चुनाव नजिकिएसँगै लालपुर्जा राजनीति
कानेपोखरीका ६७ जनालाई पुर्जा बाँडियो
विराटनगर । सरकारले मोरङको कानेपोखरीको वडा नम्बर ६ का ६७ जना भूमिहीन सुकुम्वासी तथा भूमिहीन दलित परिवारलाई धनी पुर्जा वितरण गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सुकुम्वासी परिवारलाई धनीपुर्जा वितरण गरेकी हुन् ।
निर्वाचन नजिकिँदै गर्दा भोटको राजनीति गर्न पुर्जालाई अस्त्र बनाउन थालिएको छ । सरकारले गत वर्ष कात्तिकदेखि हालसम्म ४९ हजार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरेको दाबी गरिएको छ । लालपुर्जा वितरण समारोहलाई सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री श्रेष्ठले लालपुर्जा निर्वाचनका कारण धनी पुर्जा वितरणको काम नरोकिने दाबी गरिन् ।
कात्तिकको १६ गते महोत्तरीको रामगोपाल गाउँपालिकाबाट सुरु गरेको धनीपुर्जा वितरण हालसम्ममा ४९ हजारलाई वितरण गर्न सकिएकोमा उनले गर्व गरिन् । उनले पुर्जा बाँड्ने कुरा राज्यको दायित्व भएको पनि बताइन् । आफूले कुनै सदाशयता, दया, मायाका कारण आएर पुर्जा नबाँडेको दाबी गरेकी मन्त्री श्रेष्ठको थियो। मन्त्री श्रेष्ठले यो काम चुनाव वा कुनै पनि बहानामा रोकिनु नहुने पनि बताइन् ।
कार्यक्रममा सुकुम्वासी आयोगका अध्यक्ष केशव निरौला, उपाध्यक्ष नहेन्द्र खड्का, आयोग मोरङकी अध्यक्ष सुशीला घिमिरे (सामना), कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमति इङ्नाम, उपाध्यक्ष भोलाअधिकारी लगायतको उपस्थिति थियो । कार्यक्रमस्थलमै भूमिहीन सुकुम्वासी २७ जना र भूमिहीन दलित ९ जनाले जग्गाको धनीपुर्जा पाएका छन् । अन्यलाई तत्काल वितरण गर्ने जनाइएको छ।