गण्डकीका उम्मेदवार : उमेरमा रेकर्ड ब्रेक, २२ जना बृद्धभत्ता खाने उमेरका
पोखरा । गोरखाको क्षेत्र नम्बर २ मा कांग्रेस बीपीबाट ९९ वर्षका टिकादत्त पोखरेलले प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगको रेकर्ड अनुसार नेपालभरिका सबैभन्दा जेठा उम्मेदवार उनै हुन् (उमेरका हिसाबले) । गण्डकी प्रदेशले वृद्ध उम्मेदवार मात्रै होइन, सबैभन्दा कान्छा उम्मेदवारको पनि रेकर्ड तोडेको छ । स्वतन्त्र छोडेर प्रमुख पार्टीहरूले सबैभन्दा कान्छा उमेरका उम्मेदवार गण्डकीबाटै उठाएका छन् । गोरखा २ मा नेकपा एमालेले अब्दुस मियाँलाई सत्ता गठबन्धनका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डसँग भिड्न पठाएको छ । अब्दुस भर्खर २९ वर्ष टेकेका छन् ।
उता नेपाली कांग्रेसले पनि २९ वर्षकै योगेश गौचनलाई मुस्ताङबाट एमालेका प्रेम तुलाचनसँग प्रतिस्पर्धा गर्नका लागि उम्मेदवार बनाएको छ । यसबाहेक देशका विभिन्न निर्वाचन क्षेत्रमा कमजोर पार्टी र स्वतन्त्र रूपमा उम्मेदवारी दिनेहरू २५ वर्षका पनि छन् । तर उनीहरूको प्रभाव निकै कम छ । अब्दुस र योगेश बढी प्रभाव भएका उम्मेदवार हुन् ।
गण्डकीमा प्रतिनिधि सभा तर्फ १३ उम्मेदवार बृद्धभत्ता खाने उमेरका छन् । ६८ वर्ष उमेर काटेका ठूला पार्टीका प्रभावशाली नेता देखि गुमनाम उम्मेदवार समेत छन् । बागलुङ १ बाट राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी सत्ता गठबन्धन उम्मेदवार छन् । उनी ८० वर्ष नाघे । तनहुँ १ बाट उम्मेदवार बनेका रामचन्द्र पौडेल ७८ वर्ष पुगेका छन् । तनहुँ १ मै स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्द राज जोशी पनि ७३ वर्षको उमेरमा चुनाव लड्न कस्सिएका छन् । गोरखा २ बाट टिकादत्त पोखरेलसँगै लमजुङबाट राप्रपाले ७० वर्षका बालचन्द्र श्रेष्ठलाई टिकट दिएको छ । कास्की २ का तारानाथ सुवेदी ७८ वर्षको उमेरमा स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका छन् । कास्की ३ मा पनि पशुपति नाथ तिमिल्सिना स्वतन्त्र उम्मेदवार हुन् । उनी ८४ वर्ष लागे ।
तनहुँ १ बाट जनमुक्ति पार्टीले ७० वर्षका हस्तबहादुर किचिम थापालाई उम्मेदवार बनाएको छ भने स्याङ्जा १ मा ७० वर्षकै लोकबहादुर दमै स्वतन्त्र रूपमा उम्मेदवार बनेका छन् । स्याङ्जा २ मा राप्रपाले बालगोपाल अर्याललाई ७६ वर्षको उमेरमा टिकट दिएको छ । सोही क्षेत्रमा चिरञ्जीवी पाण्डेय ७१ वर्षको उमेरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । नवलपुर १ मा राप्रपाले ७१ वर्षका डा. मोहनी लाल भुसाललाई उठाएको छ भने पर्वतमा जनमुक्ति पार्टीले नै ७२ वर्षका बलबहादुर थापालाई उतारेको छ ।
यसबाहेक ३० जना उम्मेदवार ६० वर्ष कटेका छन् । एमालेका ६ जना, कांग्रेसको ३ र माओवादीका २ जना छन् । गोरखा १ बाट एमाले उम्मेदवार रामशरण बस्नेत, मनाङका पोल्देन छोपाङ गुरुङ, लमजुङका पृथ्वीसुब्बा गुरुङ, तनहुँ १ का एकबहादुर राना, तनहुँ २ का किरण गुरुङ र मुस्ताङका प्रेम प्रसाद तुलाचन ६० वर्ष नाघेका उम्मेदवार हुन् । मनाङका कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङ, नवलपुर १ का डा. सशांक कोइराला र पर्वतका अर्जुन प्रसाद जोशी पनि ६० नाघिसकेका छन् । माओवादीबाट उम्मेदवार बनेका गोरखा २ का प्रचण्ड र लमजुङका देवप्रसाद गुरुङ पनि ६० नाघेका हुन् । गण्डकीमा ५० देखि ६० वर्ष उमेरका ५४ जना, ४० देखि ५० वर्ष उमेरका ४२ जना, ३० देखि ४० वर्षका ४८ जना र ३० भन्दा कम उमेरका ९ उम्मेदवार छन् ।
प्रदेश सभा तर्फ ९ उम्मेदवार बृद्धभत्ता खाने उमेरका छन् । तीमध्ये कोही पनि प्रमुख पार्टीका छैनन् । कास्की १ (ख) बाट जसपा उम्मेदवार हर्कबहादुर गुरुङ, २ (ख) का धनबहादुर परियार, तनहुँ २ (क) बाट जनमुक्ति पार्टीका उम्मेदवार नेत्रबहादुर थापा, स्याङ्जा १ (क) का राप्रपा उम्मेदवार सूर्यलाल श्रेष्ठ, १ (ख) बाट राप्रपा नेपालका उम्मेदवार गोविन्द उपाध्याय, नवलपुर १ (ख) मा नेपालका लागि नेपाली पार्टीले ७९ वर्षका खीमबहादुर सुनारलाई उठाएको छ । यस्तै, नवलपुर २ (ख) मा एकीकृत समाजवादीले सत्ता गठबन्धनको तर्फबाट ६८ वर्षका गोपाल प्रसाद खनाललाई उम्मेदवार बनाएको छ । राप्रपा नेपालबाट म्याग्दी (ख) मा उम्मेदवार बनेका झलकबहादुर बानियाँ ८१ र पर्वत (ख) का उम्मेदवार बालकृष्ण पौडेल ८५ वर्षका छन् ।