कास्कीका उम्मेदवारका एजेण्डा : पोखराबाट लेखनाथ छुट्याउने, स्थानीय तह टुक्र्याउने
पोखरा । राज्य पुनः संरचनाका समयमा कास्कीमा जम्मा ५ वटा स्थानीय तह कायम भए । पोखरा महानगरपालिका देशकै ठूलो महानगर बन्यो ।
तर उक्त पुनः संरचनाबारे कास्कीकै केही पक्षले विरोध गरेका थिए । ठूलो जिल्लामा निकै कम मात्रै स्थानीय तह भएपछि श्रोत साधन कम पाउने उनीहरूको गुनासो थियो । तत्कालीन पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिका सहित गाविसहरू गाभेर पोखरा महानगरपालिका बनाइयो । अहिले लेखनाथ क्षेत्रका नागरिकहरूले पोखरा महानगरबाट विकासको अनुभूति गर्न नपाएको गुनासो गरिरहेका छन् ।
सोही गुनासोलाई सम्बोधन गर्दै कास्कीका केही उम्मेदवारहरुले उक्त एजेण्डालाई चुनावी मसला बनाएका छन् । कास्की २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार श्रीनाथ बरालले कास्कीमा स्थानीय तह थप्ने र पोखराबाट लेखनाथ छुट्याउने प्रतिबद्धता जनाए । ‘कास्कीजस्तो ठूलो जिल्लामा ५ स्थानीय तह मिलेन । त्यसमाथि पोखरामा लेखनाथ ल्याएर गाभ्नु न्यायसंगत होइन,’ उनले भने, ‘कम्तीमा ७ स्थानीय तह हुनुपर्छ । पोखराबाट लेखनाथ हटाउनुपर्छ ।’
लेखनाथ पछि बनेको नगरपालिका हो । राज्य पुन संरचना गर्दा कास्कीमा रुपा, मादी, माछापुच्छ्रे र अन्नपूर्ण गाउँपालिका छन् भने पोखरा महानगरपालिका रहेको छ । उनले आफू निर्वाचित भए कास्कीमा स्थानीय तह विभाजन गर्ने घोषणा गरे । पोखरामा पछि थपिएका वडाको भूगोल ठूलो हुँदा सेवाग्राही समस्यामा परेका र सेवा प्रवाह नै प्रभावित बनेको उनको गुनासो छ ।
राज्यको पुन संरचना जनताको घरदैलोमा सेवा दिन गरिएको उनले स्मरण गराएका छन् । ‘राज्यको पुनसंरचना जनतालाई घरदैलोमै सेवा दिन गरिएको हो’ उनले भने, ‘कास्कीमा स्थानीय तह कम हुँदा सुविधा लिन नै टाढा धाउनुपर्ने बाध्यता छ । यस अगाडिका जनप्रतिनिधिले यस विषयमा जनताको आवाजलाई सुन्ने प्रयास गरेनन् ।’ उनले निर्वाचित हुने बित्तिकै केन्द्रमा यो एजेण्डा लैजाने बताए ।