गोरखा प्रशासनले भन्यो- काम नगर्ने ठेकेदारलाई कारबाही गर्नू
पोखरा । जिल्लामा विकास निर्माणका काम अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय गोरखाले उर्दी जारी गरेको छ । जिल्लास्थित सरकारी कार्यालयहरूलाई पत्र पठाएर काम नगर्ने निर्माण कम्पनीमाथि कारबाही गरेर त्यसको जानकारी प्रशासनमा पठाउन निर्देशन दिइएको हो ।
समयमा आयोजनाका काम नहुँदा गुणस्तरमा समस्या परेको छ भने आर्थिक विकासको लक्ष्य समेत हासिल हुन सकेको छैन । विशेष गरी सडक र सडक पुल लगायत आयोजना अहिले क्रोनिक भएर बसेका छन् । प्रशासकीय अधिकृत चुणानिधी तिवारीले काममा ढिलासुस्ती गर्ने र लापरबाही गर्ने निर्माण कम्पनी विरुद्ध जनस्तरबाटै कारबाहीको माग भइरहेको बताए ।
‘नागरिकलाई सास्ती छ । वर्षौँदेखि आयोजना ठेक्कामा लिएर काम गर्ने ठेकेदारका कारण धेरै समस्या आइरहेको छ,’ उनले भने, ‘प्रशासनको अगुवाइमा जिल्ला स्थित सरकारी कार्यालयले त्यसउपर एक्सन लिने छन् ।’