मोरङ-५ : हिजोका प्रतिस्पर्धी आजका सहयात्री, यादवसँग तेस्रो भिडन्त, स्वतन्त्रको टक्कर
विराटनगर । मोरङका धेरै निर्वाचन क्षेत्र आगामी मंसिर ४ को निर्वाचनको लागि रोचक बन्दैछ । मोरङ क्षेत्र नम्बर ५ मा हिजो उपेन्द्र यादवलाई हराएका अमृत अर्याल प्रदेशमा उठेका छन् २०७४ सालको निर्वाचनमा निर्वाचित भएका प्रदेश सरकारका स्वास्थ्य मन्त्री जयराम यादव प्रतिस्पर्धी भएका छन् ।
यही निर्वाचनमा क्षेत्रमा संविधान सभाको निर्वाचन देखि आमने सामने भएका नेताहरू प्रतिस्पर्धी छन् । प्रतिनिधि सभाका लागि पनि यो निर्वाचन क्षेत्र निक्कै रोचक बन्दै छ । प्रतिनिधि सभामा यो निर्वाचन क्षेत्रबाट सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान दिएका योगेन्द्र मण्डल यही क्षेत्रका उम्मेदवार बनेका छन् । उनले स्वतन्त्र उम्मेदवारी दिँदा उनीसँग नेकपा एमालेको गठबन्धनबाट जनता समाजवादी पार्टीका नेता राजकुमार यादव प्रतिस्पर्धामा छन् भने सत्तापक्षीय गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका नेता शिवकुमार मण्डल भिडेका छन् ।
हिजोका प्रतिस्पर्धी आजको सहयात्री
वि.सं. २०४८ सालमा नेकपा एमाले निकट अनेरास्ववियु (अखिल)बाट राजनीति सुरु गरेका व्यक्ति हुन् शिवकुमार मण्डल । त्यसपछि उनी २०५५ सालमा अनेरास्ववियु क्रान्तिकारीमा आबद्ध भए । जब देशमा सशस्त्र द्वन्द्व सुरु भयो त्यसपछि उनी मोरङ जनसरकारको उपप्रमुख भए पछि मोरङ–सुनसरी संयुक्त जनसरकारको प्रमुख भए ।
शान्ति प्रक्रियामा आउनु पूर्व मधेसी मुक्ति मोर्चाको केन्द्रीय कोषाध्यक्ष, पार्टीको ब्युरो सदस्य हुँदै, २०६३ सालको अन्तरिम संसदमा सांसद भएर संसदीय अभ्यासमा छिरे । संविधान सभाको पहिलो निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ बाट २०६४ सालमा रामा मण्डलबाट पराजित भएका थिए । २०७० सालमा सोही निर्वाचन क्षेत्रबाट चुनाव लडेका उनले कांग्रेसका गयानन्द मण्डललाई ८ मतले पराजित गरेर निर्वाचित भए । २०७४ सालको निर्वाचनमा तत्कालीन क्षेत्र नम्बर ४ र ५ मिलेर बनेको क्षेत्र नम्बर ५ बाट निर्वाचित भए ।
२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका अमृत अर्याललाई पराजित गरेका थिए । उनले करिब ३ हजार ८ सय बढी मत प्राप्त गरेर निर्वाचित भएका थिए । मण्डल तेस्रो पटक जनता समाजवादी पार्टीका नेता राजकुमार यादवसँग प्रतिस्पर्धा गर्दैछन् । यादवसँग उनले २०७०, २०७४ र आगामी मंसिर ४ गतेको निर्वाचनमा आमनेसामने भएका छन् । मण्डल भन्छन्, ‘मैले मेरो कार्यकालमा भौतिक पूर्वाधारको कामलाई प्राथमिकतामा राखेको छु ।’
मण्डलको लागि अर्को नयाँ कुरा के हो भने हिजो उनैसँग पराजित व्यक्ति आगामी मंसिर ४ गतेको निर्वाचनको सहयात्री बनेका छन् । २०७० सालको संविधान सभाको निर्वाचनमा ८ मतले पराजित भएका कांग्रेसका नेता गयानन्द मण्डल निर्वाचन क्षेत्र नम्बर ५ (१)बाट प्रदेश सभामा उनकै शिवकुमार मण्डलकै टिममा छन् । २०७४ सालको निर्वाचनमा मण्डलसँग पराजित भएका नेपाली कांग्रेसका अमृत अर्याल पनि निर्वाचन क्षेत्र ५ (२) बाट सहयात्रीको रूपमा प्रदेश सभाको सदस्यका लागि निर्वाचनमा जोडिएका छन् । सत्ता गठबन्धनले यो निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा नेकपा माओवादीलाई दिएर प्रदेशका दुवै निर्वाचन क्षेत्र नेपाली कांग्रेसले लिएको छ। अर्याल निर्वाचित भएको अवस्थामा मुख्यमन्त्री बनाउने तयारीमा नेपाली कांग्रेस देखिएको छ ।
निर्वाचन क्षेत्र नम्बर ५ (१) मा कांग्रेसका मण्डललाई एमालेका सन्तोष राजवंशीले चुनौती दिँदैछन् । यादवको तेस्रो प्रतिस्पर्धा २०२९ साल वैशाख ५ गते विराटनगरमा जन्मिएका राजकुमार यादव १७ वर्ष अगाडी एमालेमा थिए । मधेस आन्दोलन पछि उनी मधेसी जनअधिकार फोरम नेपालमा लागे । टकुवा गाविसको गाउँकमिटि अध्यक्ष हुँदै क्षेत्रीय कमिटीको सदस्य, जिल्ला सदस्य, जिल्लाको सचिवालय सदस्य हूँदै २०७० सालमा मधेसी जनअधिकार फोरमको मोरङ जिल्ला अध्यक्ष भए । अहिले जिल्ला अध्यक्ष सहित प्रदेशको उपाध्यक्ष छन् । २०७० सालमा क्षेत्र नम्बर ४ बाट निर्वाचनमा सहभागी भएका उनी, २०७४ सालमा पुन निर्वाचनमा होमिए, त्यो निर्वाचनले पनि सफलता दिन सकेन । दुवै पटक तेस्रो स्थानमा रहेका यादव आगामी निर्वाचनमा पासा पल्टाउने दाउमा छन् ।
२०७० सालको निर्वाचनमा यादवका प्रतिस्पर्धी गयानन्द मण्डल दोस्रो र शिवकुमार मण्डल विजयी भएका थिए । २०७४ सालमा अमृत अर्यालले १९ हजार १५३ मत ल्याएका थिए भने शिवकुमार मण्डलले करिब २२ हजार मत ल्याउँदा राजकुमार सिंगल लडेका थिए । उनले १८ हजार ६४९ मत ल्याएका थिए । ‘चुनाव हारेको भए पनि जनताको दुःखसुखमा लागेको छु, यादव भन्छन्, म विचलित भएको छैन, यो पटकको चुनाव जित्छु ।’ जनताले मौका दिने हो भने धेरै काम गरेर देखाउने उनको इच्छा छ । दुई पटक जितेको मान्छेले केही गर्न नसकेकोले यो पटक जनताको मत आफ्नो पक्षमा आउने दाबी उनले गरेका छन् ।
स्वतन्त्रको टक्कर
यही क्षेत्रमा सामाजिक क्षेत्रमा चिनिएका व्यक्ति योगेन्द्र मण्डल जोगी स्वतन्त्र उठेका छन् । मण्डलले चुनाव चिन्ह चापकलमा चुनावी प्रतिस्पर्धा गर्नेछन् । मोरङ कटहरीमा रहेको जीवन विकास समाजको संस्थापक अध्यक्ष भएर २५ वर्ष पहिला संस्था स्थापना गरेर सामाजिक क्षेत्रमा लागेका मण्डल राजनीतिभन्दा पनि सामाजिक पृष्ठभूमिका हुन् । जीवन विकास समाज स्थापना हुनुभन्दा पहिलादेखि निरन्तर समाजसेवामा लागेको मण्डल बताउँछन् ।
करिब ३८ वर्षदेखि निरन्तर समाजसेवामा लागेका बताउने उनी किसान छोरा हुन् । मण्डल विराटनगरदेखि २२ किलोमिटर पूर्व दक्षिण अमाहीबरियातीमा जन्मिएका हुन् । उनले २५ वर्षको अवधिमा संस्था स्थापना गरेपछि अहिलेसम्म २ हजार मानिसलाई प्रत्यक्ष रोजगारी दिएका छन् । कृषिमा आधुनिकीकरण, कृषिमा प्रविधिको प्रयोग, नागरिकका लागि सहज र सर्वसुलभ उपचारका लागि अस्पताल समेत सञ्चालनमा ल्याएका छन् । उनले आगामी दिनमा असहाय र विपन्नका लागि सहज स्वास्थ्य सेवा प्रवाह गर्न ३ सय बेडको अस्पतालको निर्माणको काम सुरु भएको मण्डलले बताए ।
‘गरिबी, शिक्षा, स्वास्थ्य र रोजगारीको लागि कम गर्दै आएको मेरा लागि निरन्तर काम गर्दै आएको छु, उनले भने, मेरो उम्मेदवारी भनेको राजनीतिको नीति बदल्न र समाज परिवर्तनका लागि हो ।’