जिपमा सवार ९ मध्ये ८ जनाको मृत्यु, सबैको सनाखत
सुर्खेत । सल्यानको कपुरकोटमा जिप दुर्घटनामा मृत्यु भएका सबै ८ जनाको पहिचान खुलेको छ । बाँकेको ढकेरीबाट छुटेको जिप राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका-३ मूलपानी नजिक बुधबार बिहान साढे ३ बजे दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो ।
सल्यान प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा धेरैजसो कपुरकोट गाउँपालिका वडा नम्बर ६ का छन् । जसमा जिप चालक जलवाङका २१ वर्षीय जितबहादुर बोहोरा, ३७ वर्षीय धर्मा ओली, ४० वर्षीय टोपबहादुर ओली र उनका छोरा ११ वर्षीय वसन्त ओली छन् । यस्तै, कपुरकोट गाउँपालिका ६ कै ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षकी कुमारी ओली र कपुरकोट गाउँपालिका ५ का ३५ वर्षीय ललित ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए ।
यो पनि : सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
दुर्घटनामा परेको रा १ ज ५६३ नम्बरको जिपमा जम्मा ९ जना सवार थिए । तीमध्ये एक जना घाइते भएका छन् । दुर्घटनामा घाइते कपुरकोट ६ का ३५ वर्षीय तिलक ओलीको उपचार प्रादेशिक अस्पताल (दाङ तुलसीपुर) मा भइरहेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि कपुरकोट गाउँपालिकाको एम्बुलेन्समा दाङ लगिएको हो ।