अस्पतालबाट दुई कैदी फरार, छानबिन समिति गठन
विराटनगर । विराटनगरमा रहेको मोरङ कारागारमा उपचारको क्रममा दुई जना कैदी बन्दी फरार भएको विषयमा छानबिन शुरु भएको छ। मोरङको विराटनगर महानगरपालिका–८ मा रहेको जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका २ जना कैदीलाई उपचारको क्रममा क्षयरोग अस्पताल लगिएकोमा उपचारको क्रममा फरार भएको प्रहरीले जनाएको छ।
उपचारको क्रममा अस्पतालबाट फरार रहेको घटना सम्बन्धमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले छानबिन समिति गठन गरेको हो । शनिवार बिहान मोरङ कारागारबाट लागु औषध मुद्दाका कैदी २८ वर्षीय मन्जिल गुरुङ र जबरजस्ती करणी मुद्दाका कैदी २८ वर्षीय राजकुमार हेमरन फरार भएका हुन् ।
उनीहरूलाई उपचाको लागि विराटनगर–७ स्थित क्षयरोग अस्पताल लगिएकोमा उपचारार्थ रहेको अवस्थामा अस्पतालबाट दुवै जना भागी फरार रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
कैदी भागेको घटनाको सम्बन्धमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटाको संयोजकत्वमा प्रदेश प्रहरी कार्यालय धरान सुनसरीको प्रहरी टोली सहित ५ सदस्य छानबिन समिति गठन गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता नविनराज राईले जानकारी दिए ।
छानबिन समितिलाई घटना सम्बन्धमा वास्तविकता पत्ता लगाउन, स्थलगत रूपमा खटिई गई सत्य तथ्य छानबिन गर्न १० दिनको समय दिइएको उनले बताए ।