लुम्बिनी प्रदेशमा आत्महत्या न्यूनीकरण अभियान शुरू
रुपन्देही । लुम्बिनी प्रदेशमा आत्महत्या न्यूनीकरण अभियान शुरू गरिएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले आज बुटवलमा आयोजना गरेको आत्महत्या रोकथामसम्बन्धी देशव्यापी सचेतना कार्यक्रममा यो अभियानको घोषणा गरिएको हो ।
अभियानको शुभारम्भ गर्दै प्रदेश आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले आत्महत्या सामाजिक समस्या बन्दै गएको बताए । आर्थिक तथा विभिन्न पारिवारिक कारण व्यक्तिले आत्महत्याको बाटो रोज्ने गरेकाले सचेतना जगाएर यसको नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ ।
मन्त्री शर्माले यसको नियन्त्रणका लागि सङ्घ र प्रदेश मिलेर निश्चित योजना बनाएर अभियानका रुपमा अघि बढाउन आवश्यक रहेको बताए। कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्यायले नेपालमा आत्महत्याको दर उच्च रहेको तर लुम्बिनीमा यो वर्ष केही कम देखिएको बताए ।
उनका अनुसार लुम्बिनीमा यो वर्ष एक हजार ३४१ र गत आर्थिक वर्ष एक हजार ४०८ आत्महत्याका घटना रहेको जानकारी गराए । “आफैले आफैँको हत्या गर्नु आत्महत्या हो । पारिवारिक र सामाजिक तनावका कारण व्यक्तिले आत्महत्या गर्छ”, उनले भने।
आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले आत्महत्या मन व्यवस्थापनसँग जोडिएको विषय भएकाले योग र ध्यानबाटै यसको नियन्त्रण हुने बताए ।
प्रहरी वरिष्ठ उपरीक्षक सिद्धी विक्रम शाहले आत्महत्या व्यक्तिको सोचको परिणाम भएकाले सोचमा परिवर्तन ल्याउन आवश्यक रहेको बताए । कार्यक्रममा मनोरोग विशेषज्ञ डा असिम रेग्मीले कसैले फरक व्यवहार देखायो वा आफूलाई हानि पु¥याउने काम ग¥र्यो भने त्यसलाई सामान्यरुपमा नलिन आग्रह गरे।
प्रहरीका अनुसार आत्महत्या गर्नेमा नेपाल सातौँ स्थानमा रहेको छ । लुम्बिनी प्रदेशमा सबैभन्दा बढी रुपन्देहीमा आत्महत्याका घटना रहेको प्रहरीको तथ्याङ्क छ । लुम्बिनीमा सबैभन्दा बढी १६ देखि २५ वर्ष उमेर समूहका व्यक्तिले आत्महत्या गरेको पाइएको छ ।
कसैले मर्न वा मार्न चाहेको कुरा गर्नु, आत्महत्या गर्ने मध्यमको खोजी गर्नु, निरास हुनु, रिसाउनु, झर्किनु र अचानक फरक व्यवहार देखाउन थाल्यो भने त्यस्तो व्यक्तिमा समस्या छ भन्ने बुझ्नुपर्ने प्रहरीको भनाइ छ ।
यो अभियानअन्तर्गत, स्थानीय तह, सामाजिक सङ्घसंस्था, विद्यालय तथा सबै सरोकारवालासँग समन्वय गरिने प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए ।