प्रदेश १ : प्रतिनिधिसभामा ६५ वर्ष काटेका ४२ उम्मेदवार
तेह्रथुममा ८७ वर्षीय युवराज सबैभन्दा जेष्ठ
विराटनगर । आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा प्रदेश १ बाट ४२ जना उम्मेदवार ६५ वर्ष कटेका छन् । दलबाट उम्मेदवारी दिएका यी उम्मेदवार मध्ये केही लगातार दोहोर्याउने मध्येमा पनि पर्छन् । ६५ वर्ष कटेका उम्मेदवारमा स्वतन्त्र ८ जना रहेका छन् ।
निर्वाचन आयोगले उपलब्ध गराएको तथ्याङ्क अनुसार सबैभन्दा बढी उमेरका तेह्रथुमका ८७ वर्षीय युवराज गौतम छन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार हुन् । त्यस्तै सङ्खुवासभाबाट राप्रपाकै ७९ वर्षीय टिकाराम शाहीले पनि उम्मेदवारी दिएर अहिले चुनावी प्रचारमा होमिएका छन् । ७६ वर्षका उम्मेदवार राप्रपाकै मोरङका रेवत बहादुर कार्की हुन् । उनी होटल व्यवसाय गर्ने व्यक्ति हुन् अहिले मोरङ क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका छन् ।
मोरङमै ७५ वर्षका स्वतन्त्र उम्मेदवार कृष्ण राईले पनि उम्मेदवारी दर्ता गराएका छन् । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जसबहादुर योङ्हाङ ७४ वर्षको उमेरमा ताप्लेजुङबाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका छन् । त्यस्तै ७३ वर्षको उमेरमा उदयपुरबाट नेपाली कांग्रेसका डा नारायण खड्का उम्मेदवार छन् । पटक पटक उम्मेदवार बन्दै कहिले सांसद र कहिले मन्त्री बन्ने मौका पाएका खड्का यो पटक पनि प्रतिस्पर्धामा छन् । उनको प्रतिस्पर्धी नेकपा एमालेकी ४८ वर्षीय मञ्जुकुमारी चौधरी हुन् ।
मोरङ क्षेत्र नम्बर ६ बाट उम्मेदवार भएका डा शेखर कोइराला ७२ वर्षको उमेरमा उम्मेदवार बनेका छन् । यसअघि नेकपा एमालेका लालबाबु पण्डितसँग पराजित भएका कोइराला यो पटक पनि उनै पण्डितसँग प्रतिस्पर्धा गर्दैछन् । पण्डित ६३ वर्षका भए भने उनकै अर्का प्रतिस्पर्धी राप्रपाका गोपाल कटुवाल क्षेत्री हुन् । उनी पनि ६४ वर्ष काटिसकेका उम्मेदवार हुन् । झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका कृष्णप्रसाद सिटौला पनि ७२ वर्ष काटेका नेता हुन् । उनका प्रतिस्पर्धी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ५७ वर्ष मात्र पुगेका छन् ।
७२ बर्से अर्का उम्मेदवार हुन् झलनाथ खनाल । प्रधानमन्त्री, पार्टीको महासचिव भएर नेकपा एमालेमा भूमिका खेलिसकेका नेता खनाल अहिले नेकपा एकीकृत समाजवादीबाट पुनः उम्मेदवार भएका छन् । उनी २०४८ सालदेखि निरन्तर शक्तिमा आएका नेता हुन् । खनाल निरन्तर चुनाव लड्दै आएका छन् । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा ७० वर्ष कटेका उम्मेदवारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि पर्छन् । उनी ७० वर्ष पुरा भएका छन् । त्यस्तै अन्य ३ जना उम्मेदवार पनि ७० वर्ष कट्नेमा पर्छन् ।
जनता समाजवादी पार्टीकी राधा थापा र वीरबहादुर राई तथा राप्रपाका कुमारबहादुर थापा ७० वर्षमा उम्मेदवार भएका छन् । त्यस्तै मंगोल नेशनल अर्गनाईजेशनका पूर्णबहादुर गुरुङ र स्वतन्त्र उम्मेदवार सहिमुद्दिन मियाँ पनि ७१ वर्षीय उम्मेदवार हुन् । दुबैजना सुनसरीबाट उम्मेदवार बनेका छन् । धनकुटाका सुनिलबहादुर थापा ६३ वर्षका छन् । मोरङ २ बाट चुनाव लडेकी पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला ६७ वर्षकी छिन् ।
इलामबाट चुनाव लडेका सुवासचन्द्र नेम्वाङ ६९ वर्षको भए । नहार्ने नेतामा चिनिएका नेम्वाङ संविधान सभाको अध्यक्षको समेत भूमिकामा थिए । सोलुखुम्बुमा कांग्रेसबाट निरन्तर चुनावी मैदानमा उत्रिएका बलबाहादुर केसी र नेकपा मालेका विष्णुप्रसाद बास्तोला ६९ वर्षका छन् । त्यस्तै सधैँ निर्वाचनको बेला चर्चामा रहने सुनसरी क्षेत्र नम्बर ३ का विजय कुमार गच्छदार ६८ वर्षीय हुन् । उनको प्रतिस्पर्धी भगवती चौधरी ५१ वर्षकी भइन् ।