डेङ्गीको नयाँ सेरोटाइप पुष्टि
काठमाडौँ । नेपालमा यो वर्ष डेङ्गीको नयाँ सेरोटाइप पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले गरेको नमुना परीक्षणमा डेङ्गीको सेरोटाइप ‘थ्री’ पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किट्जन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिए ।
प्रतिष्ठानमा १२ वटा नमुनामा परीक्षण गर्दा सात वटामा सेरोटाइप ‘वान’ देखिएको छ भने पाँच वटा नमुनामा सेरोटाइप ‘थ्री’ पुष्टि भएको दाहालले बताए । डेङ्गीको चार वटा सेरोटाइप हुनेमा सेरोटाइप वान र टु योभन्दा अगाडि पनि नेपालमा देखिएको थियो भने सेरोटाइप थ्री भने पहिलो पटक नेपालमा देखिएको हो ।
धरानमा गरिएको परीक्षणबाट आएको नतिजालाई आधार मानेर देशभर नै सेरोटाइप थ्री देखिएको भन्न नमिल्ने डा.प्रमुख दाहालको भनाइ छ । अब धेरै नमुना परीक्षण गरेर कुन सेरोटाइप नेपालमा छ भन्ने जानकारी लिने उनले बताए ।
कुनै व्यक्तिलाई एउटा सेरोटाइपको डेङ्गी पहिला नै पुष्टि भइसकेको छ भने अर्को सेरोटाइप पनि देखियो भनेमात्रै जोखिम हुन सक्ने डा. दाहालको भनाइ छ ।