कास्की-२ : विद्याको विरासत, बरालको बदला
पोखरा । लगातार तीन पटक चुनाव जितेर स्व. रवीन्द्र अधिकारीले ह्याट्रिक गरेको निर्वाचन क्षेत्र हो कास्की-२ । २०७४ को निर्वाचनमा जितेका रवीन्द्रको तत्कालीन पर्यटन मन्त्री रहँदा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भयो । त्यसपछिको उपचुनावमा उनकै धर्मपत्नी विद्या भट्टराई विजयी भइन् ।
उपचुनावपछिको ३ वर्ष सांसद भएर काम गरेपछि पुनः चुनावमा नलड्ने सोच बनाएकी थिइन्, विद्याले । तर पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै विद्यालाई जबरजस्ती टिकट थमाएको एमाले वृत्तमा गाइँगुइँ चलिरहन्छ । विद्याको जीत/हारमा स्व. रवीन्द्रको निरन्तरता जोडिएको छ । यो क्षेत्र एमालेको बलियो मध्येको क्षेत्र मानिन्छ ।
तर बलियो गठबन्धनका बिच विद्यालाई विरासत जोगाउनैपर्ने बाध्यता छ । २०६४ मा कास्की ४ वटा निर्वाचन क्षेत्रमा विभाजित थियो । तत्कालीन समयमा यो क्षेत्र ३ नम्बरमा समेटिएको थियो । रवीन्द्रले २०६४ को चुनावमा समेत करिब ३ हजार मतान्तरले चुनाव जितेका थिए । माओवादीको भर्भराउँदो समयमा बाँकी तीनै क्षेत्र माओवादीले जितेको थियो । तर रवीन्द्र मात्रै अपवाद बने, कास्की ३ मा एमाले विजयी भयो ।
तत्कालीन समयमा रवीन्द्रले १३ हजार ३ सय ६८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी माओवादीका झलकपाणी तिवारीले १० हजार ९ सय २६ मत पाए । २०७० को निर्वाचनमा उनै रवीन्द्रले कांग्रेसका सोभियतबहादुर अधिकारीलाई हराए । रवीन्द्रले २०६४ मा भन्दा मत घटाए । १३ हजार १ सय १० मत सहित उनी विजयी हुँदा निकटतम प्रतिस्पर्धी सोभियतले १० हजार ८ सय ८ मत पाए ।
२०७४ मा बाम गठबन्धन एकातिर भएर कांग्रेससँग चुनाव लडेको थियो । यो चुनावमा कास्कीका ४ क्षेत्र घटेर ३ वटा मात्रै कायम भयो । रवीन्द्रले २७ हजार २ सय ७ मत सहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत पाए । उनीहरुबीच ८ हजार ५ सय ४६ मतान्तर थियो । रवीन्द्रको निधनपछि भएको उपचुनावमा विद्याले रवीन्द्रको भन्दा करिब ३ हजार कम मत ल्याइन् । उनले २४ हजार ३ सय ९४ मत पाउँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका खेमराज पौडेलले १५ हजार ९ सय ९१ मत पाए । उनीहरुबीच ८ हजार ४ सय ३ मतको अन्तर थियो ।
अहिले एमाले विभाजित छ । तत्कालीन एमालेकै नेता एकीकृत समाजवादीबाट यो क्षेत्रमा चुनाव लडेका छन् । त्यसैले विद्याका लागि विरासत जोगाउन सजिलो छैन । एकीकृत समाजवादीका श्रीनाथ बराल लोकतान्त्रिक बाम गठबन्धनबाट साझा उम्मेदवार बनेका छन् भने विद्या एमालेको सिंगल उम्मेदवार हुन् । त्यसो त गठबन्धनका लागि कांग्रेसका प्रभावशाली नेता महादेव गुरुङ बागी उम्मेदवार छन् । त्यसको फाइदा विद्याले पाउन सक्छिन् । त्यतिले मात्रै उनलाई जितको लागि पर्याप्त नहुन सक्छ । दुवै उम्मेदवार चुनाव जित्नेमा ढुक्क छन् ।