मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास पाइएन’
रेसुङ्गा । गुल्मीको मालिका गाउँपालिका–१ लिलिङका मदनबहादुर घर्तीमगर उमेरले ७० वर्ष पुगे । उनी आगामी मङ्सिर ४ मा हुने आम निर्वाचनमा सातौँ पटक सांसदका लागि मतदान गर्दैछन् ।
मतदान गरिरहँदा आफ्नो गाउँमा मोटर गुडेको देख्ने उनको धोको भने कहिल्यै पूरा हुन सकेन । जिल्ला सदरमुकामभन्दा पालिकाको केन्द्रमा जान बढी समय लाग्ने गरेको लिलिङका घर्तीमगरको गुनासो छ ।
“जिल्ला सदरमुकाम जान बागलुङ गएर चार घण्टामा पुग्न सकिन्छ”, उनले भने, “पालिकाको केन्द्रमा जान सडक छैन, हिँड्दै जाँदा छ घण्टा लाग्छ ।” वडादेखि केन्द्र तहका नेताले पटकपटक सडक निर्माण गर्ने आश्वासन दिए पनि कहिल्यै पूरा नभएको घर्तीमगर बताउछन् ।
लिलिङका अर्का स्थानीय ३७ वर्षीय यमबहादुर बलामीको पनि गाउँमा सडक नहुँदा नेताहरूप्रतिको विश्वास घट्दै गएको छ । आउदो मङ्सिर ४ मा उनी पाँचौँपटक मतदान गर्दैछन । उनले आफूहरूलाई निकै सास्ती हुँदा पनि नेताहरूले आश्वासन मात्र देखाएर मत माग्ने गरेको गुनासो गरे ।
गाउँमा लामो समयदेखि नेताहरूले पटकपटक दिएको आश्वासनले दिक्क लागेको लिलिङका यमबहादुरले गुनासो छ । “सडकको लोभ देखाएर मत मागेपछि विश्वास गर्दा धेरै सांसद बनेका छन्”, उनले भने , “लामो समयदेखि सडक नहुँदा सास्ती भयो, अहिले ट्र्याक खुले पनि एकझर पानी परेपछि सडक अस्तव्यस्त हुन्छ ।”
लिलिङमा ४५ घरपरिवारमा तीन सय सदस्य छन् । उनीहरू यो समस्याबाट सधै ग्रसित बनिरहेका छन् । गत वर्ष सडकको ट्र्याक खुले पनि अहिलेको वर्षायामले सडक अस्तव्यस्त बनाएको छ । बागलुङको भीमगिठेमा मध्यपहाडी राजमार्ग भए पनि यस क्षेत्रमा भने सडकको अवस्था बिजोग रहेको लिलिङका स्थानीयवासीले गुनासो छ । यो मात्र होइन यस क्षेत्रमा विद्यालय पनि छैन ।
मनकामना प्राथमिक विद्यालयमा कक्षा १ र २ मा अध्ययन तथा अध्यापन भए पनि त्यसबाहेकको माथिल्लो तहमा २० जना विद्यार्थी बागलुङमा जाने गर्दछन् । यस क्षेत्रमा अहिलेसम्म केन्द्रीय विद्युत् पुगेको छैन । त्यहाँका स्थानीवासीले प्रतिघर सात हजार नगद र एक सय १० दिन श्रमदान गरेर घरघरमा बिजुली बाले पनि समस्या आइरहन्छ ।
त्यस्तै सोही वडाको देउरालीका स्थानीय ६१ वर्षीय भीमबहादुर विकको २०७३ मा सडकको ट्र्याक खोल्दा घर जोखिममा परेको थियो । उनको समस्या अहिले पनि उस्तै रहेको छ । आफूले अहिले सांसदका लागि छैटौँ पटक मतदान गर्न लागेको भन्दै उनी भन्छन्, “मैले विभिन्न आश्वासनका कारण पटकपटक मतदान गरेको थिएँ”, आश्वासन कहिल्यै पूरा नभएकाले यसपटक भने मतदान गर्न उत्साह नै छैन ।”
मालिका गाउँपालिका–२ दर्लिङका स्थानीय चुरामणि अर्यालले मतका लागि जथाभावी सडक विस्तार भइरहेको बताउछन् । उनले एक मतका लागि पनि लामो दूरीमा सडक लैजाँदा बाढीपहिरोको जोखिम रहेको बताउछन । “गाउँको मुख्य सडक बनाउने आश्वासन २० वर्षदेखि सुन्दै आएका छौँ”, अर्यालले भने, “सडकको अवस्था कहिल्यै सुध्रेन, टोलटोलमा खोलिएका सडकले बाढीपहिरोको जोखिम बढायो ।” उनले गाउँको मुख्य सडक ग्राभेल बनाउने आश्वासनमा पाँचौँ पटकसम्म मत दिए पनि पूरा नभएको बताउछन् ।
सडकका लागि मुख्य समस्या रहेको लिलिङको उदाहरण देखाउँदै अर्यालले चाहिँदोभन्दा नचाहिँदो विकासमा नेताले चासो दिने गरेको बताए । जथाभावीको सडक विस्तारभन्दा परिवारलाई मुख्य सडकको पहुँचमा ल्याउने र टोलटोलमा सडक नलैजान आग्रह गर्छन ।
हिउँदमा डोजर लगाउने र बाटो बनाउने तर वर्षायाममा सधैँ उस्तै हुने समस्या रहेको पनि उनले प्रतिक्रिया दिए । यस क्षेत्रमा २०४६ सालपछिका आम निर्वाचनहरुमा विभिन्न राजनीतिक दलका गरी छ सांसद चुनिएका छन् । पहिलोपटक २०४८ सालमा नेपाली कांग्रेसका रुद्रमणि शर्मा भण्डारी, २०५१ सालमा नेकपा (एमाले)का टङ्क पोखरेल, २०५६ सालमा एमालेका गोकर्ण विष्ट, २०६४ सालमा नेकपा (माओवादी केन्द्र)का चन्द्रबहादुर केसी, २०७० र २०७४ सालमा एमालेका गोकर्ण विष्ट सांसद चुनीए ।
अहिले यस क्षेत्रमा मुख्य गरेर सत्तारुढ गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) की नेत्री रामकुमारी झाँक्री र नेकपा (एमाले)का सचिव गोकर्ण बिष्ट चुनावी मैदानमा छन् ।