प्रचण्डले कार्वाही गरेको परिपत्र ‘औचित्यहिन राजनीतिक फण्डा’ : भण्डारी
विराटनगर । नेकपा माओवादी केन्द्रले ५ जना कन्द्रीय नेतालाई कार्वाही गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले शनिवार बिशेष परिपत्र जारी गर्दै धनकुटाका हेमराज भण्डारी, सप्तरीका अशोककुमार मण्डल, पर्साका विरन्द्र यादव, रोल्पाका दिपेन्द्रबहादुर पुन मगर र कालिकोटका काँशीचन्द्र बराललाई पार्टीको साधारण सदस्य समेत नरहने गरिकार्वाही गरेको जनाएको छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी गरेको परिपत्रमा गठबन्धनका उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएको आरोप लगाईएको छ।
कार्वाही गरिएको भनिएका ब्यक्तिहरुले पार्टीको निर्णय चित्त नबुझेर यस अघि नै राजिनामा दिईसकेका ब्यक्तिहरु पनि छन् ।
राजिनामा दिएका मध्येका एक हुन् धनकुटाका हेमराज भण्डारी । उनले यस अघिले पार्टीको साधारण सदस्य समेत नरहेको भन्दै सामुहिक राजिनामा दिएका थिए ।
२०७९ असोज ९ गते पोलिटब्यूरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, प्रदेश सदस्यसहित जिल्लाका पदाधिकारीहरूले सामूहिक राजिनामा दिएको विज्ञप्ती सार्बजनिक भएको थियो ।
उनीहरुको राजिनामाले धनकुटाको जिल्ला समन्वय समिति नै खाली भएको थियो । पोलिटब्युरो सदस्य भण्डारी, केन्द्रीय सदस्य धनमाया विक, प्रदेश सचिव ऋषीराम ढुंगानासहित १४ जनाले सामूहिक राजीनामा दिएको विज्ञप्ती जारी गरेका थिए ।
राजिनामा दिएपछि हेमराज भण्डारीले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए ।
माओवादी केन्द्रीय कार्यालयबाट जारी भएको परिपत्रको सन्दर्भमा प्रतिक्रिया दिँदै धनकुटाबाट प्रतिनिधिसभाको लागि स्वतन्त्र उम्मेदवारी दिएका हेमराज भण्डारीले कार्वाहीको कुनै औचित्य नै नभएको बताए ।
भदौ २८ गते नै पार्टीको सबै जिम्मेवारीबाट र पार्टीको साधारण सदस्य समेत नरहने गरि राजिनामा पत्र प्रचण्डलाई बुझाएको उनले बताएका छन् । ‘मेरो राजीनामा स्वीकृत गर्नुको सट्टा कार्वाही गर्नुको के अर्थ छ र, भण्डारीले भने, यो उहाँहरुको राजनीतिक फण्डा मात्र हो, यसको कुनै अर्थ र औचित्य छैन, प्रचण्डलाई नै मैले लेखेर राजिनामा पत्र बुझाई सकेपछि उहाँले दिएको राजिनामा स्वीकृत गरियो भन्नुको साटो कार्वाही गरियो भनेर के के न गर्यौँ भन्न खोज्नु भएको हो ।’ भदौ २८ गते केन्द्रीय कार्यालयमा राजिनामा दिएर धनकुटा आपछि जिल्लामा स्वतन्त्र चुनावी अभियान चलाएर जाने बारेमा छलफलपछि मात्र असोज ९ मा सामुहिक राजिनामा सार्बजनिक भएको भण्डारीले बताए ।
सामुहिक राजिनामा दिएकाहरु मात्र हैन नेकपा माओवादीका कार्याकर्ताहरु पनि भण्डारीको स्वतन्त्र अभियानमा सामेल भएर चुनाव प्रचारमा लागेका छन् ।