धान नफल्दा किसान निराश : आयातमा ४८ अर्ब बाहिरिँदै, सरकार मौन
काठमाडौँ । मानिसलाई बाच्न ऊर्जा चाहिन्छ । त्यस्तो ऊर्जा खानाबाट प्राप्त हुन्छन् । हामीले दैनिक रूपमा खाने गरेको चामल किसानको अथाह मेहनत र कडा परिश्रमबाट प्राप्त हुन्छ । त्यसै कारण किसानलाई ‘अन्नदाता’ भनेर सम्बोधन गरिएको हो । तर, आज तिनै अन्नदाता हताश, उदास र निराश छन् । भन्छन्– ‘धान फल्दै फलेन… ।’
भक्तपुर चाँगुनारायण नगरपालिका–२ का अधिकांश किसानले धान भित्र्याइसकेका छन् । पोहोर सालभन्दा यो साल धान निकै कम फलेको किसान तोरण सुनुवार सुनाउँछन् ।
गएको साल बढी फल्छ आशमा ‘हाइब्रिड’ धान रोप्दा धानभन्दा बढी भुस फलेको थियो । त्यही कारण भारतबाट आयात गरिने कतिपय धानका बिउमा सरकारले प्रतिबन्ध लगायो ।
त्यसैले यो साल भक्तपुरका किसानले ताइचिन, खुमल–४ जस्ता नेपालकै धानका बिउ रोपे । तर यसपालि पनि धान निकै कम फलेको तोरणको गुनासो छ ।
उनी भन्छन्– ‘पहिले ६ रोपजी जमिनमा ४०–४५ मुरी धान फल्थ्यो । तर यस पटक १०–१२ मुरी मात्र फल्यो । पोहोर सालभन्दा पनि यो साल झनै घट्यो ।’
जलवायु परिवर्तन, कृषिमा देखिएका विभिन्न रोग र बिउकै खराबीका कारण बर्सेनि धान उत्पादन घटिरहेको उनको भनाइ छ ।
चाँगुनारायण नगरकै अर्का किसान ८० वर्षीय केदार प्रधान पनि कम्ती निराश छैनन् । भन्छन्– ‘पोहोर साल बिउ नराम्रो परेर मसहित अरू धेरै किसानको धान बिग्रियो भुसैभुस मात्र फल्यो । यसपालि त मैले ताइचिन धान रोपे । पहिले पहिले त्यही जग्गामा ३० मुरी फल्थ्यो । यसपालि १५ मुरी मात्र फल्यो । उत्पादन त स्वाट्टै घट्यो ।’
कतिपय किसानको साबिकको तुलनामा ५० प्रतिशत र कतिपय किसानको २५ प्रतिशत मात्र धान उत्पादन भएको छ । ‘धान खेतीमा लगानी समेत नउठ्ने अवस्था भइसक्यो,’ उनको गुनासो छ ।
विशेष गरी धानका बिउमा नै खराबी हुँदा उत्पादन कम भएको उनीहरूको ठहर रहेको छ ।
धानको उत्पादन कम हुने समस्या भक्तपुरमा मात्रै होइन, अन्य जिल्लामा पनि छ । तर, विउसहित विभिन्न कारण यसमा जिम्मेवार छन् ।
कमजोर विउविजन, मलको अभाव, श्रम शक्तिको अभाव, कृषियोग्य भूमिको क्षयीकरण जस्ता अनेक कारणले देशभित्र बर्सेनि धानको उत्पादन कम हुँदै आएको छ । तर, धानचामलको माग भने प्रत्येक वर्ष बढ्दो छ ।
आन्तरिक उत्पादक घट्ने र माग बढ्ने हुँदै जाँदा अभाव पूरा गर्न धान तथा चामल आयात प्रत्येक वर्ष चुलिँदै गएको छ ।
भन्सार विभागले तयार पारेको आर्थिक वर्ष ७८–७९ को तथ्याङ्क हेर्ने हो भने नेपालमा भारतसहित विभिन्न देशबाट झन्डै ४८ अर्बको धानचामल आयात भएको देखिन्छ । विदेशी मुद्राको सञ्चिती घट्दै गएको बेला कृषिप्रधान देश नेपालले धानचामल आयातमै यती ठूलो रकम विदेश पठाउनु आफैँमा विरोधाभाषपूर्ण देखिन्छ । यसले आत्मनिर्भर अर्थतन्त्रमा पारेको प्रभाव त अझै ठूलो छ ।
धानचामलमा यती ठूलो रकम खर्च भएको छ । यो बाहेक धान उत्पादनका लागि चाहिने कृषिजन्य सामग्री, यन्त्र, रासायनिक मल तथा किटनाशक औषधिसमेत भारतसहित तेस्रो मुलुकबाटै आयात हुने गरेको छ । यी सामग्रीमार्फत बाहिरिने रकम अझ ठूलो छ ।
धान खेतीका लागि आवश्यक युवा श्रम शक्ति विदेशिने र देशभित्र भएका प्रौढ तथा वृद्ध जनशक्तिले गरेको खेतीबाट पनि राम्रो उत्पादन नहुने हुँदा आगामी दिनमा धानचामलको आयात अझ बढ्दै जाने निश्चित जस्तै देखिएको छ । यस्तो अवस्था आएर नेपाल पूर्ण रूपमा खाद्यान्नमा परनिर्भर वा खाद्य सुरक्षाको प्रत्याभूति गर्न सक्ने मुलुक बन्नुअघि नै धानको उत्पादन बढाउन सरकारले ठोस तथा प्रभावकारी योजना ल्याउनु आवश्यक रहेको चाँगुनारायण नगरका किसानहरूको भनाइ छ ।