महिला र दलितप्रति दलहरू अनुदार, गण्डकीमा गठबन्धनबाट शून्य

पोखरा । संविधानले राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेको छ । आसन्न मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आइतबार मनोनयन सकिएको छ । तर राजनीतिक दलहरूले प्रत्यक्ष तर्फ महिलालाई अवसर दिन आनाकानी गरे ।

प्रमुख राजनीतिक पार्टीहरूले महिला उम्मेदवारलाई विश्वास गरेनन् । ३६ निर्वाचन क्षेत्र रहेको गण्डकी प्रदेश सभाका लागि एमालेले मात्रै ४ जना महिलालाई प्रत्यक्षमा उम्मेदवार बनाएको छ । गठबन्धन दलहरूले महिलालाई विश्वास गरेनन् । माओवादीले स्याङ्जा १ (ख) बाट अमृता थापालाई टिकट दिएको छ ।

एमालेले कास्की २ (ख)मा मीना गुरुङलाई उम्मेदवार बनाएको छ भने स्याङ्जा १ (क)मा सीता सुन्दासलाई उठाएको छ । यस्तै, बागलुङ १ (क) मा हिरा केसी र नवलपुर २ (ख)मा पद्या बिसीलाई उम्मेदवार बनाइएको छ । प्रतिनिधिसभामा कास्की २ बाट विद्या भट्टराई, स्याङ्जा २ बाट पद्या अर्याल र बागलुङ २ बाट प्रतिनिधिसभामा मञ्जु चालिसे उम्मेदवार बनेका छन् ।

प्रदेशसभा तर्फ कांग्रेसले पाएका २१ वटै क्षेत्रमा पुरुष उम्मेदवार छन् भने माओवादीले पनि महिलालाई अघि सारेको छैन । यहाँ प्रदेश सभाका लागि माओवादीले १३ सिट पाएको छ । एकीकृत समाजवादीका २ सिटमा पनि पुरुष नै उम्मेदवार छन् ।

यद्यपि समाजवादीले गठबन्धनको निर्णय विरुद्ध उठाएका केही उम्मेदवार भने महिला छन् । तनहुँमा कलिला खान र स्याङजाबाट शर्मिला पौडेलले गठबन्धन विरुद्ध उम्मेदवारी दिएका हुन् । ६० सदस्यीय प्रदेश सभामा अघिल्लो कार्यकालमा २ महिला सांसदले मात्रै प्रत्यक्ष चुनाव जितेर संसद् छिरेका थिए ।

अरू सबै समानुपातिक कोटाबाट आएका हुन् । अहिले पनि प्रायः महिला सांसदहरूलाई समानुपातिक सिटको भर छ । कम्तीमा २० सांसद महिला हुनुपर्छ । दलहरूले महिलालाई अवसर नदिएर अन्याय गरेको प्रतिक्रिया सामाजिक सञ्जालहरूमा आइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *