मेयर आचार्य भन्छन् – पोखरालाई आफैं पर्यटकीय राजधानी घोषणा गर्छौं

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई ‘पर्यटनको राजधानी’ स्थानीय सरकारले नै घोषणा गर्ने बताएका छन् । पर्यटनको राजधानी घोषणा गर्न पटकपटक संघ सरकारलाई आग्रह गर्दा पनि वास्ता नगरेपछि पोखराले आफैं घोषणा गर्ने उनको भनाइ छ ।

पाँच वर्ष अघि महानगरले पर्यटकीय राजधानी घोषणाको निर्णय गरेको हो । गण्डकी प्रदेश सरकारले दुई पटक पहल गर्दा पनि संघ सरकारले प्रक्रिया अघि बढाएको छैन । ‘पोखरालाई केन्द्रमा राखेर हामी आफै काम गर्छौं,’ उनले भने, ‘कसैले माने पनि नमाने पनि पोखरा पर्यटनको राजधानी नै हो ।’

पोखरा टुरिजम एन्ड हस्पिटालिटी मिट–२०२२ को उद्घाटन गर्दै मेयर आचार्यले पोखराको विकासका लागि आफु कटिबद्ध भएर लागेको बताए । कार्यक्रमका प्राडा रमेशराज कुँवरले ‘नेपालको पर्यटन हिजो, आज र भोलि विषयमा कार्यपत्र प्रश्तुत गरेका थिए ।

नेपालको पर्यटनमा महाभूकम्प र कोरोना कहरले धक्का लागे पनि दीगो पर्यटनका लागि शिक्षित र दक्ष जनशक्ति आवश्यक रहेको उनको भनाइ छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले ‘नेपाल र अन्तर्राष्ट्रिय क्षेत्रमा पोखराको पर्यटन प्रवद्र्धनका सम्भावना’लाई सार्थक बनाउने उपायबारे प्रस्तुति राखेका थिए । रेग्मीले वार्षिक ४ सय जनशक्ति पर्यटन क्षेत्रका लागि तयार भए पनि पर्यटन उद्योगमा दक्ष जनशक्तिको माग पूर्ण नभएको जानकारी दिए ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानोर्बु शेर्पाले ‘नेपालको पर्वतीय पर्यटन’ विषयमा प्रस्तुति राख्दै पर्यटन पढेका दक्ष जनशक्ति होटल, बार, रेस्टुरेन्टका लागि मात्रै नभई समग्र पर्यटन क्षेत्रलाई चाहिने हुँदा पर्वतीय पर्यटनको पढाइले योगदान दिने विश्वास गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *