गण्डकीमै सबैभन्दा बढी मतान्तर भएको कास्की १ः यो वर्ष कस्तो छ चुनावी आँकडा ?

पोखरा । गण्डकी प्रदेशका १८ निर्वाचन क्षेत्र मध्ये सबैभन्दा बढी मतान्तरका साथ हारजित भएको क्षेत्र हो कास्की १ । नेकपा एमालेले माओवादीको समेत समर्थनमा कांग्रेस उम्मेदवारलाई १३ हजार ८ सय १६ मतान्तरले हराएको थियो । एमालेका खगराज अधिकारी ३९ हजार २ सय ४२ मत सहित विजयी हुँदा तत्कालीन मन्त्री समेत रहेका कांग्रेसका यज्ञबहादुर थापा २५ हजार ८ सय २६ मतमा खुम्चिए ।

कास्की यस्तो जिल्ला हो, जहाँ हरेक निर्वाचनमा फरक पार्टीले चुनाव जित्दै आएका छन् । २०७० मा उक्त क्षेत्र कांग्रेसले जितेको थियो । २०६४ मा माओवादीले । यो वर्ष कास्की १ बाट दुवै प्रमुख पार्टीका जिल्ला नेतृत्व प्रतिस्पर्धामा छन् । एमालेमा जिल्ला अध्यक्ष मनबहादुर गुरुङ र कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराल चुनावका लागि आमनेसामने भएका हुन् ।

त्यसमाथि २०७४ मा एमालेसँग भएको माओवादी अहिले कांग्रेस नेतृत्वको गठबन्धनमा छ भने एमालेको विभाजित अंश पनि गठबन्धनले समातेको छ । त्यसैले यो वर्ष ठूलो अन्तरमा हारजित हुने सम्भावना देखिँदैन । स्थानीय निर्वाचनको आँकडा हेर्दा यो क्षेत्रमा एमाले भन्दा गठबन्धन निकै अगाडी देखिन्छ । वडाध्यक्षहरूले प्राप्त गरेको मत अनुसार कांग्रेसले ३७ हजार ५ सय ५९ मत पाएको छ भने एमालेले ३२ हजार ८ सय १६ मत पाएको छ । कांग्रेसको केही वडामा माओवादीका पनि छुट्टै उम्मेदवार भएकोले केही मत अझै बढी छ ।

दुवै उम्मेदवार मतदाता रिझाउन खप्पिस छन् । गुरुङ अघिल्लो निर्वाचनबाट प्रदेश सभा सदस्य बनेर १ कार्यकाल काम गरिसकेका छन् भने बराल पहिलो पटक डेब्यू गर्न लागेका हुन् । लामो समय शिक्षक पेशा सकेर पेन्सनको मुखमा बराल जागिर छोडेर राजनीतिमा होमिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *