सरकारले शताब्दी पुरुष जोशीको हेरचाह गर्न स्वास्थ्यकर्मीको व्यवस्था गर्ने
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेटी स्वास्थ्य लाभको कामना गरेका छन् ।
आज ललितपुरको बखुम्वहालस्थित जोशीको निवासमै पुगेर मन्त्री श्रेष्ठले नियमित हेरचाहका लागि आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य परीक्षणका लागि सरकारको तर्फबाट तत्कालै आवश्यक प्रबन्ध गर्ने प्रतिबद्धता जनाए ।
मन्त्री श्रेष्ठले जोशीको घर आडैमा रहेको लोक साहित्य परिषद् भवनको अवलोकन गरे । परिषद्को भवनमा जोशीले सङ्कलन गरेका मुद्रा, टिकट, किताबलगायत सामग्री राखिएको छ । साथै उनले भवनको तेस्रो तलामा रहेको ‘चक्रसंवर’ को पौभाः चित्र समेत अवलोकन गरी सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
पुरातत्त्व र संस्कृति विभागका प्रथम निर्देशक जोशी मदन पुरस्कारबाट तीन पटक पुरस्कृत भएका थिए । विसं १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मिएका जोशी उमेरले एक सय तीन वर्ष पुगिसकेका छन् ।