मनास्लु हिमालको पहिरोमा फसेका २ जनालाई काठमाडौं ल्याइयो

गोरखा । गोरखाको मनास्लु हिमालको हिमपहिरोमा पुरिएका चार जनाको उद्धार गरिएको छ। तेस्रो आधार शिविरमा गएको पहिरोमा परेका दुई जनालाई काठमाडौं ल्याइएको गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालले बताए।

दोलखाको गौरीशंकर गाउँपालिका ५ का ४४ वर्षीय जितबहादुर शेर्पा र संखुवासभाको मकालु गाउँपालिका १ का २७ वर्षीय सुकबहादुर तामाङलाई उद्धार गरेर काठमाडौं ल्याइएको हो। उनीहरूको अहिले काठमाडौंको कपनस्थित करुणा अस्पतालमा उपचार भइरहेको छ।

हिमपहिरोबाट सिम्रिक हेलिकप्टरले समागाउँसम्म र सामागाउँबाट कैलास हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो। अन्य दुई जनालाई पनि पहिरोबाट उद्धार गरिएको प्रहरीले बताएको छ।

हिमपहिरोमा परेकाको उद्धार गर्नका लागि तीन वटा हेलिकप्टर परिचालन गरिएको थियो। तर मौसमका कारण समस्या भइरहेको एसपी खनालले बताए।

पहिरोमा १०/१२ जना बेपत्ता भएको प्रारम्भिक जानकारी आएको प्रहरीले बताएको छ। ती मध्ये दोलखा र संखुवासभाका छन्। मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान हिमपहिरो गएको हो। प्रहरीलाई पैदल त्यहाँ पुग्न तीन दिन लाग्ने पनि एसपी खनालले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *