बजार अनुगमनलाई प्रभावकारी बनाउने सहमति, व्यापारी भन्छन्- ‘ठग्ने फुर्सद छैन’
विराटनगर । बजार अनुगमनलाई प्रभावकारी बनाउन तीन तहका सरकारमा प्रतिनिधित्व गर्ने निकाय एक भएका छन् । पछिल्लो समय बजारमा बेथिति बढेको भन्दै उपभोक्ताबाट गुनासो आउन थालेपछि संवाद समूह प्रदेश नं. १ ले विराटनगरमा आयोजना गरेको संवादको क्रममा जिल्ला प्रशासन, विराटनगर महानगरपालिका, आन्तरिक राजश्व, वाणिज्य, नापतौल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसहितका क्षेत्रगत कार्यालयहरूले संयुक्तरूपमा बजार अनुगमन गर्ने प्रतिबद्धता जनाएका हुन् । बजार अनुगमनलाई प्रभावकारी बनाउन उपभोक्तावादीसहित मोरङ व्यापार संघ र विराट व्यापार संघले सहयोग बताएका छन् ।
बजारको बेथिती रोक्नको लागि कानूनी कारबाही मात्र समस्याको समाधान नभएकोले उपभोक्ता, व्यापारी, सरकारी संयन्त्र सबै सचेत भएर बजारलाई व्यवस्थित बनाएर जाने बारेमा पनि छलफल भएको छ । व्यवसायीहरूभित्रैबाट बजारको अनुगमन गरी स्वःअनुशासित हुने व्यवस्थाको परिपालना गराउन व्यवसायी संस्थाहरूले भूमिका खेल्ने तथा व्यवसायीले कानूनी मुल्य र मान्यताको पालना गर्ने, उपभोक्तावादीले भ्रामक सूचना नदिइ तथ्यपरक सूचना दिने पनि उनीहरूले प्रतिबद्धता जनाएका छन् ।
तरकारी, माछा-मासुलगायतका खाद्य वस्तुलक्षित अनुगमनलाई प्रभावकारी बनाइ सचेतनाका कार्यक्रम संचालान गर्नु पर्ने मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले बताए । उनले भारतीय बजारमा जाने उपभोक्तालाई ठगिनबाट जोगाउन [चिनी, लत्ता कपडा, ड्राइ फुड्सलगायत सामाग्री] का लागि सरकारले ट्याक्स नीतिलाई नागरिक लक्षित बनाई परिमार्जन गरेर जानुपर्ने समेत बताएका छन् । स्थानीय सरकारले बजार अनुगमन गरेको समयमा संघीय कार्यालयका प्राविधिक जनशक्ति उपलब्ध गराइ बजार अनुगमनलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालयले समन्वय गर्ने पनि भनिएको छ ।
विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले पालिकाको तर्फबाट बजार अनुगमनका कामहरू भइरहे पनि एकजना वा एउटा निकायको बलमा मात्र बजारको समस्या समाधान नहुने बताइन् । ‘अहिले पालिकाको तर्फबाट केही अनुगमनको प्रयास भएको छ । बजार अनुगमन गर्ने हाम्रो आफ्नै खालको टिम छ, समन्वयमा बजारमा हुने अवैध गतिविधिलाई रोक्ने प्रयास भइरहेको छ,’ उनले भनिन् ।
आन्तरिक राजश्व कार्यालयका प्रमुख सूर्य पाखरेलले बिलिङ सिस्टम सन्तोषजनक नभएको बताए । ‘खरिद-विक्री बिल पनि दिएको हुँदैन भने त्यस्ता व्यापारी राम्रा हुँदैनन् भन्ने हाम्रो बुझाइ हो । कानूनअनुसार बिल जारी गर्नुपर्छ, त्यसो नगरेको भएमा कारबाही हुने गरेकाे छ,’ उनले भनेका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख राजकुमार रिजालले अहिले बजार राम्राे नभएपनि नराम्रै पनि नरहेकाे बताए । मुख्य समस्या तररकारी र माछा मासुका पसलहरूमा देखिएकोले यसलाई कानूनी दायरामा ल्याउनुपर्ने अवस्था रहेको उनकाे भनाइ छ । अहिले देखिएका सडक खानाहरू पनि खानै नहुने खालको रहेको उनले बताए ।
नापतौल कार्यालय विराटनगरका प्रमुख मनोजकुमार पोखरेलले नापतौलमा समस्या आएको बेलामा उद्योगमा समेत गएर अनुगमन गर्ने गरिएको बताए । उनले भनेका छन्, ‘कहिलेकाहीँ त्यस्ता समस्या आउने गरेको छ । महिनामा ५/६ वटा फर्महरूको अनुगमन भएको छ ।’ उनले उद्योग, ग्यासलगायतको क्षेत्रमा पनि नियमित अनुगमन भइरहेको उनले बताए ।
‘कसैलाई ठग्ने फुर्सदमा व्यापारी छैनन्’
विराट व्यापार संघका अध्यक्ष नरेशकुमार खत्रीले बजारमा सबै व्यापारी नराम्रो पनि नभएको र सबै राम्रो पनि नभएको बताउँछन् । अहिले बजारमा म्याद गुज्रिएका सामान विक्रिवितरण भइरहेको छ भन्ने कुरामा सबैको ध्यान जानुपर्ने बताए । उनले सबैजना पारदर्शीरूपमा व्यापार गर्ने र मूल्यसुची राख्न व्यवसायीलाई लगाउने कामहरू भएपनि कतिपय व्यापारीहरूले नटर्ने समस्या पनि रहेकोले त्यस्ता समस्या समाधान गर्दै जाने उनले बताए ।
मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले पहिलाको जस्तो तौलमा समस्या नभएको बताइन् । अहिले बजारमा जुत्ता, चम्पल, कुर्त-सुरुवाल र साडीमा बढी मुल्य राखिएको हुनसक्ने बताए । त्यसको कारण भनेको चोरी पैठारी भएर आउने सामानहरू हुने उनको तर्क छ । ‘बजारमा धेरै व्यापारीमध्ये एक दुई व्यापारीको त्रुटि हुन सक्छ। अहिलेको व्यस्त समयमा कसैलाई ठग्ने फुर्सदमा व्यापारी छैनन् ।’
उपभोक्तालाई ठग्नको लागि समय, दिमाग खर्चिनुपर्ने हुन्छ । तर, यो झमेलामा फस्नु हुँदैन भन्नेमा व्यापारीहरू देखिएको रिजाल बताउँछन् । उनले राज्यको पोलिसी नै गलत भएको कारण कुर्ता सुरुवाल र साडीमा उपभोक्ताले बढी मूल्य तिर्नुपरेको बताए ।
‘बजारमा अनुचित क्रियाकलाप भएको छ’
उपभोक्तावादी कृष्णप्रसाल भण्डारी मार्सेलीले अहिले उपभोक्ता सचेत नहुने हो भने हरेक ठाउँमा ठगिने अवस्था रहेकाे बताउँछन् । ‘उपभोक्तालाई सचेत बनाउने दायित्व उत्पादक, वितरक र राज्यको भएको उनले बताए । बजारमा अनुचित व्यापारिक क्रियाकलाप भएको छ। त्यसमा उपभोक्ता सचेत देखिएका छैनन्, मूल्यमा अधिकतम ठग्ने काम भएको छ । कानूनद्वारा निषेधित क्रियाकलाप भएका छन्, व्यवसायीले मूल्य र मान्यताको व्यापार गर्नु पर्छ,’ उनले भनेका छन् ।
उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेल सामान खरिद गर्दा व्यापारीले बिल दिनुपर्नेमा बिल नै नदिने गरेको गुनासो गरे । बिलभन्दा बढी मूल्य लिएको पाइएमा कारबाही हुने भएकोले बजार अनुगमनमा जाँदा खरिद र विक्री बिल लिने हो भने ९० प्रतिशत व्यापारी जरिवानामा पर्ने उनको दाबी छ ।