डेब्युदेखि बिदाइको सङ्घारसम्म दुई स्टारले झेलिरहेको उही प्रश्न
२ दशकदेखि विश्व फुटबलमा एउटै प्रश्न उठिरहयो, ‘मेसी र रोनाल्डोमा को उत्कृष्ट?’ तर यो प्रश्नको जवाफ नआउँदै दुवै स्टारले फुटबल छाड्ने दिन नजिकिँदै गएको छ।
३५ वर्षीय अर्जेन्टिना स्टार लियोनल मेसी र ३७ वर्षीय पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो आ आफ्नो देशको नेतृत्व गर्दै अर्को साता कतार पुग्नेछन्। कतारमा उनीहरू दुवैको चाहना एउटै प्रश्नको जवाफ दिनु हुनेछ। क्लबमा अब्बल दुवै देशका लागि अहिले पनि विश्वकप जित्न नसक्दा आलोचित छन्।
मेस्सीले ७ पटक बालोन डिओर जितेका छन्। क्रिस्टियानो रोनाल्डोले ५ पटक जिते। पछिल्लो दुई दशक उनीहरूकै पेरिफेरिमा घुम्यो विश्व फुटबल। तर घरेलुसमर्थकलाई भने उनीहरूले त्यो उत्कृष्ट हुनुको अनुभूत गराउन सकेका छैनन्। दुवै देश उनीहरूको नेतृत्वमा विश्वकप जित्न चाहन्छन्।
मेसी र रोनाल्डोले समान पाँचौँ विश्वकप खेल्दैछन्। २००६ को विश्वकपपछि हरेक पटक अर्जेन्टिना र पोर्चुगल छनोट भएका छन्। २०१४ को विश्वकपमा फाइनलमा पुगे पनि अर्जेन्टिना विश्वकप उपाधिमा चुक्यो।
२००६ मै सेमिफाइनलमा पुगेको रोनाल्डोको देश त त्यसपछि ओरालो लागेको छ। पोर्चुगल सेमिफाइनलबाट माथि जान सकेको छैन। २००६ पछिका विश्वकपमा पोर्चुगललाई समूह चरण पार गर्नै कठिन छ। मुस्किलले समूह चरण पार गरे पनि अन्तिम १६ बाट अगाडि बढ्न सकेको छैन।
खस्कँदा रोनाल्डो
यो दुवैको अन्तिम अवसर हो देशलाई विश्वकप जिताउने। तर बढ्दो उमेर खसकदाे खेलका कारण झनै कठिन छ। अघिल्लो वर्षसम्म रोनाल्डोको छाप जस्तो कठिन अवस्थामा पनि खेल्न सक्ने भन्ने थियो। नभन्दै जुन क्लबमा गए पनि उनले उत्कृष्ट प्रदर्शन गर्थे। म्यानचेस्टर युनाइटेडमा चम्किएका रोनाल्डोलाई स्पेनिस क्लब रियल मड्रिडले लग्यो। त्यहाँ पुगेपछि झनै तहल्का पिटे।
जति बेला मेसी र रोनाल्डो एउटै लिग खेल्थे। को उत्कृष्ट भन्ने बहसलाई झनै ततायो। तर रोनाल्डो एकाएक रियल छाड्ने निर्णयमा पुगे। रियल छाडेर उनी इटालियन क्लब युभेन्टस गए। त्यहाँ पनि रोनाल्डोको प्रदर्शन उस्तै रह्यो। लिगको सर्वाधिक गोलकर्ता पनि बने।
तर उनलाई च्याम्पियन्स लिग जित्नु थियो। त्यो सपना पुरा नभएपछि पुरानो क्लब म्यानचेस्टर युनाइटेडमा फर्किएका थिए। रोनाल्डो फर्किएकै सिजन युनाइटेड ओरालो लाग्यो, च्याम्पियन्स लिगका लागि समेत छनोट हुन सकेन।
रोनाल्डोलाई जसरी पनि च्याम्पियन्स लिग खेल्नु थियो। त्यही भएर उनले सुरुमा युनाइटेड छाड्ने चाह गरे। उनको चाहनाका बावजुत पनि युनाइटेडले सुरुमा उनलाई जान दिएन, पछि दिए पनि किन्ने क्लबहरू तयार भएनन्।
सुरुमा प्रशिक्षकसँग सम्बिन्ध बिग्रियो। रोनाल्डो पछि प्रशिक्षणमा फर्किए। लिग सुरु हुन अघि नै टिममा फर्किए पनि उनको प्रदर्शन पहिले जस्तो भएन। सुरुका केही खेलमा पहिलो रोजाइमा परेका रोनाल्डोले गोल गर्न नसकेपछि उनलाई बेन्चमा राखियो।
केही दिन पहिले प्रिमियर लिगकै खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान पठाउन खोज्दा मानेनन्। खेल नसकिँदै उनी बाहिरिए। जसका कारण थप आलोचना भयो। लिगमा जब रोनाल्डो खेल्छन् हार्ने र उनी बिनाको टिमले जित्ने हुन थाल्यो।
यसरी क्ल्बमा अहिले आलोचनाको घेरामा रहेका रोनाल्डोको कप्तानीमा पोर्चुगलले विश्वकप खेल्दैछ। जहाँ अनुभवी पेपेदेखि गोल्डेन ब्वाई फेलिक्ससम्म अटाएका छन्। मिडफिल्ड पनि उस्तै स्टारहरूले भरिएको छ। ब्र्नान्डो सिल्भादेखि, ब्रुनो फर्नान्डेज जस्ता स्टारहरू पोर्चुगलको टिममा छन्। पेर्चुगलको टिम सन्तुलित पनि छ। यो टिम रोनाल्डोको नेतृत्वमा इतिहास रच्न चाहन्छ।
अपराजित अर्जेन्टिना, चोटबाट फर्किएका मेसी
कतार विश्वकपमा उत्रिदा मस्सीले कस्तो लय लिन्छन् भन्ने कुराले ठूलो अर्थ राख्छ अर्जेन्टिनाका लागि। अर्जेन्टिना दशकदेखि मेस्सीमा निर्भर टिमका रूपमा परिचित छ। र अहिले मेसी चोटबाट भर्खरै प्रशिक्षणमा फर्किएका छन्। त्यसअघि राम्रो लयमा देखिएका उनले कस्तो प्रदर्शन गर्ने हुन् भन्ने चासो र चिन्ताको विषय छ।
गत वर्ष बार्सिलोना छाडेर पीएसजी पुगेका उनले राम्रो प्रदर्शन गर्न सकेनन्। जति बेला देशका लागि भने राम्रो खेले। तर अहिले उनी पीएसजीमा पनि उस्तै राम्रो प्रदर्शन गरिरहेका छन्।
मेस्सीकै बलमा कोपा अमेरिका जितेको थियो अर्जेन्टिनाले। अर्जेन्टिनाले त्यतिबेला फाइनलमा ब्राजिललाई पराजित गरेको थियो। ब्राजिललाई हराउँदाका हिरो डिमारिया पनि अर्जेन्टिना टिममा छन्। पछिल्ला ३५ खेलमा अर्जेन्टिना हारेको छैन। युरोकप जितेको इटालीलाई पनि पराजित गरेपछि अर्जेन्टिना उच्च मनोबलमा छ।
विश्वकपमा समूह चरणमा नहारे लामो समय अपराजित रहेको किर्तीमान रच्नेछ। तर उसको ध्यान यो कीर्तिमानमा सिमित छैन। विश्वकप जित्नुछ। मेसी युगको स्वर्णिम बिदाइ गर्नुछ।
मेसी आफैले पनि अहिलेको टिमलाई २०१४ को टिमसँग तुलना गरेका छन्। जुन विश्वकपमा अर्जेन्टिना फाइनलमा पुगेको थियो। फाइनलमा जर्मनीसँग १–० ले हार्दा उसको विश्वकप सपना टुटेको थियो। त्यसपछि विश्वकपमा अर्जेन्टिना पनि माथि पुग्न सकेको छैन।
अर्जेन्टिनाले हालसम्म दुई पटक विश्वकप जितेको छ। तर मेसी खेल्न थाल्नुभन्दा पहिले मात्रै । सन् १९७८ मा पहिलो पटक विश्वकप जित्दा उसले नेदरल्याण्डलाई पराजित गरेको थियो। त्यसको ८ वर्षपछि फेरि जर्मनीलाई पराजित गरेर १९८६ को विश्वकप उचाल्यो।
२०१४ माजर्मनीले नै निराश बनाएपछि अर्जेन्टिना माथि पुग्न सकेको छैन। गएको विश्वकपमा अन्तिम १६ बाटै बाहिरियो।
३५ वर्षिय कप्तान मेसीले अहिले नै कुनै निर्णय दिइसकेका छैनन्। तर उनले यसअघि नै यो विश्वकप अन्तिम हुने संकेत गरिसकेका छन्। राष्ट्रिय टोलीबाट पहिल्यै सन्यास लिएपनि राष्ट्रपतिसम्मको अनुरोधपछि उनी फर्किएका थिए।
शन्यासबाट फर्किएर कोपा जिताएका मेसी अब विश्वकप जिताउँदै निर्विवाद महान फुटबलर बन्न चाहन्छन्।
विश्वकप जिताउन सकेको खण्डमा मेसी र रोनाल्डोले देशलाई विश्वकप जिताउन नसकेको आलोचनाको अन्त्ये हुनेछ। विश्वकप बाहेक यी दुई फुटबलरले सबै खालका उपाधि र व्यक्तिगत उपाधि उचालिसकेका छन्।