रुपन्देहीलाई विकासको केन्द्र बनाउँछौँ : गृहमन्त्री खाण

भैरहवा । गृहमन्त्री बालकृष्ण खाणले हरेक दृष्टिकोणले रुपन्देही विकासका लागि उपयुक्त ठाउँ भएको उल्लेख गर्दै कांग्रेस र पाँच दलीय गठबन्धनले जिल्लालाई देशकै नमूना बनाउने बताएका छन् ।

उनले रुपन्देहीलाई मुलुककै विकासको मुख्य केन्द्र बनाउने गरी काम गरिने बताए । खाणले रुपन्देहीको तीव्र आर्थिक, भौतिक, तथा पूर्वाधार र मानवीय विकासका लागि आफू निरन्तर लागिपरेको जनाउँदै अहिले भइरहेको विकासको कामलाई अझै फराकिलो बनाउँदै लैजाने जनाए ।

पाँच दलीय गठबन्धनबाट रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहनुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य खाणले आज बुटवल–१७, १८ र १९ का विभिन्न स्थानमा आयोजित कार्यक्रममा बोल्दै जिल्लाको विकास र गौरव वृद्धिका लागि निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

“क्षेत्रवासीले मात्रै होइन, जिल्ला र सिङ्गो मुलुकका नागरिकले मलाई र गठबन्धनलाई जुन किसिमको भरोसा गर्नुभएको छ, यसमा कुनै किसिमको कमी हुन दिँदैनौँ”, उनले भने, “हरेक क्षेत्रमा समानुपातिक विकास गरेर रुपन्देहीलाई अग्रणी जिल्ला बनाएरै छाड्छौँ ।”

विसं २०४८ देखि रुपन्देहीवासीले आफूलाई निरन्तर सहयोग, माया र सद्भाव देखाउँदै आएको स्मरण गर्दै गृहमन्त्री खाणले जनताको भरोसालाई कहिल्यै कमी हुन नदिएको र आगामी दिनमा नदिने प्रस्ट पारे ।

“तपाइँहरूको यही मायाका कारण मैले जिल्लामा साना–ठूला सबै किसिमका योजनाहरू ल्याउन, कार्यान्वयन गर्न र सफल तुल्याएर जनताको जीवनमा परिवर्तनको महसुुस गराउन सफल भएको हुँ”, उनले भने, “केही मानवीय विकासमा योगदान दिने र ठूला परियोजना ल्याएर सम्पन्न गराउन पनि यसपटक गठबन्धनले फेरि जित्न जरुरी छ ।”

गौतमबुद्ध विमानस्थल, व्यापारिक मार्ग, सिँचाइ तथा कृषिका साना–ठूला दर्जनौँ योजना रुपन्देहीमा भित्र्याएर र ती योजना सफल तुल्याउन कांग्रेसले अग्रणी भूमिका खेलेको उनले जिकिर गरे। तिनाउ र दानव नदीले हुने गरेको कटान रोक्न आफू सिँचाइमन्त्री हुँदा जनताको तटबन्ध कार्यक्रम ल्याएर रोकथाम गरिएको जानकारी गराउँदै खाणले यसलाई अब अझै प्रभावकारी बनाइने बताए ।

“अब अझै मजबुत हुने गरी काम गर्नुपर्छ, नदीले कटान गरेको क्षेत्रमा जनताको जमिन छ, त्यसलाई संरक्षण गर्नुपर्छ, सार्वजनिक ठाउँ भएमा त्यहाँ विद्यालय, मन्दिर, पार्क बनाएर आम्दानीको स्रोत बनाउनुपर्छ”, उनले भने, “नदी कटानको भय सधैँका लागि अन्त्य गर्न यो सरकार कटिबद्ध छ, म र गठबन्धन कटिबद्ध छौँ ।”

मोतिपुर औद्योगिक क्षेत्रको क्षेत्रफल घटाएर त्यहाँ स्थायी बसोबास गर्ने व्यक्तिहरूको समस्या दिगोरूपमा समाधान गर्नेतर्फ सरकार लागिपरेको उनले जनाए ।

खाणले यसअघि सरकारका दुई–दुईजना बहालवाला मन्त्री आएर औद्योगिक क्षेत्र शिलान्यास गर्न खोज्दा स्थानीयवासीमाथि दमन भएको बताए ।

उनले त्यो दमनविरुद्ध आफूले आवाज उठाएको र अहिले सरकारमा आइसकेपछि औद्योगिक क्षेत्रका बासिन्दालाई व्यवस्थापन गर्ने गरी काम सुरु गरेको जिकिर गरे।

खाणले विकास जरुरी रहे पनि स्थानीय बासिन्दाको व्यवस्थापन नगरी कुनै पनि योजनालाई जबरजस्त अगाडि बढाउन नहुने बताए।

क्षेत्र नं ३ ९२० का उम्मेदवार रामचन्द्र ढकालले गृहमन्त्री खाणको पहलमा रुपन्देहीको विकासले फड्को मारेको बताउँदै अब नयाँ योजना ल्याउन र त्यसलाई सार्थकता दिन पनि गठबन्धनले जित्न जरुरी रहेको औंल्याए । उनले अबको विकास कङ्क्रिटको मात्रै भएर नहुने जनाउँदै मानवीय विकासमा पनि उत्तिकै ध्यान दिन जरुरी रहेको जिकिर गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *