फेवाताल किनारमा घर ढलान गरिरहेको रेडी मिक्स्चर महानगरको नियन्त्रणमा

पोखरा । पोखराको फेवाताल किनारमा मापदण्डभित्रको जमिनमा घर ढलान गरिरहेको रेडी मिक्स्चर पोखरा महानगरले नियन्त्रणमा लिएको छ । शनिबार ताल क्षेत्रको रेकी गरेर अवैध संरचना नबनाउन निर्देशन दिँदा समेत अटेर गरेपछि मिक्स्चरको मेसिन नै नियन्त्रणमा लिइएको हो ।

पोखरा ६ खहरेस्थित दीपेन्द्र महर्जनको घरको तेस्रो तला ढलान गरिरहेको ग १ क ४८२२ नम्बरको रेडी मिक्स्चर आइतबार नियन्त्रणमा लिइएको महानगरले जनाएको छ । मेयर धनराज आचार्यले सर्वोच्च अदालतले तालको मापदण्ड ६५ मिटर भनेकोले उक्त जमिनमा बनेका सबै संरचना अवैध हुने बताएका छन् ।

महानगरकै एक रिपोर्ट अनुसार करिब ५ सय घर टहरा मापदण्ड विपरित बनेका छन् । त्यसो त, अघिल्लो जनप्रतिनिधिको अन्तिक बैठकमा तालको मापदण्ड ३५ मिटरमा झारिएको छ । तर उक्त निर्णय विरुद्ध सर्वोच्चमा अर्को मुद्दा छ । मुद्दा किनारा नलाग्दासम्म तालको मापदण्ड ६५ मिटर नै कायम गराउन सर्वोच्चले अन्तरिम आदेश दिएको छ ।

६५ मिटरभित्र संरचना नबनाउन महानगरले शनिबार सूचना जारी गरी निर्देशन दिँदा समेत अटेर गरेपछि नक्सा पास नगरी घर निर्माण नरोकेको महानगरका सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजंग केसीले जानकारी दिए । महर्जनको घर ढलान भइरहेको सूचना प्राप्त भएपछि नगर प्रहरीको टोलीले सामान जफत गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *