नगरपालिकाले आठपहरियालाई ऋण मुक्त गराउने
धनकुटा ।
धनकुटा नगरपालिकाले यहाँका अल्पसङ्ख्यक सीमान्तकृत आठपहरिया समुदायले साहुसँग दृष्टिबन्धक(व्यक्तिको नाममा बन्धकी) राखेको जमिन उकासेर फिर्ता गरिदिने भएको छ । नवनिर्वाचित पालिकाको असार ७ गते बसेको पहिलो बैठकले सात सदस्यीय कार्यदल गठन गरी नगरसभाबाट पारित गरेर यसको प्रक्रियाका लागि प्रारम्भिक सर्वेक्षण सुरु गरेको छ ।
कार्यदलले आठपहरिया जातिको संस्था र व्यक्तिसँग अन्तरक्रिया गर्ने क्रममा बुधबार बढी प्रभावित मानिएको नगरको वडा नं ८ का प्रतिनिधिसँग छलफल गरेको छ । छलफलमा सहभागी टेकुनाला गाउँका रुजान आठपहरियाले नगरको यो काम स्वागतयोग्य भएको प्रतिक्रिया दिँदै बैंक तथा वित्तीय संस्थामा राखिएको जमिन पनि फिर्ता गर्नुपर्ने सुझाव दिए । “यो काम स्वागतयोग्य छ । तथापि अहिले धेरै आठपहरियाको जमिन व्यक्ति बन्धकी हुँदै बैंक र वित्तीय संस्थामा पुगेको छ”, उनले भने, “उनीहरुको जमिन र घर लिलाम भएर उठिबास हुने अवस्थामा छ ।”
दृष्टिबन्धक जमिन फुकुवा कार्यदलका संयोजक तथा वडा नं ८ का वडाध्यक्ष रसबहादुर आठपहरियाले हाल नगरमा एक सयभन्दा बढी दृष्टिबन्धक राखेर साहुबाट ऋण लिएकाको पहिचान भएको जानकारी दिए । सर्वेक्षणको प्रतिवेदन विधेयकका रूपमा आउने नगरसभामा पेस गरिने उनले जानकारी दिए ।
प्रस्तुत प्रतिवेदनलाई आधार मानेर नगरले दृष्टिबन्धकसम्बन्धी ऐन तथा नियमावली तयार गरेर कार्यान्वयनको चरणमा जाने नगर प्रमुख चिन्चन तामाङले जानकारी दिए । धनकुटा नगरपालिका उद्गम थलो भई आफ्नो छुट्टै सस्काररसंस्कृति रहेको यी जाति हाल नगर क्षेत्रमा करिब आठ हजारको सङ्ख्यामा रहेका छन् ।
भिन्न संस्कार संस्कृतिका कारण अन्य जाति तथा समाजमा अन्तरघुलन हुन नसक्दा यी जाति राज्यको पहुँचभन्दा टाढा रहँदै आएका छन् । विसं २०१५ सम्म बिर्तावाल जमिनका मालिक रहेका यी जातिले २०१६ सालमा बिर्ता उन्मूलन भएपछि आफ्ना बाँकी भएका जमिन साहुको घरमा राखेर आफ्ना संस्कृति तथा सामाजिक परम्परा धान्दै आएका थिए । अधिकांश घरपरिवारको जमिन साहुकोमा भएको यस विषयलाई निराकरण गर्न गएको स्थानीय तहको चुनावमा धनकुटा नगरपालिकाका प्रमुखले आफ्ना चुनावी घोषणा–पत्रमा दृष्टिबन्धक फुकुवाको योजना समावेश गरेको थियो ।