छोराले घरबाट निकालेपछि ७० वर्षीया गुणमैयाका सहारा बनेका छन्- बाख्राहरू !
काठमाडौँ । गुणमैया अवाल ७० टेकिन् । तर, आत्मनिर्भर छन् । भक्तपुरको सरस्वतीखेलमा एक्लै बसेकी गुणमैया बाख्रापालन गर्छिन् । ११ वर्षअगाडि अज्ञात रोगका कारण श्रीमान्काे निधन भयो । यसपछि एक्लिइन् गुणमैया । छोराबुहारीले हेला गरे । हुँदा-हुँदा उनलाई घरबाटै निकाल्ने कुरा गरे । यसपछि गुणमैयालाई टाँसिएर त्यही घरमा बस्न मन लागेन । अहिले उनी आफैँ छुट्टै बस्दै आएकी छन् ।
चाहेर/नचाहेर आफ्नाहरू गुमाएकी गुणमैयासँग अहिले कोही छैनन् । उनी एकल महिला बनेकी छन् । श्रीमान् बितेपछि र छोराहरूले ‘लात’ हानेपछि आफ्नाहरू गुमाएकी गुणमैयासँग अहिले भए पनि त्यही बाख्रा, नभएपनि त्यही बाख्रा भएको छ । बूढेसकालमा कसैको सहारा नपाएकी गुणमैया बाख्राहरू नै आफ्नो सहारा ठान्छिन् । आम्दानीका लागि पालेको बाख्राहरू अहिले गुणमैयाको जिन्दगीको सहारा बनेका छन् । उनी भन्छन्, ‘बेच्न पटक्कै मन लाग्दैन ।’
उनी थप्छिन्, ‘यी बाख्राहरू मलाई मेरै छोराछोरीजस्ता लाग्छन् ।’ उसो त उनले बाख्रालाई मात्रै होइन, बाख्राहरू पनि गुणमैयालाई खुबै मन पराउँछन् । बाख्राहरू उनकै समीप आउँछन् र बस्छन् । पानी परेको क्षण होस् वा टन्टलापुर घाम; बाख्राहरू गुणमैयाकै खोजीमा हुन्छन्, गुणमैयाकै सियाँलकाे खाेजीमा हुन्छन् । कहीँ-कतै केही टाढा गयो कि बाख्राहरू कराउँछन् । जसले उनलाई साह्रै–धेरै छुन्छ, भन्छन्— ‘त्यत्तिबेला यी बाख्राहरू मेरै छोराछोरीझैँ लाग्छन् । बूढेसकालका सहारा यी नै बाख्राहरू बनेका छन् ।’
श्रीमान्काे निधनपछि आफ्नो दुःख शुरू भएको ठान्छिन् गुणमैया । श्रीमान्काे निधनपछि दुई वर्ष नबित्दै छोराले घरबाट निकालेको सुनाउँदै उनी भन्छिन्, ‘श्रीमान्काे निधनसँगै मेरा दुःखका दिनहरू शुरू भयो । अहिले यही बाख्रापालन गरेर जीविका चलाइरहेको छु । छाेराहरूसँग खान देऊ भन्दै जान परेकाे छैन ।’ उनी एक्लै बस्न थालेको २० वर्ष भइसकेको छ । यसबीचमा उनले धेरैवटा बाख्राहरू बेचिन् । अहिले पनि उनीसँग ६ वटा बाख्राहरू छन् । जुन उनलाई पटक्कै बेच्न मन छैन, भन्छन्— ‘आफ्नै छोराछोरीजस्तो लाग्छ र बेच्न एकदमै गाह्रो हुन्छ र बेचेकाे छैन ।’
जता गएपनि बाख्राहरू गुणमैयालाई पछ्याउँछन् । ‘मलाई यो दृश्यले एकदमै छुन्छु,’ उनी भन्छिन्, ‘त्यो भएर म बेच्न सक्दिनँ ।’ यद्यपि बाख्रा बेचेर जीविका चलाउन उनको बाध्यता हाे, बेच्छिन् । एउटा बाख्रा २५ देखि ४० हजारसम्ममा बेच्ने गरेकाे बताउँछिन् गुणमैया । ‘बाख्राहरू बेचिपठाउन पटक्कै मन हुँदैन,’ उनी भन्छिन्, ‘तै पनि बेच्नुपर्छ करलागी ।’
बिहान उठेदेखि नसुतुन्जेल उनको ‘ड्यूटी’ तिनै बाख्राहरूको स्याहारसुसार हुन्छ । उनी बिहान उठेर कुडोँ पकाउने, घाँस काट्ने, चराउनेलगायतका काममा व्यस्त रहन्छिन् । यी काम नगर्दा उनलाई दिन कटाउन गाह्रो हुन्छ, भन्छिन्— ‘यी कामहरू गर्दा र बाख्राका स्याहार गर्दा दिन छाेटाेझैँ लाग्छ ।’
यसबाहेक गुणमैया धान खेतीसमेत गर्छिन् । तर, खेतालाहरूलाई ज्याला दिँदा, मल किन्दा, बिउ किन्दा फाइदा नरहेको बताउँदै बाख्रापालनमा भने एकदमै फाइदा हुने गरेको उनको भनाइ छ । ‘सधैँ एकनास कहाँ हुनु र कहिलेकाहीँ बाख्राहरू बिरामी पर्छन् । औषधिहरू एकदमै महङ्गो छ । तर खेतीमा भन्दा बाख्रामा फाइदाचाहिँ फाइदै छ ।’
कहिलेकाहीँ उनी आफैँ पनि बिरामी पर्छिन् । पाको ज्यान, थकाइ र दुखाइ धेरै; कहिलेकाहीँ साह्रै पार्ने गरेकाे सुनाउँछिन् उनी । ‘म बिरामी परेकाे बेला यिनीहरू भाेकले मर्छन्,’ उनले भनेकी छन्, ‘तैपनि तानिँदै गएर केही खानेकुरा दिन्छु । चित्त दुख्छ यिनीहरूले पेटभरी खान नपाउँदाखेरि,’ उनी भन्छन् ।
उनलाई छोराछोरीहरूले हेला गरे र घरबाटै निकालिदिए । त्यसपछि उनी एक्लै बसेर बाख्रापालन गर्न थालिन् । अहिले उनी भन्छिन्— म बाख्रा पालिरहेकाे छु, बाख्राले मलाई पालिरहेको छ ।