नागरिकता विधेयक रोकिएपछि चिढियाे मधेश !
काठमाडौं । शनिबार जनकपुरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादीका कार्यकर्ता र दुवै पार्टी निकट विद्यार्थीहरूले कालो झण्डा देखाए ।
संघीय संसद् ९ प्रतिनिधिसभा र राष्ट्रियसभा को दुवै सदनबाट दुई दुई पटक पारित गरेको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि त्यसमा एमालेले समर्थन रहेको भन्दै ओलीलाई कालो झण्डा देखाएका हुन् ।
जसपाले राष्ट्रपतिविरुद्ध मधेसमा चरमबद्ध आन्दोलन घोषणा गरेको छ । धनुषाको विदेह नगरपालिकाको तिनकौरिया चोकमा आयोजना हुने कार्यक्रममा सहभागी हुन पुगेका ओलीले तिनकौरिया चोकस्थित कार्यक्रम स्थलसम्म पुग्नका लागि कडा सुरक्षाका बीच रेल यात्रा गरे ।
नागरिकता विधेयक रोक्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध मधेशमा विभिन्न पक्षबाट आन्दोलन सुरु भएको छ । आन्दोलनकारीहरूले नेताहरूलाई कालो झण्डा देखाउनेदेखि राष्ट्रपतिको राजीनामा माग राखेका छन् ।
ओलीलाई कालो झण्डा देखाउने १२ जना पक्राउ परे । अध्यक्ष ओली जनकपुर विमानस्थलबाट बाहिरिने क्रममा उनलाई कालो झण्डा देखाएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । यसअघि भदौ २७ गते ओली जनकपुरधाम आउँदा पनि प्रहरीले पाँच जना युवालाई कालो झण्डा देखाउने प्रयास गरेका कारण नियन्त्रणमा लिएको थियो ।
नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै मधेश केन्द्रित दलहरू मधेसका जिल्लाहरूमा राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध प्रर्दशन गरिरहेका छन् । यही क्रममा ओली जनकपुर पुग्दा कालो झण्डा देखाइएको हो ।
राष्ट्रपतिको कदमविरुद्ध मधेशका अन्य शक्ति पनि आन्दोलनमा छन् । सिके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । असोज ७ गते बसेको जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आन्दोलनको घोषणा गरेको हो ।
नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले लाखौँ योग्य नागरिकलाई नागरिकताको अधिकारबाट वञ्चित गरेको पार्टीको आरोप छ । असोज ९ र १० गते हरेक वडामा दसैँको शुभकामना दिनुको साथै नागरिकताको अधिकार खोसेको विषय बारेमा माइकिङ गर्ने, असोज ११ गतेदेखि १८ गतेसम्म वडास्तरमा बिहान र दिउँसो अन्तरक्रिया कार्यक्रम तथा विरोध प्रदर्शन र असोज १९ गते पुतला दहनको कार्यक्रम राखिएको छ ।