बिदामा ‘फिसिङ्ग’ को मज्जा ! (भिडिओसहित)
काठमाडौँ । भक्तपुरको सरस्वतीखेलबाट झन्डै १० मिनेट हिँडेपछि बाँसघारी पुगिन्छ । बाँसघारी हुँदै अगाडि बढ्दा चराचुरुङ्गीका चिरबिर सुनिन थाल्छ । केही पर-पर देखिने पहाडहरू निकै सुन्दर देखिन्छन् । केही तल बयेली खेलिरहेका धानका बालाहरूले भेटिन्छन् ।
त्यसपछि भेटिन थाल्छ— विभिन्न रङका पोखरीहरू । जहाँ पालिएका छन् विभिन्न प्रजातिका माछाहरू । रातो, हरियो, पहेँलो अनि विभिन्नखाले पोखरीहरूमा माछाहरू उफ्रिरहेका हुन्छन्, नाचिरहेका हुन्छन् । पोखरी वरिपरि चोर बकुल्लाहरूको पनि कमी छैन । उनीहरूले माछासँग खेलेको छोइडुम हेर्दा निकै मज्जा आउँछ ।
त्यहाँ पुग्दा प्रायः केही न केही मान्छेहरू फिसिङ्ग (माछा मार्ने काम) गरिरहेका भेटिन्छन् । विशेषगरी त्यहाँ बिदा मनाउन मान्छेहरू फिसिङ्गमा आउने गरेको सञ्चालक बताउँछन् ।
यो पङ्तिकार त्यहाँ पुग्दा केही फिसरम्यान (माछा मार्ने मान्छे) हरू भेटिए । उनीहरू माछाले कतिबेला चारो निल्छ भनेर पर्खाइमा थिए । केहीले मारेका माछा देखाउँदै थिए । उनीहरूले ५ देखि ७ वटासम्म माछा मारेका थिए । तीमध्येका एकजना सागरजीत सिंह भन्छन्, ‘छुट्टिको समयमा यसो साथीसङ्गीसँगै बसेर रमाइलो गर्न फिस्सिङ गर्न आएका हौँ । यहाँ निकै रमाइलो हुन्छ । बिदा रमाइलोगरी बित्छ । सदुपयोग राम्रो हुन्छ ।’
त्यहाँ गजबखाले व्यवस्था छ— आफैँ माछा मारेर लान सकिने । सुन्दर वातावरणमा माछा मारेर लान पाउँदा ग्राहक पनि रमाउँछन् । सिंह थप्छन्— ‘एक किलो माछा मारिसक्दा रहर पुग्छ । माछा पर्दा त निकै मज्जा आउँछ । यो सेवाचाहिँ यहाँको निकै राम्रो छ ।’
त्यसबाहेक त्यहाँ अन्य सेवा-सुविधाहरू पनि छ । त्यहाँ माछा खान र मारिसकेको माछासमेत पाइन्छ । विभिन्न प्रयोजनका साथ त्यहाँ ग्राहकहरू पुग्छन् । कोही आफैँ मारेर ल्याउने उद्देश्यले पुग्छन् भने कोही खान जान्छन् त, कोही खान मात्रै जान्छन् ।
सबैभन्दा रोचक कुरा त्यहाँका माछा पालकले माछासँगै पशुपालन पनि गरेका छन् । साथमा त्यहाँ ‘अर्गानिक’ तरकारी पनि पाइन्छ । व्यवसाय फस्टाउँदै गएको छ । तर, कहिलेकाहीँ पानी पर्दा भने भलपानी पोखरीमा पसेर माछा मर्ने र ठूलो क्षति बेहोर्नुपर्ने त्यहाँका कर्मचारीहरू बताउँछन् ।
भिडिओ हेर्नुस्: