उम्मेदवार जयप्रकाश सामाजिक सेवाबाट राजनीतिमा
विराटनगर । मोरङ ग्रामथानका ४६ वर्षीय जयप्रकाश चौधरी (जेपी) १५ वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा आबद्ध रहे । घरको आर्थिक अवस्था कमजोर रहेकाले जागिर खाँदै पढ्नुपर्ने बाध्यता उनमा थियो । जागिर नखाई अध्ययनलाई निरन्तरता दिन नसकिने भएपछि उनी २०६४ देखि विभिन्न संस्थाहरूमा आबद्ध रहे । उनी जुन संस्थामा आबद्ध भएपनि कामको प्रकृति एकै खालको थियो । महिला अधिकार, बालअधिकार, सशक्तीकरण, आवास अधिकारलगायतको सवालमा संस्थाहरूमा रहेर उनले भूमिका निर्वाह गरे ।
महिलामा पनि दलित महिलाको अधिकार, महिलाको शिक्षा, शिक्षाबाट वञ्चित बालबालिकालाई अनिवार्य शिक्षाका लागि पैरवी, राम्रो विद्यालय, सामुदायिक विद्यालयको क्षमता विकास, समावेशिताका कुरा, हरेक क्षेत्रमा महिलाको सहभागिता, जिम्मेवार पदमा महिला, सशक्तीकरण, भूमिहीनलाई आवासको अधिकार, बालअधिकार र उनीहरूको सर्वाङ्गीण विकास यस्तै सवाल उठाउँदा उठाउँदै उनले १५ वर्ष बिताए । उनले गरेका कामको परिणाम सानो क्षेत्रमा मात्रै देखियो । यसले सबै क्षेत्रमा व्यापकता पाउन सकेन । सामाजिक सेवामै आफूलाई समर्पित गरेका चौधरीलाई नीति निर्माण तहमा पुग्न सके यसले व्यापकता पाउने थियो भन्ने जहिल्यै लागिरहन्थ्यो । तर, त्यस स्थानसम्म पुग्नका लागि उनले मात्रै चाहेर सम्भव थिएन ।
मङ्सिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणासँगै उनले आफ्नो सर्कलमा आफूपनि आकाङ्क्षी रहेको सुनाए । कतिपय नेताहरूलाई पनि आफू पनि आकाङ्क्षी रहेको बताए । उनको आकाङ्क्षा अनुसार नेकपा (एमाले) क्षेत्रीय समन्वय कमिटीले उनी सहितका झन्डै दर्जन हाराहारीका नाम पार्टीमा पठायो । अन्तिममा जयप्रकाशले टिकट पाए ।
एमालेबाट मोरङ क्षेत्र नंं. ४ (क) बाट उम्मेदवार बनेका चौधरी अहिले जनताको घरदैलोमा नमस्कार गर्दै पुगिरहेका छन् । हिजो जसका लागि आवाज उठाए आज तिनै व्यक्तिहरू उनका मतदाता छन् । तिनै मतदाताहरूलाई लक्षित गरेर आफ्ना एजेन्डाहरू उनले बनाएका छन् । कृषिलाई प्राथमिकता दिएर उनले आफ्ना चुनावी एजेन्डा बनाएका छन् । किसानका कुरा, मल, सिँचाइ, भण्डारणको समस्या समाधान गर्नका लागि आफ्नो नीतिगत पहल हुने उनले बताए । दलित, बाँतरहरुको आर्थिक अवस्था सुधार, कृषिको समग्र विकास, कृषिमा आत्मनिर्भर बनाउने, कृषिको व्यवसायीकरण आफ्नो पहिलो प्राथमिकता रहेको चौधरीले बताए ।
निर्वाचन क्षेत्रमा रहेका बेरोजगार युवाहरूलाई रोजगारी दिलाउनका लागि आफ्नो पहल रहने उनले बताए । कसरी यो कार्य सम्भव छ भन्ने प्रश्नमा उनी भन्छन्,‘ सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रमा हाम्रा युवाहरूको सीप नभएकै कारण भारतबाट कामदार आउनुपर्ने अवस्था छ । युवालाई सीप प्रदान गरेर योग्य बनाउने र उद्योगहरूमा रोजगारी दिलाउने ।’ यसका लागि उद्योगहरूमा कुरा भएको उनले बताए । सीपयुक्त व्यक्ति ल्याए भारतीय कामदारहरू उद्योगहरूले नराख्ने बताएको उनले सुनाए । युवाहरूको सीप, दक्षता विकासका लागि नीतिगत निर्णय गरेर अघि बढ्ने चौधरीको भनाइ छ ।
उद्योग कलकारखानासँगै आफैँ व्यवसाय गर्न चाहनेहरूलाई वित्तीय संस्थाहरूमा जोड्ने काम आफूले गर्ने उनले बताए । महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाइने चौधरीको अर्को महत्त्वपूर्ण एजेन्डा छ । उनले भने,‘ मेरो गाउँ टोलका महिलाहरू अहिले पनि श्रीमानको कमाइमा भर पर्नुपर्ने अवस्था छ । माइत जानका लागि पनि गाडी भाडा समेत श्रीमानसँग लिनुपर्ने बाध्यतामा उनीहरू छन् ।’ महिलाहरूलाई सीपसँग जोडेर आत्मनिर्भर बनाउने आफ्नो लक्ष्य रहेको उनले बताए । क्षमता विकाससँगै पूर्वाधारको विकासलाई पनि उनले समेटेका छन् । कृषि सडक निर्माण, भएका सडकहरूको स्तरोन्नति, स्थानीय खोलाहरूमा तटबन्ध निर्माण र खानेपानी विस्तारलगायतका सवालहरूलाई लिएर जनतासमक्ष पुगेको उनले बताए ।
ग्रामीण विकासमा स्नातकोत्तर र अंगे्रजी विषयमा स्नातक गरेका चौधरी २०५१ सालदेखि एमालेमा आबद्ध भएका हुन् । तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघबाट एमालेको राजनीतिमा चौधरी आएका थिए । गाउँ कमिटी सदस्यबाहेक उनले यसलाई नै पेसा बनाउने सोचेका पनि थिएनन् । उनी भन्छन्,‘ सामाजिक क्षेत्रबाट आर्जन गरेको ज्ञान, सीपलाई नीति निर्माण तहमा पुगेर कार्यान्वयन गराउने लक्ष्यसहित यता लागेँ ।’
पारिवारिक राजनीतिक पृष्ठभूमि नभएका चौधरी सामान्य परिवारमा जन्मिए । एक वर्षमा नयाँ लुगा लगाउन पनि नपुग्ने आर्थिक अवस्थाबाट उनी गुज्रिएर आए । अर्काको घरमा काम गरेर, पाटा धोएर विद्यालयको पोसाक किन्ने खर्च जुटाउने स्थितिबाट आफू आएको उनले सुनाए । पढ्नकै लागि आफूले गरेको दुःख जस्तो अन्य बालबालिकालाई नहोस् भनेर अधिकारको क्षेत्रमा काम गरेको उनले बताए । चौधरी भन्छन्,‘ बालबालिकाले राम्रोसँग पढ्न पाए मात्रै भनेपनि धेरै ठुलो कुरा हुने रहेछ ।’