिले सम्पत्ति सकिएर बगानमा काम गर्नु पर्ने अवस्थामा पुगेका छन् ।’ आर्थिक रूपमा सबल भएका व्यक्तिहरू पनि विभिन्न समयमा आर्थिक रूपमा कमजोर बन्दै गएको अवस्थाको प्रभाव शैक्षिक स्तरमा परेको देखिन्छ ।

अध्यक्ष हेमरमका अनुसार, विकासको मूलधारमा ल्याउन सन्थालहरूका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउँदै आएका छन् । सहजै रोजगारी पाउने खालको शिक्षामा पहुँच पुर्‍याउन राज्यले पहल गर्नु पर्ने हेमरम बताउँछन् । समाज परिवर्तनको मूल भनेको शिक्षा भएकोले राज्यको आँखा शिक्षामा पुग्नु पर्ने यो क्षेत्रको बुझाई छ ।तथ्यांकविहीन स्थानीय तह

पालिकामा सन्थाल समुदायको बालबालिकाको अवस्था, भर्ना दर र सिकाई उपलब्धिको बारेमा कुनै सरकारसँग पनि तथ्यांक छैन । सन्थाल अर्थात् सतार भनेर नै तथ्यांक राख्न मिल्ने खालको नभएको कारण विद्यालयमा पढ्ने बालबालिकाको तथ्यांक समेत यकिन नभएको जहदा गाउँपालिका शिक्षा शाखाका प्रमुख दीपक खनालले बताए । ’ईमिस सफ्टवेयरमा ब्राह्मण, क्षेत्री, दलित, जनजाति र अन्य भनेर आउँछ, उनले भने, त्यो बाहेकको तथ्यांक हामीसँग देखिँदैन ।’ तथ्यांक नै नहुँदा विद्यालयमा भएका बालबालिका माध्ये सन्थाल समुदायका कति विद्यालय बाहिरिए र कति विद्यार्थीले कति कक्षासम्म पढेर छाड्छन् भन्ने यकिन छैन ।

यो समस्या जहदा गाउँपालिकाको मात्र हैन, झापा, मोरङ र सुनसरी जिल्लाका सबै पालिकाको हो । सन्थाल समुदायको बसोबास रहेको कुनै पनि पालिकामा सन्थाल बालबालिकाको अवस्था र सङ्ख्यक यकिन छैन । झापाको कनकाई नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव पीताम्बर गौतमले सन्थाल समुदाय भित्र विद्यालय आएर बाहिरिने दर बढी रहेको बताए । यति नै तथ्यांक नभए पनि १० कक्षा पुग्दा नपुग्दै ७० प्रतिशत भन्दा माथि बाहिरिने गरेका छन् ।

यसरी विद्यालय छाड्नुको कारण भनेको यिनीहरू आयआर्जनमा लाग्ने गरेको उपसचिव गौतमले बताए । यस्ता विद्यार्थीलाई विद्यालयमा टिकाई राख्नको लागि पालिकाले एकमुष्ट ५ हजार छात्रवृत्ति दिएको भएपनि त्यो पनि प्रभावकारी रूपमा देखिएको छैन । कनकाईले विद्यार्थीलाई विद्यालयसम्म ल्याउनका लागि छात्रवृत्ति सँगै पोसाकहरू पनि वितरण हुने गरेको जनाएको छ ।

साक्षरता दर

सतार अर्थात् सन्थाल समुदायको साक्षरता दर कति हो भन्ने नभए पनि करिब ४० देखि ५० प्रतिशत मात्र रहेको बताइन्छ । आदिवासी जनजाति आयोगले तयार पारेको प्रतिवेदनले राउटे, ल्होपा, चेपाङ, धानुक, राजवंशी सतार र झाँगडको साक्षरता दर ४० देखि ५० प्रतिशतको हाराहारप्मा रहेको उल्लेख गरेको छ । सन्थाल समुदायको साक्षरता दर ४८.३० प्रतिशत, आधारभूत तह कक्षा १ देखि ८ सम्म ८५.९० प्रतिशत, कक्षा ९ र १० मा १३.७७ प्रतिशत रहेको छ भने उच्च शिक्षा र त्यो भन्दा माथि ०.३३ प्रतिशत रहेको आदिवासी जनजाति आयोगको २०७७ ।०७८ को प्रतिवेदनमा उल्लेख छ ।

शैक्षिक गुणस्तर सुधारको लागि सन्थाल समुदायलाई केन्द्रित गरेर बजेट तथा कार्यक्रम नभए पनि पालिकाहरूले करिब २ करोडको हाराहारीमा शैक्षिक सुधारको लागि बजेट छुट्याएको पाइएको छ ।

जहदा शिक्षा बजेट

संघीय सरकारले उपलब्ध गराएको सशर्त अनुदानमा तलब ५ करोड ५५ लाख रहेको छ भने सशर्त संघीय सरकारको तलबको ७ करोड ७९ लाख रहेको छ । गाउँपालिकाबाट शिक्षामा छुट्याएको रकम २ करोड ३५ लाखमा करिब १ करोड तलबमा खर्च गर्ने र बाँकी १ करोड ३५ शैक्षिक सुधारमा लगाउने गरी बजेट व्यवस्था गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *