उम्मेदवारलाई वास्ता छैन उत्पादनको, जितेपछि बाँड्ने मात्रै घोषणा (गण्डकीको आर्थिक चिरफार)
पोखरा । गण्डकी प्रदेशले २०८०/०८१ सम्म पहिलो पञ्चवर्षीय योजना तयार गरेको छ । आधार वर्ष २०७६/०७७ देखि ५ वर्षका लागि उक्त योजना तयार गरिएको छ । प्रस्तावित योजनाहरू कार्यान्वयन गर्न र तय गरिएका लक्ष्य हासिल गर्नका लागि गण्डकीलाई कम्तीमा १० खर्व १२ अर्ब २४ करोड रुपैयाँ लगानी आवश्यक पर्छ ।
प्रदेश सरकारको वार्षिक बजेट मुस्किलले ३६ अर्ब पुगेको छ । यही बजेटका आधारमा उक्त लक्ष्य प्राप्त गर्न २८ वर्ष लाग्छ । प्रदेशले उत्पादन भन्दा वितरणमा मात्रै जोड दिँदा प्रथम पञ्चवर्षीय योजना करिब कार्यान्वयन नहुने अवस्थामा पुगिसकेको छ ।
कूल लगानीमध्ये ३ खर्व ६० अर्ब सार्वजनिक क्षेत्रबाट, ५ खर्व ८७ अर्ब निजी क्षेत्रबाट, ४४ अर्ब ८ करोड सहकारी क्षेत्रबाट र १९ अर्ब ४१ करोड सामुदायिक क्षेत्रबाट लगानी हुने अनुमान थियो । गण्डकीको प्रतिव्यक्ति आय १ हजार ४३ अमेरिकी डलरबाट बढाएर १ हजार ९ सय ५६ अमेरिकी डलर पुर्याउने लक्ष्य छ । तर उक्त लक्ष्य प्राप्ति अव प्रदेशका लागि ‘आकाशको फल आँखा तरी मर’भने जस्तै भैसकेको छ । अहिले उम्मेदवारहरू पनि आम्दानी र उत्पादनमा भन्दा वितरणमा जोड दिएका छन् ।
पञ्चवर्षीय योजना र प्रस्तावित लक्ष्य भन्दा बाहिर गएर मतदाता खुसी बनाउनका लागि मात्रै उम्मेदवारहरूले प्रतिबद्धता पत्र तयार गरेका छन् । जसले क्षणिक आनन्द र निर्वाचन जित्न सहज त होला तर प्रदेशको आर्थिक विकासमा कुनै टेवा पुग्दैन ।
रेमिट्यान्सले धानेको छ अर्थतन्त्र
गण्डकी प्रदेशको कुल गृहस्थ उत्पादन २ खर्व ८८ अर्ब २० करोड छ । त्यसमा सबैभन्दा बढी कृषि क्षेत्रको ११.८ प्रतिशत छ भने उद्योगको १०.६ प्रतिशत, सेवा क्षेत्रको ९.४ प्रतिशत छ । गण्डकीको अर्थतन्त्रमा रेमिट्यान्स अर्थात् विप्रेषणको ठूलो प्रभाव छ ।
आर्थिक वर्ष २०७४/०७५ को अध्ययनले गण्डकीले बर्सेनि १ खर्व ७ अर्ब भन्दा बढी विप्रेषण प्राप्त गर्छ । यो प्रदेशको कुल गृहस्थ उत्पादनको ३७ प्रतिशत क्षेत्र ओगट्छ । प्रदेशका १४.९१ प्रतिशत नागरिक आर्थिक गरिबीको रेखामुनी छन् । २६.१ प्रतिशत मानवीय गरिबिको रेखामुनी छन् । गरिबीको दर बर्सेनि घट्दै गएपनि गरिब र धनीबीचको आर्थिक खाडल भने झन् चुलिएको छ ।
उद्योग छैन, पर्यटनको भर
गण्डकीमा ठूला कलकारखाना छैनन् । गोरखकाली रबर उद्योग, भृकुटी कागज कारखाना जस्ता महत्त्वपूर्ण र देशबाट सामान निर्यात गर्न सक्ने उद्योग अहिले बन्द अवस्थामा छन् । यद्यपि उम्मेदवारहरू उक्त उद्योग पुनः सञ्चालन गर्ने घोषणा त गर्छन् । यस्तो, घोषणा हरेक चुनावमा दोहोरिन्छन् ।
यहाँ मझौला खालका करिब ५ सय उद्योग मात्रै छन् । जसबाट २० हजार हाराहारीले रोजगारी पाएका छन् । १३ हजार उद्योग लघु उद्यममा केन्द्रित छन् । यसबाट ४० हजार नागरिकले रोजगारी पाएका छन् । उद्योग कलकारखाना नभएपनि यहाँको पर्यटन अलि बढी व्यवस्थित छ ।
गण्डकीमा तारे र मझौला गरी ७ सय होटल स्तरीय खालका छन् । यी होटलमा करिब ७ हजार कोठाहरू छन् भने वार्षिक ६० हजार पर्यटकलाई राख्न सक्ने क्षमताका छन् । ७ हजार हाराहारी साना होटल र रेष्टुरेण्ट गण्डकीमा छन् । गण्डकीमा ४ लाख बाह्य पर्यटक र ६ लाख आन्तरिक गरी १० लाख पर्यटक आउजाउ गर्ने गरेको सालाखाला तथ्याङ्क छ ।
जमिन छ, खेती छैन
गण्डकी प्रदेशमा कुल जमिनमध्ये २२.२ प्रतिशत खेतीयोग्य भूमि छ । ४ लाख ८७ हजार ८ सय २३ हेक्टर जग्गामा खेती हुन्छ । त्यसमध्ये जम्मा ७६ प्रतिशतमा मात्रै खेती गर्ने गरिएको छ भने २४ प्रतिशत खेतीयोग्य जमिन बाँझो छ । केही वर्षअघिको यो तथ्याङ्क अहिले अझै बढेको छ । खेती गरिएको जमिनमध्ये पनि ३६ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको छ । बाँझो जमिनको उपभोगबारे उम्मेदवारहरू अनविज्ञ छन् । न त उनीहरूले यसबारे सोधखोज गरेका छन् ।
सेतो हिरा बेचेर धनी बन्न सक्छ गण्डकी
गण्डकी प्रदेश नेपालमै सबैभन्दा बढी ऊर्जा उत्पादन गर्न सक्ने प्रदेशको सूचीमा छ । यहाँ आधुनिक ऊर्जाको पहुँच ८५ प्रतिशत नागरिकमा पुगिसकेको छ । गण्डकीबाट २० हजार ६ सय ५० मेगावाट बिजुली उत्पादन गर्न सक्ने क्षमता छ ।
आर्थिक रूपले भने १२ हजार ९ सय ३० मेगावाट मात्रै उत्पादन गर्न सकिने देखिन्छ । सम्भावना राम्रो भएपनि आर्थिक अभावका कारण हाल ५ सय मेगावाट बिजुली मात्रै उत्पादन भएको छ । करिब ६ सय मेगावाट क्षमताका २२ भन्दा बढी आयोजना निर्माणको चरणमा छन् । थप बिजुली उत्पादन र त्यसका लागि राजनीतिक पार्टीहरूको नीति खुलेको छैन ।