ओखलढुङ्गामा बाँदरको बास, गाउँका फलफूल सत्यानाश
२०७९ असोज ३० गते
एक जमाना थियो । सबै युवाहरू गाउँमै बस्दथे । टाढा–टाढासम्म खेती गरिन्थ्यो । अब त्यस्तो रहेन । युवा सबै विदेशीएका छन् । गाउँमा बुढापाका र बालबालिका मात्र छन् । खेती गर्ने मान्छे छैन । झन् ओखलढुङ्गामा त गरेको खेती पनि बाँदरले सखाप पार्छन् ।
स्थानीयका अनुसार ओखलढुङ्गामा बाँदरको आगमन भएको करिब ९–१० वर्ष भयो । उनीहरूका अनुसार पहिले यहाँ बाँदर थिएन । चारकोसे झाडीका बाँदरहरू जङ्गल–जङ्गलहुँदै काठमाडौँ भित्रिएका थिए । स्थानीय मागवीर राईका अनुसार सरकारले काठमाडौँका बाँदरलाई ट्रकमा राखेर ओखलढुङ्गामा ल्याएर छोडेको थियो । हो, ठिक त्यहि दिनदेखि उनीहरुका दुःखका दिन सुरु भए ।
‘काठमाडौँको बाँदरहरू यहाँ ल्याएपछि त हाम्रो गाउँमा बाँदर देखिन थालेको हो,’ उनी भन्छन्, ‘नत्र हाम्रो गाउँमा बाँदर नै थिएन ।’
उनका अनुसार सयौँ बाँदरहरू एकै चोटि ओइरिएर आउने हुँदा गाउँका सबै फलफूल सिध्याइदिन्छन् । झ्याल, ढोका खुला राखे घरमा पनि छिरेर भाँडाकुँडा छरपस्ट बनाइदिन्छन् ।
गाउँमा बाँदर छिरेपछि मकै, कोदो जस्ता बाली भित्र्याउन धौधौ पर्छ । सयौँ बाँदर एकसाथ गाउँमा छिरेपछि मकै, कोदो, इस्कुस, घिरौँला, काँक्रो, सुन्तला, जस्ता फलफूलको अवशेष मात्र बाँकी रहन्छ ।
यही समस्यालाई पछ्याइ रहँदा आँगनमा मकै छोडाइरहेकी ६५ वर्षीय फिन्सुलिले राई (बुढी आमा) सँग हाम्रो भेट भयो ।
ती आमा भन्छिन्– ‘पोहोर सालको कुरा हो, एक गेडा मकै भित्र्याउन पाइएन । बाँदरले सबै खाइदियो । बाँदर कुनबेला आउँछ थाहा हुँदैन । चाैबीसै घण्टा पाले बस्न सकिँदैन । बाँदर आउँदा एक्लैले धपाउन पनि सकिँदैन । घरमा हामी बुढाबुढी मात्र बस्छौँ । तर यस पालि भने बल्लबल्ल यति भए पनि मकै भित्र्याइयो ।’
अर्का स्थानीय झरना राईले भोगेको बाँदर कहानी पनि उनीहरूको भन्दा कम दुःखदायी छैन । आमालाई घिरौँलाको तरकारी मन पर्नेहुँदा बारीभरि घिरौँला फलाएकी थिइन् उनले । घरमा कोही थिएन । सबै घाँस दाउरामा गएका थिए । फर्कँदा सबै घिरौँला बाँदरले खाएर यत्रतत्र फालेका थिए ।
यो समस्या मागवीर फिन्सुलि र झरनाको मात्र होइन । सम्पूर्ण ओखलढुङ्गाबासीको साझा समस्या हो ।
ओखलढुंगाको मात्रै पनि होइन, पूर्वदेखि पश्चिमसम्म महाभारत पर्वत शृङ्खलादेखि चुरे पर्वत र भित्री मधेस र चारकोसे झाडी आसपासका तराईका गाउँ बस्तीमा समेत अहिले बाँदरले बाली खाएर स्थानीयलाई हैरान पार्न थालेको छ । अझ राष्ट्रिय निकुञ्ज र आरक्ष र मध्यवर्ती क्षेत्रका स्थानीयले त बँदेल, हरिण, नीलगाई, दुम्सी, स्याल, हात्ती जस्ता जनावरले बालीनालीमा पुर्याइरहेको क्षति समेत व्यहोरिरनु परेको छ ।
दुःख गरेर लगाएको बाली भित्र्याउने समयमा खाली हात भएपछि विदेश गएर गाउँमा बाँकी रहेका युवा र स्थानीय बुढापाकाले सकीनसकी खेती गर्न चाहँदैनन् । खेती नै गर्न नसकिएपछि देशको उर्वरा क्षमताभन्दा कृषि उत्पादन कम हुँदै गएको छ । खेतबारी बाँझो बस्ने क्रम बढेको छ । पर्ति र नवबुट्यानले ओगटेको क्षेत्र बढेको छ । यसले कृषि उत्पादन आयातलाई जोड दिएको छ । आयात बढ्दा विदेशी मुद्रा सञ्चिति कम हुने, परनिर्भर हुँदै जाने र देशको अर्थतन्त्र नै धराशयी हुने दिशातर्फ अघि बढिरहेकाे छ ।
त्यसो हुँदा सरकारले यो समस्यालाई चाँडो समाधान गर्नु आवश्यक देखिन्छ । नत्र देशको कुल गार्हस्थ्य उत्पादनमा झण्डै एक तिहाई हिस्सा रहेको र झण्डै दुई तिहाई नेपाली संलग्न रहेको कृषि पेशा खुम्चिँदै जानेछ । र, प्रत्येक नेपालीले एक छाक चामल र तरकारीका लागि पनि विदेशी आयातको मुख ताक्नुपर्ने अवस्था आउन सक्छ ।
२०७९ असोज ३० गते
प्रतिक्रिया
सम्बन्धित