दुर्गाबहादुर-नेत्रबहादुरहरूलाई ‘झरी’ले भिजाउँदैन, पोल्छ !

काठमाडौँ । दुर्गाबहादुर खड्का बिहानै भक्तपुरकाे सानो ठिमीबाट काठमाडौँको वसन्तपुरका लागि गाडी चढ्छन् । नाम्लो कहिल्यै नछाड्ने दुर्गाबहादुर वसन्तपुर दरबार परिसरमा भारी बोकाउनेहरूको पर्खाइमा तड्पिरहन्छन् । उनले यो काम गएकाे २५ वर्षयता गरिरहेका छन् । समय फेरियाे, तर उनकाे दैनिक फेरिएकाे छैन । जीवनै कहाँ फेरियाे र उनकाे ? ‘यत्तिका वर्ष यही काम गर्दै आएँ । दुःखजिलो गर्ने बानी परेको छ । दैनिकी फेरिएको छैन,’ उनी सुनाउँछन् ।

उनको परिवार ठूलो छ । ७ जना छोराछोरी छन् । उनीहरू आफैँ कमाउने भइसकेका छैनन्, उनीहरूकाे भागसँग दुर्गाबहादुर दिनभरी जाेतिन्छन् । तर पनि परिवार सहजरूपमा धानिँदैन । यही दु:ख छ दुर्गाबहादुरलाई । दु:खहरूकाे खालबाट उनी बाेल्छन्, ‘काम नपाउँदा शून्य हात घर फर्किनुपर्दाजत्ति नमीठाे जिन्दगीमा कहिल्यै हुँदैन ।’  उनका ४ छोरी र ३ छोरा छन् । उनी दुःख सुनाउँछन्, ‘हाम्रो आम्दानी यही मात्रै हो । छोराछोरीहरू सानै छन्, उनीहरू कमाउन सक्ने भइसकेका छैनन् । कमाउने मैले नै हो । यसैले जसाेतसाे परिवार धान्दै आएकाे छु ।’

दुर्गाबहादुरको कमाइको आकडा ठूलो छैन । उनले बढी कमाए भने १००० रुपैयाँसम्म कमाउँछन् । कहिलेकाहीँ त उनी खाली हात घर फर्किनुपर्छ । खाली हात फर्किनुपर्दाकाे क्षण उनी भन्न सक्दैनन्, बुझ्नेले उनकाे अनुहार पढेर बुझ्लान् । याे पङ्क्तिकारले भने सायद केही हदसम्म बुझ्याे हाेला । दिनभरी काम गरेर पनि परिवार पाल्न धौ-धौ पर्ने दुर्गाबहादुर आधा दिनमै झर्ने झरीले पाेल्छ, भिजाउँदैन । २०० देखि १००० सम्म सरदर कमाउने उनी भन्छन्, ‘पानी पर्दा काम पाइँदैन, ओत लागेर बस्नुपर्छ । सामानहरू भिज्ने भएकाले काम पाइँदैन । त्यो भएर काम नहुँदा चिन्ता लाग्छ ।’

अर्का मजदूर नेत्रबहादुर श्रेष्ठको अवस्था पनि दुर्गाबहादुरको भन्दा फरक र पृथक छैन । हुन पनि उनीहरूले प्रतिनिधित्व गर्ने समाज र शहर उही हाे । उनीहरूकाे दिनचर्या पनि त कहाँ फरक छ र ? दु:ख उही छ, संघर्ष उही, यसपछि साेच्ने तरिका, बाँच्ने तवर र मानसपटलमा घुस्ने सन्दर्भहरू पनि उही । नेत्रबहादुरलाई पनि त दुर्गाबहादुरलाई जस्तै झरीले पाेल्ने मात्रै गर्छ ।

३ छोराको बाउ नेत्रबहादुरलाई भारी बोकेर परिवार पाल्न सहज पटक्कै छैन, तर उनलाई बानी भने परिसकेकाे छ । भारी बाेकेर उनी खान-लाउनका लागि मात्रै जुटाउँदैनन्, पढाइ खर्च पनि जुटाउँछन् । उनलाई आफूलाई जस्तै छाेराछाेरीहरूले दु:ख गर्न नपराेस् भन्ने हर्दम लागिरहन्छ । उनी भन्छन्, ‘हामीले नपढेर दु:ख पायाैँ, छाेराछाेरीहरूले हामीलेझैँ दु:ख नपाऊन् भन्ने लाग्छ ।’

तर, कहिलेकाहीँ घरमा एक पैसा पनि नहुँदा भने निकै गाह्राे परिस्थितिकाे सामना गर्नुपर्ने अनुभव बर्कारार छ नेत्रहादुरसँग । ‘कहिलेकाहीँ निकै गाह्राे हुन्छ । खानसमेत बाँकी खानुपर्ने हुन्छ । पढाइ खर्च कहाँ पुगाेस् । तै पनि म सधैँ प्रयासरतचाहिँ हुन्छु,’ उनी भन्छन् । उनी काठमाडाैँका विभिन्न ठाउँहरूमा भारी बाेक्ने गर्छन् । उनकाे पनि कमाइ उही बढीमा ९ सय, हजारसम्म हुन्छ । तर, कहिलेकाहीँ दिनभरी झरी परेर काम नपाउँदा भने उनलाई भक्कानाे फुटेर आउँछ, उनी सम्झन्छन्— ‘कहिलेकाहीँ १ पैसा पनि कमाइ हुँदैन । यसपछि चिनेका साहुहरूबाट बाँकी लिएर परिवार पाल्नुपर्ने हुन्छ ।’

आफूहरूका लागि खासगरी वर्षायाम बढी चिन्ताको समय हुने गरेको अनुभूत नेत्रबहादुरलाई छ, भन्छन्— ‘पानी पर्नासाथ काम दिनेहरू पनि घरमै रहन्छन्, सामान भिज्छ भन्ने चिन्ताले उनीहरूले कामै दिँदैनन् । त्यसपछि हाम्रो गुजारा चल्न गाह्रो हुन्छ ।’

०००

रुझ्न र भिज्न म नपराउनेहरूका लागि वर्षा/झरीभन्दा गजब के होला र ? साहित्यकारहरूलाई पनि वर्षा/झरी खुब मन पर्छ । उनीहरू यसलाई ‘एक निरन्तरता’को संज्ञा दिन्छन् । तर, कुनै पनि विषय, सन्दर्भ र चिज सबैका लागि खास हुँदैन । जसरी मजदूरहरूका लागि वर्षा खास हुँदैन, झरी खास हुँदैन ।

खासगरी नाम्लोको सहाराले जीवन धान्ने मजदूरहरूका लागि झरी शत्रूझैँ लाग्छ । केही पैसा लिएर सामान बोक्ने उनीहरूलाई झरी भिजाउँदैन, मात्रै पाेल्छ । वर्षा हुनासाथ उनीहरू चिन्ताग्रस्त हुन्छन् र मनमनै सोच्छन्— ‘अब काम पाइँदैन ।’ काम नपाएपछिका परिणाम उनीहरूले अनुभव मात्रै गरेका छैनन्, वर्षाैँदेखि भाेगेका समेत छन् । त्यसैले त झरीले उनीहरूलाई भिजाउने हाेइन, पाेल्ने गर्छ । माथि उल्लेख गरिएका दुर्गाबहादुर र नेत्रबहादुर सिर्फ प्रतिनिधि पात्रहरू हुन् । उनीहरूलाई जस्तै वर्षाले पोल्नेहरू धेरै छन् यदाकदा याे शहरमा ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *