उम्मेदवार सिफारिस उल्ट्याइएकाे भन्दै सर्लाही कांग्रेसमा असन्तुष्टि
काठमाडौँ । नेपाली कांग्रेस सर्लाहीको क्षेत्रले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सिफारिस गरेको उम्मेदवारीलाई जिल्ला समितिले उल्टाइदिएको भन्दै नेता तथा कार्यकर्ताहरूले असन्तुष्टि पोखेका छन् ।
मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै जिल्ला कार्य समितिमा रहेका नेता तथा कार्यकर्ताहरूले पार्टीको विधान विपरीत कार्य गरेको भन्दै असन्तुष्टि पोखेका हुन् । उम्मेदवार सिफारिसमै विधानविपरित गतिविधि भएको भन्दै निर्वाचनमा पार्टीले व्यहोर्ने क्षतिको जिम्मा नेतृत्व स्वयमले लिनुपर्ने उनीहरूको चेतावनी छ ।
पार्टीका महाधिवेशन प्रतिनिधि प्रमोद बरालले विधि र विधानलाई उल्लंघन गरेर जिल्ला कार्य समितिले केन्द्रमा उम्मेदवारको नाम पठाएको भन्दै असन्तुष्टि व्यक्त गरे । जिल्ला समितिले क्षेत्रीय समिति र प्रदेश समितिले प्रस्ताव गरेको नाम हटाएर आफन्त, जुनियरहरूलाई बिपीको सिद्धान्त मिचेर सिफारिस गरेको उनको भनाई छ ।
यसैगरी, अर्का महाधिवेशन प्रतिनिधि शिव गुर्माछानेले धेरै पार्टीमा खेमाको बारेमा विषय उठान हुँदै आएको भन्दै आफूहरू विशुद्ध एकता, आगामी चुनावमा पार्टीलाई जिताउने र सफल गराउनको लागि विधि र विधानअनुरूप गतिविधि हुनुपर्नेमा जोड दिएको बताए ।
सर्लाही कांग्रेस सभापति सुरेन्द्र प्रसाद सिंहले क्षेत्रबाट सिफारिस गरेर पठाएको डा. अमरेश कुमार सिंहको नाम काटेपछि त्यहाँ विवाद चुलिएको थियो ।