मोरङ –५ (२) : मधेस आन्दोलनबाट मन्त्री बनेका यादव र उपेन्द्रलाई हराएका अर्याल मैदानमा
विराटनगर । विराटनगरलाई केन्द्र बनाएर राजनीति गर्दै आएका व्यक्ति हुन्– जयराम यादव । उनको राजनीति पृष्ठभूमि मधेसी जनअधिकार फोरम हो । २०५४ सालमा गैरसरकारी संस्थाको रूपमा स्थापित भएको मधेसी जनअधिकारी फोरममा उनी २०५८ सालदेखि जोडिएका थिए ।
उनी क्याम्पस पढ्दादेखि नै यो संस्थामा आबद्ध भएको बताउँछन् । त्यो बेला उपेन्द्र त्यो संस्थाको अध्यक्ष थिए । संस्थाको सामाजिक कामसँगै संगठन विस्तारको कामलाई तीव्रता दिएको मधेसी जनअधिकार फोरम नेपाल २०६४ साउनमा दलको रूपमा दर्ता भएर स्थापित भयो ।
२०६४ साल चैत २८ को पहिलो संविधासभाको निर्वाचनमा मोरङका तत्कालीन अवस्थामा ९ वटा निर्वाचन क्षेत्र मध्ये ४ वटा क्षेत्रमा जनअधिकार फोरमले जितेको थियो । उपेन्द्र यादवले पनि निर्वाचन जितेका थिए । २०६५ चैत २८ मा उपेन्द्रले जितेको ठाउँमा उनले छाडेपछि उपनिर्वाचन भयो, उपनिर्वाचनमा निर्वाचित हुने व्यक्ति जयराम यादव हुन् । यादवको प्रतिद्वन्द्वी नेकपा माओवादीका शिवकुमार मण्डल थिए । मण्डललाई ६ हजार बढी मतले पराजित गर्दै यादव निर्वाचित भएका थिए । २०६६ वैशाखमा यादवले संविधान सभामा प्रवेश पाए ।
विजयकुमार गच्छदारले पार्टी विभाजन गरेपछि दलको नेता उपेन्द्र यादव थिए भने जयराम यादवले त्यो पार्टीको प्रमुख सचेतकको रूपमा भूमिका निर्वाह गरे । पार्टी स्थापना भएको बेलामा मोरङ जिल्लाको अध्यक्ष रहेका जयरामले संविधासभाको सदस्य भएपछि अध्यक्ष पद छाडे र केन्द्रीय सदस्य भए ।
२०७४ सालको पहिलो प्रदेश सभाको निर्वाचनमा जयरामले मोरङ क्षेत्र नम्बर ५ (२) बाट उम्मेदवारी दिए । त्यो बेला नेपाली कांग्रेसका राजेश गुप्तालाई ११ सय मतले पराजित गर्दै प्रदेश सभामा प्रवेश गरे । प्रदेश सभामा प्रवेश गरेपछि जनता समाजवादी पार्टीको उनी प्रदेश सभाको संसदीय दलको नेता भए । ३ जना सांसद रहेको उनको दलले पछिल्लो सत्ता गठबन्धनमा प्रदेशको सामाजिक विकास मन्त्री भएर ३ महिना काम गरेका यादवले २०७८ माघ २३ देखि स्वास्थ्यमन्त्रीको भूमिका निर्वाह गरे ।
अहिले तीनै यादवले मोरङ क्षेत्र नम्बर ५(ख) बाट उम्मेदवारी दर्ता गराएका छन् । जसपाको केन्द्रीय सदस्य रहेका यादव पार्टीको राजनीतिक समितिको सदस्य पनि भएर काम गरेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेसँगको गठबन्धनबाट यसअघि निर्वाचित मोरङ क्षेत्र नम्बर ५(२) बाट उम्मेदवार भएका छन् ।
उपेन्द्रलाई हराउने अर्याल नेपाली कांग्रेसका नेता अमृत अर्याल तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई हराउने नेतामा पर्छन् । २०६४ सालको संविधान सभाको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ बाट उपेन्द्र यादव उठेका थिए । उपेन्द्र यादवसँग अर्याल १७ हजार बढी मतले पराजित भएका थिए ।
अमृत अर्याल, जसले २०७० सालको संविधान सभा निर्वाचनबाट उपेन्द्र यादवलाई हराएका थिए । उनै अर्याल आगामी मंसिर ४ गते हुने निर्वाचनमा मोरङ क्षेत्र नम्बर ५(२) बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।