रुपन्देही-३ मा खाँण कि बोहोरा ? यस्तो छ स्थानीय चुनावको मत विश्लेषण

काठमाडाैँ । गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण र राप्रपाका नेता दीपक बोहोरा अघिल्लो आमनिर्वाचनमा सहयात्री थिए । २०७४ को निर्वाचनमा कांग्रेस र राप्रपाबीच गठबन्धन थियो भने राप्रपाका बोहोरा कांग्रेसको समर्थनमा चुनाव लडेका थिए । त्यसबेला बोहोरालाई जिताउन हलो चिन्हमा मत माग्दै हिँडेका गृहमन्त्री खाँण अहिले भने उनै बोहोराका प्रतिस्पर्धी छन् । सत्ता गठबन्धनबाट खाँण र एमाले-राप्रपा-जसपाबाट बोहोराबीच तीव्र प्रतिस्पर्धा छ ।

०७४ को निर्वाचनमा भने कांग्रेसले बोहोरालाई सघाएको भएपनि जित्न भने सकेनन् । त्यतिबेला बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका घनश्याम भुसालले बोहोरालाई पराजित गरेका थिए । भुसाल ३२ हजार ८६६ मतसहित विजयी हुँदा कांग्रेसको समेत समर्थन पाएका बोहोरा २७ हजार ४२२ मतमा सिमित भए ।

तथापि, यसपाली भुसाललाई एमालेले टिकट दिएन । जसले रुपन्देही एमालेमा विग्रह ल्यायो । उसो त भुसालले पार्टी नै परित्याग गरेर रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिए । जहाँ उनलाई सत्ता गठबन्धनको समेत समर्थन छ ।

रुपन्देही ३ भुसालको राम्रो प्रभाव भएको क्षेत्रका रुपमा लिइन्छ । तर, उनी नै त्यहाँ उम्मेदवार नहुँदा धेरैजसो एमालेको भोट बोहोरालाई नजाने आँकलन सुरु भएको छ । त्यसैले यसपाली पनि बोहोराका लागि संसदको ढोका नखुल्न सक्छ । तर, पूर्व मन्त्रीसमेत भइसकेका बोहोरा जिल्लामा राम्रो प्रभाव भएका नेता हुन् । पञ्चायती व्यवस्थादेखि नै आम निर्वाचनमा सहभागि हुँदै आएका बोहोराले निर्वाचन लड्न लागेको यो सातौँपटक हो । योबीचमा उनले ०७० को संविधान सभा निर्वाचनमा मात्र विजयी भए ।

यता गृहमन्त्रीसमेत रहेका खाँण पनि बलिया प्रतिस्पर्धी हुन् । ०७४ को निर्वाचनमा समानुपातिकतर्फबाट सांसद बनेका खाँणलाई यसपाली जित्नैपर्ने दबाब छ । यद्यपि, रुपन्देही ३ मा विजयको शृङ्खला हेर्ने हो भने खाँण बलियो देखिन्छन् । ०४८ मा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका खाँण २०६४ र ०७० को संविधानसभा निर्वाचनमा रुपन्देही ३ बाटै निर्वाचित भएका थिए । त्यसैले रुपन्देही ३ कांग्रेसको पकड क्षेत्रका रुपमा लिइन्छ । तैपनि यसपाली उनलाई गठबन्धनको समर्थन रहने भएको उनलाई अझ सहज हुने कांग्रेस पङ्तिको ठम्याइ छ ।

मतदातामा आएको जागरण, स्वतन्त्र उम्मेदवारको प्रभाव जस्ता कारण आगामी निर्वाचनमा कस्तो नतिजा आउँछ भन्ने अनुमान गर्न गाह्रो छ । त्यसका लागि भने मतपरिणाम नै कुनुपर्ने हुन्छ । रुपन्देही ३ मा बलिया दाबेदार रहेका खाँण र बोहोराविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका जीतबहादुर गुप्ता तेली पनि चुनावी मैदानमा छन् ।

साथै, नागरिक उन्मुक्ति पार्टीका तुलसीप्रसाद थारु, मंगोल नेशनलका तेजकुमारी आले, हाम्रो नेपाली पार्टीका प्रख्यात बञ्जाडे, जनमत पार्टीका प्रमोदकुमार राउत, जनमुक्ति पार्टीका मोजिब अलि मुसलमान, गान्धीवादी पार्टीका लालबहादुर राना, राप्रपा नेपालका सरस्वती धोवी धवल, नेमकिपाका सुरु विक र स्वतन्त्रबाट राजीव शाहीले उम्मेदवारी दिएका छन् ।

स्थानीय निर्वाचनलाई नियाल्दा
गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा रुपन्देही ३ मा कांग्रेसका वडाध्यक्षले पाएका मत धेरै छ । जहाँ कांग्रेसले ३४ हजार १ सय ५३ मत प्राप्त गरेको थियो भने एमालेका उम्मेदवारले पाएको मत २९ हजार ४८ छ । त्यस्तै, यस क्षेत्रमा स्थानीय निर्वाचनमा राप्रपाले राम्रो पत पाएको छ ।  जहाँ राप्रपाका वडाध्यक्षहरुले पाएको मत १३ हजार ३ सय ९७ छ । त्यस्तै, जसपाको ६ हजार १ सय ८३ मत छ ।

यता गठबन्धनमा रहेका दलहरु माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीको कुल मत ६ हजार ३२ मात्र छ । यसरी समग्रमा गठबन्धनको मत ४० हजार १ सय ८५ हुन्छ । यता एमाले, राप्रपा र जसपाको मत समग्रमा ४८ हजार ६ सय २८ रहको छ । त्यसैले स्थानीय निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत परिणामलाई विश्लेषण गर्दा बोहोरा बलियो देखिन्छन् ।

त्यसैले यो क्षेत्रको निर्वाचन रोचक हुने पक्का छ । तर, परिणाम कस्तो आउँछ र कसले संसदको ढोका उघार्छ भन्ने हेर्न भन्ने थाहा पाउन मंसिर ४ सम्म कुर्नैपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *