नक्कली नोटले चुरोट किन्दा फन्दामा परे भारतीय नागरिक, ३१ हजार नक्कली नोट बरामद
जनकपुरधाम । सिरहाको नरहा गाउँपालिका ५ स्थित किराना पसलमा नक्कली रुपैयाँले चुरोट किन्न गएका एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत विहारस्थित सितामढी जिल्लामा पर्ने भासर मछहा ग्राम पञ्चायत ८ भन्सार चोकका २१ वर्षीय मोहम्मद रेजाउल्लाह छन् ।
उनको साथबाट एक हजार दरको क्कली नोट ३१ थान नक्कली नोट बरामद भएको छ । नरहा गाउँपालिका ५ स्थित कृपाल यादवले सञ्चालन गरेको किशोरी ट्रेडस किराना पसलमा रेजाउल्लाहले चुरोट किनेर १ हजारको नक्कली नोट दिएका थिए । पसल सञ्चालकले तत्कालै प्रहरीलाई सूचना दिए । त्यसपछि इलाका प्रहरी कार्यालय नरहाको टोली त्यहाँ पुगेर उनलाई असोज १५ गते साँझ पक्राउ गरेको थियो ।
उनलाई आज जिल्ला प्रहरी कार्यालय सिरहाले सार्वजनिक गरेको छ । पक्राउ परेका रेजाउल्लाहको साथबाट सक्कलै आधार कार्ड चाँदीको सिक्री, औँठी र ब्रिसलेट १र१ थान, श्री सिताराम लेखिएको बिल २ पाना, पाईलट चुरोट १ प्याकेट र रेडमी कम्पनीको मोबाइल १ थान समेत फेला परेको प्रहरीले जनाएको छ ।