संविधान दिवस : २२ सय बिरुवा रोपियो, जनसहभागिता नबुझ्ने विराटनगर !

विराटनगर । सोमबार बिहान विराटनगरको रानीदेखि बरगाछीसम्म लामबद्ध कर्मचारी र जनप्रतिनिधिहरू देखिन्थे । कोही हातमा राष्ट्र झण्डा बोकेका कोही बिच भागमा फुल तथा बिरुवा रोप्दै गरेको दृश्य हेर्दा निक्कै लोभलाग्दो थियो । प्रदेश १ सरकारको अगुवाइमा विराटनगर महानगरपालिकासँगको समन्वयमा संविधान दिवसको अवसर पारेर बृहत् वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको थियो ।

८ किलोमिटर वृक्षारोपण गरी रहँदा वृक्षारोपण गर्नेमा राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधि बाहेक स्थानीयको उपस्थिति देखिएन । नागरिकको तर्फबाट विराटनगरमा भएको यति ठुलो कार्यक्रममा सहभागिता अत्यन्त कमजोर थियो । यो दृश्य हेर्दा लाग्थ्यो संविधान दिवस मनाउने काम राष्ट्र सेवकको मात्र हो, नागरिकको कुनै भूमिका नै छैन ।

२०६२/०६३ को जनआन्दोलनको जगमा बनेको नेपालको संविधान २०७२ जारी भएपछि नेपाल विधिवत् रूपमा गणतन्त्रमा प्रवेश गर्‍यो भने संविधानको बलमा सङ्घीयता कार्यान्वयनमा गयो । दिवस मनाउँदै गर्दा विराटनगरको सडकभरि वृक्षारोपण गर्न जानेमा राष्ट्रसेवक, मन्त्री र जनप्रतिनिधि बिरुवा रोप्दै गर्दा नजिकै रहेका स्थानीय रमिते देखिन्थे ।

कार्यक्रममा सहभागी भएका एक मन्त्रीले विराटनगरमा जनसहभागिताको कुरा अत्यन्त कमजोर देखिएको भन्न भ्याए । ‘राज्यले यो र त्यो गरेन भनेर गुनासो गर्नभन्दापनि नागरिकले आफ्नो भूमिका पनि बुझ्नु पर्छ,’ ती मन्त्रीले भने, ‘यो अभियान अर्थात् विराटनगरको सौन्दर्यीकरण गर्ने कुरामा जनसहभागी मुख्य विषय हो ।’

बिरुवा रोप्न फरक फरक क्षेत्र
बिरुवा रोप्नको लागि विभिन्न क्लष्टरहरु छुट्याईएको थियो । विराटनगर महानगरपालिकाले बरगाछिदेखि विराटनर्सिंङहोम चोकसम्म, त्यहाँदेखि दक्षिण शनीमन्दीरसम्म नेपाली शेना, शनिमन्दिर देखि रोडशेष चोकसम्म निजामती कर्मचारीले वृक्षारोपण गरेका थिए ।

रोडशेष चोकदेखि दक्षिण डिग्री क्याम्पससम्म ७ वटा ब्लक विद्यार्थी र स्काउटले वृक्षारोपण गरे भने नेपाल-भारत सीमादेखि डिग्री क्याम्पससम्म नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले वृक्षारोपण गरेका छन् । विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले विराटनगरगतलाई सौन्दर्यीकरण र हरियाली बनाउने पहिलो अभियान भएको बताइन् । वृक्षारोपण मात्र गरेर नहुने बताएकी कार्कीले भाेलिका दिनमा बैठक बसाएर यसको संरक्षणको मोडालिटी बनाइने बताइन् ।

विराटनगरको बरगाछीदेखि भन्सारगेट रानीसम्म करिब ८ किलोमिटर मध्ये ५ किलोमिटरमा वृक्षारोपण गरिएको छ । संरक्षणका लागि महानगरसँग समन्वय भइरहेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । वृक्षारोपण भएका बिरुवाहरू केही समय संरक्षण गरेर सम्बन्धित ठाउँको अगाडीको बिरुवा संरक्षणको दायित्व नजिकैका व्यवसायी संस्था, बैक तथा वित्तीय क्षेत्रलाई जिम्मा लगाउने तयारी भएको प्रजिअ दाहालले बताए । प्रजिअ दाहालले नागरिक सहभागिताको विषय महानगरपालिकाले आव्हान गरेको अवस्थामा पनि कमजोर भएको बताए । ‘राजनीतिक दलहरूलाई पत्र पठाइएको थियो,’ उनले भने, ‘जनसहभागिता कमजोर भयो, नागरिक सहभागिताको कुरा वडा र महानगरपालिकाको हो ।’

प्रदेश १ आन्तरिक मामिला मन्त्रालयको समन्वय, जिल्ला प्रशासन कार्यालय मोरङको संयोजन र विराटनगर महानगरपालिकाको आव्हानमा विराटनगरमा २२ सय बिरुवा रोपिएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले विराटनगरको वृक्षारोपण भव्य भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *